जनार्जन खत्री,
सर्लाही, साउन ११ गते । दुई सातादेखि अवरुद्ध रहेको पूर्व–पश्चिम हुलाकी सडक सूचारु नहुँदा सर्लाहीको दक्षिणी भेगका बासिन्दाको दैनिकी कष्टकर बनेको छ ।


असार अन्तिममा परेको भीषण वर्षापछि आएको बाढीले दर्जनौं ठाउँमा सडक कटान गरेका कारण यातायात सञ्चालन हुन सकेको छैन् । हुलाकी सडक अवरुद्ध हुँदा जिल्लाको दक्षिण–पश्चिम र दक्षिण–पूर्वी भेगका एक दर्जन स्थानीय तहको सदरमुकाम मलङ्गवासँग सडक सञ्जाल नै विच्छेद् भएको छ ।
दक्षिणी भेगका नागरिकको प्रमुख मार्ग हुलाकी सडकमा अहिले मुस्किलले मोटरसाइकल मात्रै सञ्चालन भइरहेका छन् । भाडाका गाडी सञ्चालन नहुँदा महत्वपूर्ण काम भएका सर्वसाधारण सदरमुकाम आउन पाएका छैनन् । बिरामी पर्दा झन् बढी समस्या भइरहेको गोडैता नगरपालिका–३, सीमरा भगवतीपुरका छोटन पासवानले बताउनुभयो ।
सदरमुकामसम्म गाडी सञ्चालन नभएकाले दक्षिण–पश्चिम भेगका कतिपय नागरिक किनमेल र औषधोपचारका लागि सीमापारी भारतीय बजारतर्फ जान थालेका पासवानले जानकारी दिनुभयो । नगइ नहुने महत्वपूर्ण काम भएकाहरू मात्रै जसोतसो मोटरसाइकलमा मलङ्गवा गइरहनु भएको छ, नत्र किनमेल र औषधोपचारका लागि सीमापारी गइरहेका छौँ, पासवानले भन्नुभयो ।
डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुर, रौतहटका अनुसार भारी वर्षापछि आएको बाढीले पूर्व–पश्चिम हुलाकी सडकअन्तर्गत सर्लाही खण्डमा कौडेना, फूलपरासी, गोडैता, ब्रह्मपुरी र शीतलपुरमो धेरै क्षति पु¥याएको छ । यी स्थानमा सडक मर्मतका लागि ठूलो रकम खर्चनु पर्ने अवस्था रहेको प्राविधिकहरुले बताएका छन् ।
बाढी लगत्तै मोटरसाइकल समेत चल्न नसक्ने अवस्थामा पुगेको हुलाकी सडकको केही स्थानमा भने स्थानीय तहको पहलमा अस्थायी बाँसको पुल निर्माण गरी मोटरसाइकल चलाउन मिल्ने बनाइएको छ । कौडेना गाउँपालिकाले हुलाकी सडकको दुई स्थानमा अस्थायी पुल निर्माण गरेर मोटरसाइकल वारपार गर्ने व्यवस्था मिलाएको गाउँपालिकाका अध्यक्ष रामप्रसाद राय यादवले बताउनुभयो ।
यादवले हुलाकी सडक नाजुक अवस्थामा रहँदा समेत मर्मतमा तदारुक्ता नदेखाइएको गुनासो गर्नुभयो । यत्रो दिन सडक ठप्प हुँदा पनि राज्यले चासो दिएको छैन्, गाउँपालिकाको तर्फबाट मर्मत गर्न पनि हाम्रो मातहत पर्दैन्, यादवले प्रश्न गर्दै भन्नुभयो, नागरिकले यस्तो सास्ती पाउँदा समेत राज्य किन बेखबर जस्तै छ ?
सदरमुकामसम्म आवातजावत गर्ने छोटो दुरीको हुलाकी सडक अवरुद्ध भएपछि नागरिक घण्टौं समय खर्चेर पूर्व–पश्चिम राजमार्ग निस्किएर मलङ्गवा पुगिरहेका छन् । हुलाकी सडक बाढीले भताभुङ्ग पारेपछि दक्षिण–पूर्वी भेगका नागरिक बाँके चोक निस्किएर पूर्व–पश्चिम राजमार्ग हुँदै नवलपुरबाट सदरमुकाम मलङ्गवा गइरहेका हरिपूर्वा नगरपालिकाका प्रमुख शियाराम रायले जानकारी दिनुभयो ।
दुई सातादेखि अवरुद्ध रहेको सडक सूचारु गर्न हालसम्म मर्मतको काम अघि बढ्न सकेको छैन् । लामो समयसम्म सडक अवरुद्ध हुँदा पनि सूचारु गर्न चासो नदिएको भन्दै नागरिकले दुःख व्यक्त गरिरहेका नगरप्रमुख रायले बताउनुभयो ।
गाउँबाट सोझै हुलाकी सडक हुँदै मलङ्गवा पुग्ने कुनै पनि बस चलेका छैनन्, सडक पनि चार पाङ्गे्र सवारी चल्नै नसक्ने गरी बिग्रिएको छ, नगरप्रमुख रायले भन्नुभयो, तत्काल आपतविपत परी हाले सदरमुकाम पुग्न घण्टौं धाएर पूर्व–पश्चिम राजमार्ग निस्किएर जानुपर्ने बाध्यता छ ।
डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुर रौतहटका प्रमुख दारोगा प्रसादले साउन लागेपछि गिट्टी बालुवा निकाल्न नपाउने नियम, अन्य बाधाअड्चन र प्रदेश तथा सङ्घीय सरकारको असहयोगका कारण अवरुद्ध रहेको सडक सूचारु गर्न नसकिएको बताउनुभयो । सडक सूचारु गर्न आवश्यक सहयोग गर्न प्रदेश र सङ्घीय सरकार समक्ष पटक–पटक मौखिक तथा लिखित जानकारी गराउँदा समेत कुनै प्रतिक्रिया नआएको डिभिजन सडक प्रमुख प्रसादले गुनासो गर्नुभयो ।
उहाँले भर्खर सडक विभागबाट के–कति क्षति भएको छ ? भन्ने सम्वन्धमा विवरण माग भएकाले आफू आइतवार सडकको अवस्थाबारे रिपोर्टिङ गर्न विभागमै जाने तयारीमा रहेको बताउनुभयो । सडकको अवस्थाबारे म आफै पनि जिल्ला विपत् व्यवस्थापन समितिको बैठकमा गएर जानकारी गराएको छु, अवस्था निकै नाजुक छ, कार्यालय प्रमुख प्रसादले भन्नुभयो, हाम्रो तर्फबाट मात्रै मर्मतको काम गर्न सक्ने अवस्था छैन्, नयाँ आर्थिक वर्ष भर्खरै सुरु भएकाले बजेट पनि छैन् ।  गोरखापत्र अनलाइनबाट