नेपाल कम्युनिस्ट पार्टीमा चिनियाँ राष्ट्रपति सी विचारधाराबारे प्रशिक्षण आयोजना गरिएको छ । नेकपा नेताकार्यकर्ताको बीचमा चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभागका प्रमुखलगायतले उपस्थित भएर प्रशिक्षण दिएका छन्

कतिपयले यसलाई नेकपा अब सीपथमा गयो पनि भनेका छन् । बहुदलीय जनवाद र प्रचण्डपथको समाप्तिपछि सीपथ ल्याइएको चर्चासमेत गरिएको छ । नेकपा र चीनको कम्युनिस्ट पार्टीका धेरै समान विचारहरू रहेका छन् । एक, दुवै पार्टीले आफू कम्युनिस्ट पार्टी भएको दाबी गरे पनि दुवै सैद्धान्तिक रूपमा कम्युनिस्ट पार्टी होइनन् । दुई, दुवै पार्टीले सरकार चलाइरहेका छन् ।

तीन, दुवै पार्टीले पुँजीवादी बाटो समातिसकेका छन् । यीलगायत अन्य धेरै समानता छन् । कुनै पनि समान विचारधारा बोक्ने पार्टीहरूले एकआपसमा प्रशिक्षणहरू आयोजना गरिनु राम्रो कुरा हो ।

कांग्रेसहरूले प्रशिक्षणबारे जसरी नकारात्मक टिकाटिप्पणी गर्ने र आपत्ति जनाएका छन्, त्यो उनीहरूमा रहेको वैचारिक दरिद्रता मात्रै हो । प्रशिक्षणलाई हामीले राजनीतिक रूपले नै हेर्नुपर्दछ न कि कांग्रेसको दरिद्र तरिकाले ।

चीनमा अर्बपतिहरूको जमघट

चीनमा विश्वका ठूलठूला सयौं अर्बपतिहरूको जमघट भएको छ । विश्वका ठूला पुँजीपतिहरू त्यहाँ जम्मा भएका छन् र आफ्ना उद्योग र व्यापारलाई चीनबाटै विश्वव्यापी बनाएका छन् । स्वयम् चीनमा पनि सयौंको संख्यामा अर्बपतिहरूको उदय भएको छ ।

चीनले पुँजीवादी बाटो समातेको कारणले नै चीनलाई समान ढंगले विकास गर्नका लागि असम्भव बन्दै गएको छ । विकासको गति पनि असमान र असन्तुलित तरिकाले भइरहेको छ ।

अर्बपतिहरूले चीनका सबै शहरलाई घेरा हालिसकेका छन् । त्यसले शहरमा पनि गरिबको संख्या बढेको छ । व्यापक मात्रामा फाइदा नहुने भएपछि अर्बपतिहरू गाउँमा गएका छैनन् ।

अहिले चीनले अपनाइरहेको मोडलले पुँजीपतिहरूलाई फाइदा दिइरहेको छ । र, चीन विश्वको शक्तिशाली हुने धुनमा पुँजीपतिहरूलाई फाइदा दिनका लागि बाध्य छ, जसले गरिबहरूको विकासमा ध्यान पुर्याउन सकिरहेको छैन । चीनले आफू छिट्टै विश्वको महाशक्तिशाली राष्ट्र हुने योजना मात्रै अगाडि बढाइरहेको छ ।

चीनको विकासले विश्वका अर्बपतिहरूलाई व्यापक मात्रामा फइदा पुर्याएको छ । स्वयम् चीनका अर्बपतिहरूलाई पनि सयौं गुणा फाइदा भएको छ । तर, गाउँ र गरिब जनतालाई चीनको विकासले फाइदा पुर्याउन सकेको छैन ।

यदि चीनको विकासले गरिबलाई फाइदा पुर्याएको भए, त्यहाँ गाउँ र शहरबीच तथा गरिब र धनीहरूबीचको खाडल दिनानुदिन बढ्दै जाने थिएन । त्यो खाडल पुरिँदै जाने थियो । गरिबहरू सम्पन्न हुँदै जाने थिए ।

चीनमा झण्डै डेढ अर्ब जनसंख्या छ । बजारको हिसाबले त्यो धेरै ठूलो जनसंख्या हो । विश्वका अर्बपतिहरूका लागि चीन उद्योग र व्यापारको ठूलो क्षेत्र हो । त्यसबाट उनीहरूले ठूलो मात्रामा फाइदा उठाइरहेका छन् ।

