‘नेपाल सरकारले विदेशी लागानी भित्राउनका लागी गरेको ‘लगानी सम्मेलन २०७५’ मा विभिन्न १५ वटा परियोजनामा समझदारी भएको छ।

शुक्रबार र शनिबार राजधानीमा भएको लगानी सम्मेलनमा सरकारका तर्फबाट प्रस्तुत भएका ७७ वटा परियोजनामध्येबाट १५ वटा परियोजनाका लागि मात्रै एमओयुमा हस्ताक्षर भएको हो ।

पूर्वप्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्थमन्त्री डा. युवराज खतिवडाको उपस्थितिमा विभिन्न १५ आयोजनामा विदेशी लगानीकर्तासँग सम्झौता भएको हो ।

 

 

चौधरी समूहको स्वामित्व रहेको सिजी टेलिकमले नेपालमा फाइभजी सेवा सञ्चालनका लागि टर्किस टेलिकम टर्कसेलसँग सैद्धान्तिक सम्झौता गरेको छ । त्यसैगरी ६ सय मेगावाटको सौर्य बिजुली उत्पादन गर्न चौधरी ग्रुप र क्यानडाको एक कम्पनीसँग सम्झौता गरेको छ भने नेपालमा फोटोभोल्टिक बिजुली उत्पादन गर्न नेपालको व्यवसायिक घराना चौधरी ग्रुपले क्यानडाको स्काई पावरसँग सम्झौता गरेको छ ।

भारतीय कम्पनी एसजेभिएन (सतलज) ले निर्माण गरिरहेको बहुचर्चीत ९ सय मेगावाटको अरुण तेस्रोमा स्टेट बैंक अफ इन्डिया, एभरेष्ट बैंक र नबिल बैंकले संयुक्त रूपमा लगानी गर्ने भएका छन् ।

चीनको युनान सिन्ह्वा वाटर कम्पनी १ सय ६४ मेगावाटको कालीगण्डकी गर्ज जलविद्युत आयोजनामा लगानी गर्न सहमत भएको छ । माथिल्लो त्रिशुली १ हाईड्रोपावर आयोजनाका लागि कोरियाली कम्पनीले लगानी गर्ने भएको छ ।

प्रदेश नम्वर २ तर्फ सिमारामा विशेष आर्थिक क्षेत्र बनाउनका लागि लगानी बोर्ड र इन्टरनेशसन फाईनान्स कर्पोरेशनबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपालको पूर्वाधार विकासमा १० अर्ब लगानी गर्ने भएको छ।

एनआरएन इन्फ्रास्ट्रक्चर इन्भेष्मेन्ट कोष स्थापनाका लागि एनआरएनएका अध्यक्ष भवन भट्टले लगानीको समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

बनेपामा बुटिक भिलेज रिसोर्ट निर्माण हुने भएको छ। व्यवसायी ज्ञानेन्द्रलाल प्रधानले उक्त रिसोर्ट निर्माणका लागि वैदेशिक लगानी जुटाएका छन्। उनले लगानीका लागि सिनीरे कन्सल्टसँग समझदारी गरेका छन्।

विश्व बैंक समूह अन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम(आइएफसी)ले सिमरामा निर्माणधिन विशेष आर्थिक क्षेत्र निर्माण तथा सञ्चालनमा सहयोग गर्ने भएको छ।

अबको तीन वर्षभित्र नेपालमा १ खर्ब बढी लगानी गर्ने घोषणा गरेको उक्त संस्थाले सिमराको सेज(गार्मेन्ट प्रोसेसिङ जोन )निर्माण गर्न सहयोग गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ।

अपी पावर लिमिटेडले नेपालमा हावा, पानी र घामबाट बिजुली निकाल्न बेलायती कम्पनीसँग समझदारी गरेको छ।

अपी पावरले युके फर दि डेपलभमेन्ट अफ इनर्जी प्रोजेक्ट र कँडेल ग्रुप अफ कम्पनीसँग समझदारी गरेको हो। यसका साथै अन्य परियोजनामा पनि साझदारी भएको छ।

सो सम्मेलनमा  विदेशी लगानीकर्ताका साथै स्वदेशी उद्योगी/व्यवसायी उत्साहित भएका छन्।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले पहिलो पटक आयोजना गरेको सम्मेलनमा सहभागी विभिन्न मुलुकका विभिन्न क्षेत्रका लगानीकर्ताबीच अनुभव आदानबाट नेपालमा ठूला पूर्वाधार विकास र लगानीको सम्भावनाको ढोका खुल्ने देखिएको छ।

सरकारले विदेशी लगानीको संरक्षण र मुनाफा सुरक्षित गराउन उद्घाटन सत्रमा प्रतिवद्धता व्यक्त गरेको थियो । सम्मेलनमा ४० मुलुकका ७३५ भन्दा बढी विदेशी र ६०० स्वदेशी सहभागी थिए ।