कृष्ण सेन “इच्छुक”

(स्वर्गीय कवि कृष्ण सेन “इच्छुक” प्रगतिशील तथा जनवादी आन्दोलनका शहिद मित्रमणि आचार्यका सहयात्री हुनुहुन्थ्यो। प्रस्तुत कविता मित्रमणि आचार्यको सम्झनामा कवि इच्छुकले लेख्नुभएको शोकाञ्जली खन्डकाव्यबाट लिइएको हो। शोकाञ्जली २०४२ साल वैशाख १८ का दिनमा चितवनको मेघौलीमा नेपाली काङ्ग्रेसको भातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घका गुन्डाहरूद्वारा हत्या गरिएका आफ्ना सहयोद्धा मित्र विद्यार्थी नेता मित्रमणि आचार्यको सम्झनामा लेखिएको खण्डकाव्य हो , २०७६।०१।१८ आचार्यको ३४ अाैं स्मृति दिवस भएकोले उक्त समयलार्इ मध्यनजर गरी हामीले यो रचना पाठकहरूका लागि पेश गरेका छाै  

स्पात जस्तै तिम्रो दरिलो हातलाई मुठ्ठीमा कसेर
अब म गरम जोशमा साथ
फेरि तिम्रो अभिवादन गर्न सक्ने छैन
भेट हुँदाको प्रिय घडीमा गहिरो आत्मीयताले डोरिएर
पहिले जस्तै फेरि तिमीलाई
अब म बलियो अंगालोमा कस्न सक्ने छैन
तिमीलाई भेट्ने मनको रहर रहर नै रहनेछ
तिमीलाई देख्ने तलतल
तलतल नै रहने छ
तिम्रा स्निग्ध आँखामा आँखाहरु जोडेर
अब म फेरि कहिल्यै
तिम्रो साहचर्यको न्यानो पाउन सक्ने छैन।

०००

कोठामा हुन्छु कोठा सुनो–सुनो झैं लाग्छ
आँगनमा हुन्छु आँगन सुनो–सुनो झैं लाग्छ
दिनमा हुन्छु दिन सुनो–सुनो झैं लाग्छ
रातमा हुन्छु रात सुनो–सुनो झैं लाग्छ
केवल तिमी नै छैनौं यही अनुभूतिले पिरोल्छ
केबल तिमी छैनौं यही स्मृतिले चिथोर्छ
तिम्रो साथमा केहीपल खुशीमा व्यत्तित गरेर अब म फेरि कहिल्यै
तिम्रो स्पर्शको रमाइलो पाउन सक्ने छैन।

०००

यो कस्तो खबर बोकेर ल्याइस ए बादल।
विश्वासै लाग्दैन र घामसित सोधँू
के सोधँू? क्षितिज रोइरहेको छ
यो कस्तो तीतो सन्देश सुनाएर गइस् र हावा।
मनै मान्दैन र जूनसित सोधूँ
के सोधूँ? तारा रोइरहेको छ
त किन मौन र चुुपचापछस् ए पहाड।
पत्यारै पर्दैन र बिहानसित सोधुँ
के सोधूँ? शीत रोइरहेको छ
उजेलोमा हेर्छु रात रोइरहेको छ
अँध्यारोमा हेर्छु रात रोइरहेको छ
फूल रोइरहेको छ/कली रोइरहेको छ
कोसित मैले के सोधूँ र खोई? यस घडी
जता हेर्छु सारा प्रकृति रोइरहेको छ।

०००

बिर्सु भने पनि
कसरी बिर्सु यो गम यो उदासी
तिमीलाई नै बिर्सनु झैं हुनेछ
भुलुँ भने पनि
कसरी भुलुँ यो बह यो रुवाबासी।
तिमीलाई नै भुल्नु झैं हुनेछ
जीवनको लामो यात्रामा जो बिते थुप्रै संगीहरु
तिनीसँगै तिम्रो याद पनि
अझैं चर्को भएर मुटुमा अमिट रहनेछ
हर सुखद घडीमा पनि तिम्रै झल्को लाग्नेछ
ओ, मेरो प्रियसखा।
तिम्रो निश्चल मुस्कानसँगै मुस्कानहरु साटेर
अब म फेरि कहिल्यै
तिम्रो हृदयको चोखो आत्मीयता पाउन सक्नेछैन।

०००

मेरो कविताका प्रिय पाठक तिमी
अब ती कविताहरु पढिदिने तिमी नै हुने छैनौं
मेरो गीतका प्रथम गायक तिमी
अब ती गीतहरु गाइदिने तिमी नै हुने छैनौं
मेरो जीवनको अमिट प्रेरणा तिमी अब म भित्र उत्साहहरु भरिदिने तिमी नै हुने छैनौं
तिमी हिंड्ने प्यूठानका यी बाटाहरु
चेर्नेटाका यी उकाली ओरालीहरु
तिमीलाई नै पर्खिरहनेछन्
तिमी घुम्ने तिग्रा र सिक्रेका लेकहरु
या बेसी र यी हरियालीहरु
तिमीलाई नै संझरहने छन्
तिमी डुल्ने मजुवा वन अनि रम्दी र धुवाड्डका पाखाहरु
यी पार्थुड्डा र गँदारीका फाँट अनि
दोक्रे, तिग्रो र ढाँड खोलाहरु तिमीलाई नै खोजिरहनेछन्
हरमेला,पर्व र उत्सवमा पनि यिनलाई
तिम्र्रै कमी रहिरहने छ
हरपल अब उदास–उदास गुज्रनेछ
पहिले जस्तै यी सबैसंग
हाँसी–हाँसी मितेरी गाँस्ने तिमी नै हुने छैनौं।

तिमीले माया गर्ने गाउँका झुप्राहरुमा गएर अब मैले भन्नु पर्नेछ,
हामीलाई उज्यालो जीवनका साहसिला कथाहरु सुनाउने
हाम्रा ती प्यारा साथी छैनन्,
तिमीले माया गर्ने शहरका कारखानाहरुमा गएर
अब मैले भन्नु पर्नेछ,
हामीलाई मुक्ति–संग्रामका जुक्तिहरु सिकाउने
हाम्रा ती प्यारा संगाती छैनन्
हामीलाई चिन्ने सडकका पेटी र फूटपाथहरुमा गएर
अब मैले भन्नु पर्नेछ,
हामीसंगै मुठ्ठीहरु कसेर इन्क्लावका नाराहरु घन्काउने
हाम्रा ती जोशिला मित्र छैनन्
मर्मान्तक पीडामा शोकमग्न उभिएर
अश्रुपूर्ण गह्रौं नयनहरु चिम्लदै
अघोर बेदनामा डुबेर शब्दहरु टिपेर
अब तिमीलाई श्रद्धाञ्जली दिंदै भन्नुपर्नेछ,
बिहानी घामको रातो झुल्काले जस्तै चेतनाका दिव्य किरणहरु छरेर
हाम्रा बन्द आँखा उघार्ने
जनमुक्ति पथका ती लालयोद्धा छैनन् ।