चीनले विश्वका अर्बपतिहरूलाई त्यो व्यवस्था गरिदिएको छ । उत्पादन र वितरणमा देखिएको असमानता चीनको मुख्य समस्या हो । उत्पादनमा मजदुर र गरिबहरूलाई उपयोग गरिनु र वितरणमा गरिबहरूलाई उपेक्षा गरिएपछि त्यसको फाइदा विश्वका अर्बपतिहरूले लिएका छन् । चीनको विकासबाट पुँजीवादले व्यापक फाइदा लिएको छ ।

नेकपाको पुँजीवादी मोडल

संविधानमा समाजवादउन्मुख लेखिए पनि नेकपाले अहिले समातेको बाटो दलाल पुँजीवादको बाटो हो । नेकपाले राष्ट्रिय पुँजीको विकासमा कुनै ध्यान पुर्याउन सकेको छैन ।

वृद्धवृद्धाहरूलाई ३ हजार रुपैयाँ सामाजिक सुरक्षारूपी भत्ता दिएर अरू सबै परिवारलाई दलाल पुँजीवादको चंगुलमा फसाइदिएको छ । हजुरआमा, हजुरबाले त ३ हजार भत्ता पाउनुहुन्छ । तर, बाबुआमा र छोराछोरीको जीवनस्तर सुधार गर्नका लागि रोजगारी छैन । राम्रा सामुदायिक स्कुल छैनन्, सरकारी अस्पताल छैनन् ।

महँगी अचाक्ली बढेको छ । जीवनस्तरमा कत्ति पनि सुधार भएको छैन । सरकारले जनताको जीवनस्तर सुधार गर्नका लागि उत्पादन, रोजगारी, उद्योग, व्यापार आदि क्षेत्रमा उल्लेख्य भूमिका खेल्न सकेको छैन ।

नेकपाले सी विचारधाराबारे प्रशिक्षण चलाएको भए पनि अहिल्यै नेकपा त्यो बाटोमा जान सक्ने आधारहरू देखिएका छैनन् । चीनले बहुराष्ट्रिय कम्पनीहरू भित्र्याए पनि आफ्नो राष्ट्रिय पुँजीको विकासमा तीव्र विकास गरेको छ ।

उसले व्यापारलाई विश्वव्यापी बनाएको छ । राष्ट्रिय र स्थानीय अर्थतन्त्रमा जोड दिएको छ । गत दशकमा विश्वव्यापी रूपमा आर्थिक मन्दी आउँदासमेत चीनलाई कुनै ठूलो असर गर्न सकेन । राष्ट्रिय र स्थानीय अर्थतन्त्रलाई महत्त्व दिएको यो नै प्रमाण हो । त्यसैले चीनले अपनाएको पुँजीवादी आर्थिक मोडल फरक प्रकारको छ भन्ने कुरा पुष्टि हुन्छ ।

ठीक उल्टो नेकपाले राष्ट्रिय अर्थतन्त्रलाई ध्वस्त बनाउँदै लगेको छ । राष्ट्रिय उद्योगधन्दाको विकासमा कुनै मोडल अगाडि सार्न सकेको छैन । दलाल पुँजीलाई प्रोत्साहन गरिरहेको छ । पार्टी नै ठेकदारहरूको चंगुलमा परेको छ । शैक्षिक र मेडिकल माफियाहरूले नेपाल कम्युनिस्ट पार्टी सञ्चालन गरेको जस्तो देखिन्छ ।

दलाल पुँजीले गाउँका गरिबहरूलाई चरम प्रकारले शोषण गरिरहेको छ । नेपालको पैसा व्यापक मात्रामा विदेश गएको छ । यसरी नेकपाको दलाल पुँजीवादी चरित्रले गर्दा देशलाई ठूलो नोक्सान भएको छ ।

नेकपाको शासनमा ठेकदार, माफियाहरू, कर्मचारीतन्त्र, काला बजारियाहरूलाई प्रोत्साहन गरिरहेको छ । नेकपाले चलाएको सरकारमा भ्रष्टाचारले वैधानिकता प्राप्त गरेको छ । नेकपाले अहिले लिइरहेको व्यावहारिक नीति पनि त्यही हो र त्यसैलाई कार्यान्वयन गरिरहेको छ ।

चीनले भ्रष्टाचारप्रति कडा नीति अपनाएको छ । सी जीनपिङ सत्तामा आएपछि त्यहाँ हजारौं भ्रष्टाचारीहरू कारबाहीमा परेका छन् । कम्युनिस्ट पार्टीका ठूलठूला नेताहरूलाई पनि भ्रष्टाचारको आरोपमा बर्खास्त गरिएको छ ।

नातावाद र कृपावादलाई निरुत्साहित गर्न पार्टीको एउटा पंक्तिलाई नै कारबाही गरियो । नेकपामा त्यसको ठीक उल्टो भइरहेको छ । भ्रष्टाचारलाई व्यापक मात्रामा संरक्षण गरिएको छ । सरकारी राजस्व छल्नेहरूलाई कुनै कारबाही हुन सकेको छैन ।

