– संघीय समाजवादी फोरम नेपाल र नयाँशक्ति पार्टीबीच एकीकरणका लागि सहमति भएको भएको छ । एकीकरण पछि पार्टीको नयाँ नाम ‘समाजवादी पार्टी नेपाल’ रहने गरि दुवै दलले समझदारी गरेका छन् । नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई र फोरमका अध्यक्ष उपेन्द्र यादव दुवै अध्यक्ष रहने गरि सहमति भएको नयाँशक्तिका प्रचार विभाग प्रमुख विश्वदिप पाण्डेले जानकारी दिनुभयो । संघीय संसदमा फोरमको १६ सिट छ भने नयाँ शक्तिको एउटामात्रै सिट छ ।

फोरमबाट पार्टी अध्यक्ष यादव उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री सहित सरकारमा समेत हुनुहुन्छ । पार्टी एकीकरणको औपचारिक घोषणा भने आगामी सोमबार काठमाडौस्थित प्रज्ञा प्रतिष्ठानमा हुनेछ । एकीकरणपछि संघीय परिषद्को अध्यक्षता डा. भट्टराई र केन्द्रीय समितिको अध्यक्षता यादवले गर्ने सहमति भएको पाण्डेले जानकारी दिनुभयो । एकीकृत पार्टीको पदाधिकारीमा फोरमबाट १६ र नयाँ शक्तिबाट ९ जना रहने गरि सहमति भएको छ । यसैबीच आजै दुवै पार्टीको केन्द्रिय समिति बैठक बसी पार्टी विघटन गर्ने तयारी भएको पाण्डेले बताउनुभयो । पार्टी एर्ककरण पछि सरकारमा सहभागिताको विषयमा छुट्टै निर्णय गरिने फोरमका एक नेताले बताए । सरकारलाई केही माग सहित अल्टिमेटम दिने र ठोस निर्णयमा पुगिने फोरम निकट एक नेताले बताए ।