–मोहनविक्रम सिंह

चीनको कम्युनिस्ट पार्टीको सहभागितामा समेत नेकपा (नेकपा)ले जुन प्रशिक्षणको आयोजना गरेको छ, त्यसले कैयौँ दृष्टिकोणले महत्व राख्दछ । त्यस सिलसिलामा सर्वप्रथम र सुरुमा नै एउटा कुरा प्रष्ट गर्न चाहान्छौँ । ती दुवैको माक्र्सवादी—लेनिनवादी सिद्धान्तहरूबाट विचलन भइसकेको छ र, त्यसकारण, ती दुवै कम्युनिस्ट पार्टीहरू होइनन् । सीको विचारधारा भनेर जुन कुराको उल्लेख गरिएको छ, त्यसले माओको क्रान्तिकारी लाइनको होइन, तर देङ्गको दक्षिणपन्थी लाइनको प्रतिनिधित्व गर्दछ । त्यसैले सामान्य प्रकारले हेर्दा नेकपा र चीनको कम्युनिस्ट पार्टीको बीचमा मूलभूत रूपमा बैचारिक समानता छ– त्यो दुवैको दक्षिणपन्थी संशोधनवादी लाइनको समानता हो । त्यसकारण सैद्धान्तिक दृष्टिकोणले ती दुवै सङ्गठनहरूको वा उनीहरूले आयोजना गरेको प्रशिक्षण कार्यक्रमले क्रान्तिकारी कम्युनिस्ट आन्दोलनका लागि कुनै महत्व राख्दैन । तैपनि त्यो प्रशिक्षण कार्यक्रमले कुनै महत्व राख्दैन भन्ने पनि होइन । त्यसको आफ्नै महत्व छ ।
हामीले यसका लागि नेकपालाई धन्यवाद दिनुपर्छ कि उनीहरूले आफ्ना कार्यकर्ताको प्रशिक्षणका लागि लगातार प्रयत्न गर्ने गर्दछन् । पूर्व एमाले र पूर्व माओवादी केन्द्रको एकीकरण हुनुभन्दा पहिले पनि देशव्यापी रूपमा नै त्यसप्रकारका कार्यक्रमहरूको आयोजना गर्ने गर्दथे । अहिले पनि त्यसप्रकारका कार्यक्रमको आयोजना गरेका छन् । उनीहरूले दक्षिणपन्थी संशोधनवादी दिशा समातेका छन । तर, माक्र्सवादी–लेनिनवादी सिद्धान्त वा समाजवादी अवधारणासित उनीहरूले पूरै सम्बन्ध तोडिसकेका छैनन् । त्यसले गर्दा राजनीतिक वा व्यवहारिक रूपमा दक्षिणपन्थी संशोधनवादी बाटो समातेका भएपनि सैद्धान्तिक रूपमा माक्र्सवाद–लेनिनवादको सैद्धान्तिक पक्षलाई कम से कम वाह्य रूपमा पूरै छाडेका छैनन् । त्यसकारण उनीहरूको प्रशिक्षणले कार्यकर्ताहरूको सैद्धान्तिक स्तरलाई माक्सवादी–लेनिनवादी पक्षमा उठाउनको लागि केही न केही योगदान दिने सम्भावनालाई अस्वीकार गर्न सकिन्न । जे होस् उनीहरूको आफ्ना कार्यकर्तालाई प्रशिक्षित गर्न लगातार प्रयत्न गर्ने नीति सकारात्मक छ ।
नेकपाको प्रशिक्षण कार्यक्रमले राजनीतिक दृष्टिकोणले धेरै महत्व राख्दछ । नेपालमाथिको भारतीय साम्राज्यवादको लगातारको हस्तक्षेप र अतिक्रमणका विरुद्ध सन्तुलन कायम गर्नका लागि चीनसँगको सम्बन्धले मद्दत पुर्‍याउने कुरामा हामीले लगातार जोड दिंदै आएका छाँै । हाम्रो यो स्पष्ट धारणा छ कि चीनको कम्युनिस्ट पार्टीको माक्र्सवादी—लेनिनवादी सिद्धान्त