यसकारण चीनमा समाजवाद छैन

चीनमा समाजवादी राज्यव्यवस्था छ भनिए पनि त्यो समाजवादी व्यवस्था होइन । चीनमा सन् १९७६ मा नै समाजवाद पतन भइसकेको छ । चीन मूलतः पुँजीवादी व्यवस्था भएको देश हो । चीनले खुला बजार अर्थनीति अपनाएको छ ।

चीनमा भएको विकासलाई आधार बनाएर चीनमा समाजवाद छ भन्ने गरिएको हो । कुनै पनि देशमा विकास हुनु मात्रै समाजवाद हुनु होइन । त्यसो भन्ने हो भने त अमेरिकामा धेरै विकास भएको छ ।

यूरोपियन देशहरूमा पनि विकास भएको छ । तर, अमेरिका र यूरोपमा समाजवाद छैन । ठीक त्यसैगरी चीनमा विकास भएको छ भन्दैमा त्यहाँ समाजवाद छ भन्ने कुनै आधारहरू छैनन् ।

त्यहाँ समाजवादलाई समाप्त पारिसकिएको छ । चीनले विकास, व्यापार, सैन्य, विज्ञान, प्रविधि आदि धेरै क्षेत्रमा अमेरिकासँग प्रतिस्पर्धा गरिरहेको छ । निश्चय नै उसको मुख्य ध्यान सन् २०३० सम्ममा विश्वको महाशक्तिशाली देश बन्ने नै छ ।

विश्वको शक्तिशाली देश बन्दैमा त्यो देश समाजवादी देश बन्दैन । त्यहाँको शासन व्यवस्था, त्यसले जनताप्रति अपनाउने व्यवहार, जनताको जीवनस्तर र रोजगारी जनतालाई दिने सेवासुविधाजस्ता कुराहरू समाजवादसँग मिल्दाजुल्दा छन् कि छैनन् भनेर हेर्नुपर्ने हुन्छ । अहिले ती सबै कुरा समाजवादसँग मेल खाँदैनन्, पुँजीवादसँग मेल खान्छन् ।

कुनै पनि विकासले कसलाई धेरै फाइदा पुरयाउन सक्छ भन्ने मुख्य पक्ष हो । जब कुनै विकासले आधारभूत मजदुर वर्ग र गरिबहरूलाई समग्र रूपमा फाइदा पु¥याउन सक्छ भने त्यो विकासको मोडल सही हुन सक्छ ।

माओत्सेतुङको निधनपछि देङसियाओ पिङले त्यहाँ पुँजीवादको पुनस्र्थापना गराएका थिए । चीनको विकासको मोडल मूलतः पुँजीवादी मोडेल हो । चीनको पुँजीवाद चीनलाई नै समस्या बन्दै गएको छ ।

कांग्रेसको टाउको दुखाइ किन ?

कांग्रेसका युवादेखि वृद्धनेतासमेतले नेकपाको प्रशिक्षणबारे नकारात्मक टिप्पणी गरिरहेका छन् । कांग्रेसको तल्लो स्तरको र गएगुज्रेको सोचाइ रहेछ भन्ने पुष्टि हुन्छ । कांग्रेसले अहिले जुन संसदीय प्रणालीको वकालत गरिरहेको छ, त्यो कांग्रेसले प्रतिपादन गरेको व्यवस्था होइन ।

त्यो पश्चिमा, मूलतः बेलायती संसदीय प्रणालीको अन्धनक्कल हो । उसले भन्ने गरेको प्रजातन्त्र पनि आफैंले प्रतिपादन गरेको होइन, यूरोपियन र अमेरिकी प्रजातन्त्रको नक्कली रूप हो ।

जब कांग्रेस आफैंले विदेशी मोडलको व्यवस्था र प्रजातन्त्रको नक्कल अपनाइरहेको छ भने उसले नेकपालाई आलोचना गर्नुको कुनै अर्थ छैन । कांग्रेसको प्रजातन्त्र विदेशीहरूको नक्कल मात्रै हो ।

कांग्रेसले बीपीको समाजवादको जुन कुरा गर्छ, त्यो सार्वजनिक खपतका लागि नै गरिरहेको छ । बीपीको समाजवादले अब न नेपाललाई अगाडि लैजान सक्छ, न स्वयम् कांग्रेसहरूलाई वैतरणी तराउन सक्छ ।

