काठमाडौँ

लामखुट्टेको टोकाइबाट सर्ने डेंगु राेग अहिले देशभरमा संक्रमण रुपमा बढ्दो छ । पछिल्लो प्राप्त जानकारी अनुसार देशभरका ६१ जिल्लामा डेंगु फैलिसकेको छ । यही अवस्था कायम रहने हो भने डेंगु देशभर फैलिएर भयावहको स्थिती पनि आउन सक्छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको नयाँ तथ्याङ्क अनुसार साउन १ गतेदेखि भदौ २४ गतेसम्ममात्रै ५ हजार ९५ जना डेंगु संक्रमणका नयाँ बिरामी थपिएका छन् ।

प्राप्त जानकारी अनुसार साउन १ देखि भदौ २४ गतेसम्मे सबैभन्दा धेरै डेंगुका बिरामी प्रदेश नं. ३ मा पाइएको छ जहाँ ३ हजार १ सय २६ जनामा डेङ्गुको संक्रमण देखिएको हो । यस्तै सबै भन्दा पहिला डेङ्गुको संक्रमण फैलिएको प्रदेश नं. १ मा भने साउनदेखि अहिलेसम्म ८ सय ३१ जना नयाँ बिरामी थपिएका छन् ।

त्यसै गरी अन्य प्रदेशहरुमा प्रदेश नं. २ मा ३९, गण्डकी प्रदेशमा ९७२, प्रदेश नं. ५ मा ९७ ,कर्णाली प्रदेशमा ३ र सदूरपश्चिम प्रदेशमा २९ जनामा डेङ्गुको संक्रमण फैलिएको छ । देशभरमा हालसम्म डेंगुका कारण ६ जनाको मृत्यू भईसकेको छ । मृत्यू हुनेको संख्या पनि प्रदेश नं. ३ मा सबै भन्दा धेरै छ । यस प्रदेशमा ४ जना र अन्य प्रदेशमा २ जना गरी अहिले सम्म ६ जनाको निधन भएको छ । वैशाख देखि अहिले सम्म देशभरमा ८ हजार भन्दा धेरै मानिसमा डेंगुको संक्रमण फैलिसकेको महाशाखाले जनाएको छ ।

डेंगुको प्रकोप बढ्दै जाँदा उपचारमा संलग्न चिकित्सकदेखि वहालवाला मन्त्रीसम्मलाई डेंगुको संक्रमण फैलिएको छ सरकार तथा सम्बन्धीत निकाय स्वास्थ्य मन्त्रालय जिम्मेवार बन्न नसकेको भान आम जनतामा पर्न थालेको छ ।

देशभर नै संक्रमण फैलिएको डेंगुको उपचार राज्यले उच्च प्राथमिकताका साथ निशुल्क गर्नुपर्नेमा सरकारको सक्रियता उल्लेख देखिएको पाइदैन । डेंगुको उपचारमा निजी क्षेत्रका अस्पतालले भने मनपरी शुल्क असुल्ने गरेका छन् । सामान्यतया ३ सय ५० रुपैयाँमात्रै पर्ने डेंगु जाँच किटको निजी अस्पतालहरुले २ हजार ६ सय रुपैयाँसम्म लिने गरेको पाइएको छ । चिकित्सकका अनुसार डेंगुका लक्षण

उच्च ज्वरो आउनु

टाउको दुख्नु,

पेट दुख्नु

वाकवाकी लाग्नु

आँखाको गेडी दुख्नु

जीउ, जोर्नी दुख्नु

उच्च ज्वरो आएको ३, ४ दिन पछि रातोरातो बिमिरा आउनु ।