वा समाजवादी उद्देश्यबाट विचलन भइसकेको छ । अव त्यहाँ समाजवादी व्यवस्थाको पतन भएर पुँजीवादको पुनस्र्थापना भइसकेको छ । यो सत्य हो कि आज चीनमा धेरै नै विकास भएको छ र त्यसले अमेरिकासित प्रतिष्पर्धा गर्दैछ । तर, कुनै देशमा उच्चतम् रूपमा विकास हुनुको अर्थ नै समाजवाद हँुदैन । त्यसो हुने भए हामीले अमेरिकामा वा अन्य विकसित पुँजीवादी देशहरूलाई पनि समाजवादी भन्नुपर्ने हुन्थ्यो । आज चीनमा जे—जति विकास भएको छ, त्यसको प्रकृति पुँजीवादी प्रकारको छ र अब त्यसले साम्राज्यवादी रूप लिइसकेको छ । त्यसरी अव चीन र भारत दुवै साम्राज्यवादी देशहरू भएका छन् । तर, ती दुवै साम्राज्यवादी देशहरू भएपनि चीनसितको सम्बन्धले नेपालको लागि सकारात्मक महत्व राख्दछ । त्यो अवस्थामा अहिले चीनका सिद्धान्तविद् र नेताहरू समेतको सहभागितामा हुन थालेको नेकपाको प्रशिक्षण कार्यक्रमले माक्र्सवादी–लेनिनवादी दृष्टिकोणले महत्व नभएपनि त्यसले चीनसितको नेपालको सम्बन्धको विस्तारमा मद्दत पुर्‍याएमा नेपालका लागि त्यो सकरात्मक महत्वको कुरा हुनेछ । नेपालको चीनसितको सम्बन्ध बढाउन केही वातावरण तयार पारे पनि त्यो स्वागतयोग्य कुरा हुनेछ ।
कतिपय पक्षहरूले अहिलेको प्रशिक्षण कार्यक्रममा सी विचारको समेत प्रशिक्षण राख्नु वा कतिपय चाइनिज नेताहरूले समेत प्रशिक्षण दिने व्यवस्था गर्नु नेपालको राष्ट्रियताका विरुद्धको कुरा हो भनेर आलोचना गरेका छन् । त्यस्तो सोचाइलाई हामीले सही मान्दैनाँै । कुनै पनि प्रशिक्षण कार्यक्रममा कैयाँै विदेशी सिद्धान्त, दर्शन वा विचारहरूको अध्ययन गर्ने वा प्रशिक्षण दिने काम गरिन्छ । माक्र्सवादी–लेनिनवादी सिद्धान्त नै हाम्रो स्वदेशी सिद्धान्त नभएर विदेशी सिद्धान्त हो । माक्र्स, एङ्गेल्स र लेनिन समेत विदेशी थिए । तर, त्यो कारणले माक्र्सवादी–लेनिनवादी सिद्धान्तको महत्व कम हुन्न । संसदीय प्रणाली नै नेपालमा विकसित भएको प्रणाली होइन र त्यो विदेशी हो । तर, त्यो कारणले त्यसको महत्व कम हँुदैन । त्यसकारण नेकपाको प्रशिक्षणमा सी को विचारधारा समेतको प्रशिक्षण दिने वा चिनियाँ नेताहरू समेतले त्यसमा प्रशिक्षण दिने कार्यक्रम बनेको हुनाले त्यही कारणले त्यसलाई गलत ठहर्‍याउनु सही हुन्न । निश्चय नै त्यसको अर्थ सी विचारलाई समर्थन गर्नु र त्यसलाई महत्व दिनु होइन र हुन्न ।
