आहा रारा गोल्डकपको २० औं संस्करणको उपाधि एपिएफले जितेको छ।

पोखरा रंगशालामा शनिबार भएको फाइनलमा मनाङ मर्स्याङ्दी क्लबलाई पेनाल्टीमा ५-४ गोलान्तरले हराउँदै एपिएफ विजेता बनेको हो।

एपिएफ पहिलोपटक आहा रारा गोल्डकपको विजेता बनेको हो।

निर्धारित ९० मिनेटको खेल २-२ गोलमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। थपिएको ३० मिनेटमा गोल हुन नसकेपछि खेल पेनाल्टीमा गएको थियो।

पेनाल्टीमा ओलावाले आफिज गोल गर्न असफल भएपछि मनाङ सातौंपटक प्रतियोगिताको विजेता बन्नबाट चुकेको हो।

खेलमा एपिएफ मनाङमाथि निकै हाबी बनेको थियो। खेलको २० औं मिनेटमा युवराज खड्काको गोलबाट एपिएफले अग्रता लिएको थियो।