दर्शन, सिद्धान्त, वैज्ञानिक आविष्कारजस्ता कुराहरू कुनै एउटै भूगोलमा मात्रै सीमित हुन सक्दैनन् । मानव जीवनलाई उन्नत बनाउन आविष्कार गरिएका कुराहरू विश्वव्यापी रूपमा फैलिन्छन्, फैलाउनुपर्दछ ।

कांग्रेसका नेताहरूले भनेजस्तै गर्ने हो भने त अब नेपालमा विदेशमा बनेका कुनै पनि कुराहरूलाई पूर्णतः प्रतिबन्द लगाउनुपर्ने हुन्छ । नेपालमा गुड्ने सबैजसो कारहरू विदेशमा बनाइएका हुन् भने मोबाइलहरू पनि विदेशमै निर्माण गरिएका हुन् । नेपालले जति पनि विज्ञान र प्रविधि भित्र्याएको छ, ती सबै विदेशी नै हुन् ।

कम्युनिस्ट पार्टीको प्रशिक्षणलाई मात्रै विदेशी देख्ने कांग्रेसका आँखामा रतन्धो लागेको प्रष्टै देख्न सकिन्छ ।
कांग्रेसले अहिले नेकपाको प्रशिक्षणबारे गरिएका टिप्पणीहरू सिद्धान्तहीन प्रकारका छन् । कांग्रेसहरूले गरिएका सिद्धान्तहीन टिप्पणीहरूले उनीहरू राजनीतिक रूपले कति धेरै दरिद्र रहेछन् भन्ने कुरा पुष्टि हुन्छ ।

चुनाव हारेपछि उनीहरूमा राजनीतिक दरिद्रपन पनि बढ्दै गएको देखिन्छ । कांग्रेसको आलोचना नेकपाप्रतिको उसको कुण्ठा, सरकार गुमाउनुपर्दाको पीडाको अभिव्यक्ति मात्रै हो ।

चीनबाट के सिक्ने ?

नेकपाले अहिले जुन प्रशिक्षणको आयोजना गरेको छ, त्यसको धेरै ठूलो महत्त्व छ । वास्तवमा नेपालले चीनबाट धेरै कुरा सिक्न सक्छ । स्वयं नेकपाका नेताकार्यकर्ता र हामीले पनि चीनको कम्युनिस्ट पार्टीबाट धेरै कुरा सिक्न सक्छौं ।

हामीले पुँजीपतिहरूबाट त धेरै सिक्न सक्छौं भने चीनका नेताहरूबाट सिक्नै सक्दैनौं भन्ने होइन । चीनका कम्युनिस्ट पार्टीका नेताहरूबाट धेरै कुरा सक्छौं । कुरा चीनको मात्रै होइन, विश्वका धेरै नेताहरूबाट हामीले आफूलाई चाहिने कुराहरू सिक्न सक्छौं ।

चीनको कम्युनिस्ट पार्टीले आफ्ना समाजवादी सिद्धान्तहरूलाई तिलाञ्जलि दिएको भए पनि त्यहाँको कम्युनिस्ट पार्टी सञ्चालनको विधिलाई परिपक्व बनाएको छ ।

यति लामो समयसम्म त्यहाँको कम्युनिस्ट पार्टीले आफूलाई एकताबद्ध राख्न सकेको छ । संगठनात्मक प्रणालीलाई चुस्त र दुरूस्त बनाउन सकेको छ । नेतृत्व तहमा लगातार युवापुस्ता आइरहेको छ ।

चीनको कम्युनिस्ट पार्टीमा अनुशासनलाई उच्च महत्त्व दिइन्छ भन्ने कुरा उनीहरूमा भएको एकताले पनि पुष्टि गर्दछ । हरेक ५ वर्षमा अनिवार्य रूपमा महाधिवेशन सम्पन्न गर्ने गरेका छन् ।

त्यसले चीनको पार्टीलाई लगातार अगाडि बढाउन मद्दत गरेको छ । नेतृत्वदेखि पार्टी सदस्यसम्मको चेन अफ कमाण्ड र भूमिकालाई परिभाषित र परिपक्वरूपमा अभ्यास गर्नु निकै ठूलो उपलब्धि हो ।

चीनको कम्युनिस्ट पार्टीमा यति लामो समयसम्म फुट नआउनु र अन्तरविरोधहरूलाई सही प्रकारले हल गर्न सक्नु चीनको कम्युनिस्ट पार्टीको ठूलो खुबी र पुँजी हो । विगत वर्षहरूमा २ पटकभन्दा धेरै एउटै व्यक्ति पार्टीप्रमुख र राष्ट्रपति नहुने व्यवस्था गरिएको थियो । त्यसले त्यहाँ नेतृत्व परिवर्तन पनि एउटा पद्धति अपनाएर गरिने गरिएको थियो । त्यो पनि सिक्न लायक पक्ष थियो ।