हामीले आफ्नो पार्टी स्कूलमा पनि कैयौँ विरोधीहरूका सिद्धान्तहरूबारे पनि प्रशिक्षण दिने गर्दछौँ । त्यस क्रममा कैयौँ देशी वा विदेशी विचारहरूको अनुशरण गर्नुपर्ने आवश्यकतामा जोड दिन्छौँ र तिनीहरूको प्रशिक्षण दिन्छौँ । यदि विदेशी विचारको प्रशिक्षणलाई गलत ठहर्‍याउने नै हो भने हामीले नेपालसित सम्बन्धित विषय बाहेक कुनै विदेशी सिद्धान्त, विचारधारा वा दर्शनबारे प्रशिक्षण दिनु भएन । चीनको कम्युनिस्ट पार्टीको माक्सवादी—लेनिनवादी सिद्धान्तहरूबाट विचलन भएको कुरा सत्य हो । त्यसकारण अव त्यो कम्युनिस्ट पार्टी रहेन । तर, त्यसको सङ्गठन प्रणाली वा अनुशासन पद्धतिबाट हामीले धेरै सिक्न सक्दछौँ र सिक्नुपर्दछ । भारतमा राष्ट्रिय स्वयसेवक सङ्घ (आरएसएस) को सङ्गठनात्मक प्रणाली अनुशासित छ । त्यसप्रकारको सङ्गठनमा आवद्ध भएर नै भारतका कैयाँै नेताहरू पैदा भएका छन्, जस्तै कि अटलविहारी बाजपेयी, आडवानी, मोदी आदि । वास्तवमा भारतमा भाजपाको विजयका पछाडि पनि आरएसएस वा त्यसले तयार पारेका कार्यकर्ताहरूको ठुलो योगदान रहेको छ । त्यही प्रकारले चीनको पार्टी वा त्यसको नेतृत्वको सरकारले विकासको क्षेत्रमा जुन ठुला उपलब्धिहरू प्राप्त गरिरहेको छ, त्यसका पछाडि त्यहाँको कम्युनिस्ट पार्टीको व्यवस्थित सङ्गठन प्रणाली र अनुशासनको पद्धतिले पनि काम गरेको कुराको सजिलैसित अनुमान गर्न सकिन्छ । त्यसको तुलनामा अहिले नेकपाको सङ्गठन र अनुशासनको प्रणाली कति खुकुलो छ ? आम रूपमा थाहा भएको कुरा हो । त्यो अवस्थामा नेकपाले चीनको पार्टीको सङ्गठनात्मक प्रणालीबाट पनि सिक्ने प्रयत्न गर्‍यो भने त्यो उनीहरूको लागि धेरै राम्रो हुन सक्नेछ ।
कुनै समाज वा सङ्गठन जति उन्नत हुँदै जान्छ, त्यसको आन्तरिक सङ्गठन वा अनुशासन पनि त्यति नै उन्नत हुँदै जान्छ । सामन्तवाद र पुँजीवाद बीचको अन्तरमाथि नै विचार गरौँ । सामन्तवादी व्यवस्थाको तुलनामा पुँजीवादी प्रणाली धेरै नै सङ्गठित र अनुशासित हुन्छ । त्यसप्रकारको अनुशासनविना पुँजीवादी उत्पादन प्रणाली सम्भव हुँदैन । कुनै व्यापार वा उद्योगमा जति बढी कुनै व्यवस्था वा अनुशासन हुन्छ, त्यसका त्यति नै बढी परिणामहरू हुन्छन् । त्यही कुरा कुनै राजनीतिक पार्टीबारे पनि सत्य हो । कुनै राजनीतिक पार्टी जति बढी सङ्गठित र अनुशासित हुन्छ, त्यसले त्यति नै बढी सफलता प्राप्त गर्न सक्दछ । त्यसैले चीनमा भइरहेको तीव्र गतिको विकासका पछाडि पनि त्यहाँको कम्युनिस्ट पार्टीको महत्वपूर्ण भूमिका भएको वा त्यसभित्र व्यवस्थित सङ्गठनात्मक प्रणाली वा अनुशासन रहेको कुरालाई बुझ्न सकिन्छ । कुनै पार्टी वा कुनै राज्य, समाज, पार्टी वा सङ्घ—संस्थामा अनुशासनको कडी टुट्यो भने त्यो भताभुङ्ग हुँदै जान्छ । त्यो अवस्थामा नेकपाले चीनको पार्टीको सङ्गठनात्मक प्रणाली वा अनुशासनको पद्धतिबाट जुन सिक्ने प्रयत्न गरेको छ, त्यो प्रशंसनीय छ । तर, त्यसबाट उनीहरूले आफ्नो सङ्गठनभित्रको अस्तव्यस्तता वा अव्यस्ततालाई कतिसम्म सुधार्न सक्ने छन् ? त्यो आउने दिनमा नै थाहा हुने छ । बताइरहनु पर्ने आवश्यकता छैन कि चीनको कम्युनिस्ट पार्टीभित्रको सङ्गठनात्मक प्रणाली र अनुशासनलाई हामीले पनि अध्ययन गर्नुपर्ने र त्यसबाट शिक्षा लिनुपर्ने आवश्यकता छ ।
चीनको पार्टीबाट सिक्ने कुरा गर्दा कतिपय व्यक्तिहरूलाई नराम्रो पनि लाग्न सक्दछ । एउटा दक्षिणपंथी संशोधनवादी पार्टीबाट सिक्ने ? तर माक्र्सवादी–लेनिनवादी सिद्धान्तले त्यसरी सिक्नेबारे कट्टरपन्थी दृष्टिकोणलाई अपनाउँदैनन् । माक्र्सले हेगेलबाट – जो अध्यात्मवादी, प्रतिक्रियावादी वा राजतन्त्रवादी दार्शनिक थिए—बाट द्वन्द्ववादको सिद्धान्त ग्रहण गरेका थिए । लेनिनले पुँजीपतिहरूबाट विजनसको कुशलता र इसाइहरूबाट आफ्नो कर्तव्यप्रति पूरै समर्पित भएर काम गर्ने स्पीट सिक्नुपर्ने कुरामा जोड दिएका छन् । लेनिनले पार्टी सङ्गठनको सिलसिलामा पार्टीको अनुशासन मिलिटरीको जस्तो हुनुपर्ने कुरामा जोड दिएको छ । त्यसरी उनले पार्टीको अनुशासनलाई मिलिटरिएट अनुशासन पनि बताएका थिए । त्यही सन्दर्भमा हामीले चीनको कम्युनिस्ट पार्टी वा आरएसएसको सङ्गठनात्मक प्रणालीबाट सिक्नुपर्ने कुरामा जोड दिन्छौँ भने त्यो सोचाइलाई गलत भन्न मिल्दैन ।
कतिपय पक्षहरूले नेकपाको प्रशिक्षणमा चिनीयाँ नेताहरूको उपस्थिति र उनीहरूद्वारा प्रशिक्षण दिने कार्यको विरोध गरिरहेका छन् । त्यसका पछाडि वास्तवमा राजनीतिक रूपले चीनसितको सम्बन्ध विस्तारप्रतिको पूर्वाग्रहले नै बढी काम गरेको छ । भारतीय साम्राज्यवादले नेपालको चीनसितको सम्बन्ध विस्तारको कडा विरोध गर्दछ र नेपाल सरकारमाथि सँधै त्यसका लागि दवाव दिंदै आएको छ । नेपालका भारतपरस्त तत्वहरूले पनि चीनसितको सम्बन्ध विस्तारको सँधै विरोध गर्दै आएका छन् । कतिपय राजनीतिक पार्टीले अहिले नेकपाको प्रशिक्षणमा चीनको पार्टीको सहभागितालाई विरोध गरिरहेका छन्, त्यसको पछाडि पनि त्यसप्रकारको भारतपरस्त दृष्टिकोणले काम गरेको कुरा बुझ्न गाह्रो पर्दैन । त्यसको विपरित, हाम्रो के सोचाइ छ भने अहिलेको प्रशिक्षणको कार्यक्रमले पनि नेपालको चीनसितको सम्बन्धको विस्तारलाई केही मद्दत पुर्‍याउँछ भने र त्यसले भारतीय साम्राज्यवादको नेपालमाथिको हस्तक्षेप वा अतिक्रमणको विरुद्ध सन्तुलन कायम गर्न केही मद्दत पुर्‍यायो भने पनि त्यो स्वागतयोग्य कुरा हुनेछ ।
मिति ः २०७६ असोज ७ गते