अमेरिकी अनुदान सम्झौता मिलेनीअम च्यालेन्ज कर्पोरेशन एमसीसीका कारण सत्ता गठबन्धन नभत्किने सत्तारूढ दलका नेताहरूले दाबी गरेका छन्।

नेपाल र अमेरिकाबीच भएको झन्डै ६० अर्ब रुपैयाँ बराबरको अनुदान सम्झौताबारे अध्ययन गर्न तीनसदस्यीय समिति बनाएको एक दिनपछि नेताहरूको त्यस्तो धारणा आएको हो।

संसद्‌बाट एमसीसी अनुमोदन गर्ने विषयबारे सत्ता गठबन्धनभित्र मतभेद छ र नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका कैयौँ नेताहरूले परिमार्जन गरेर मात्रै उक्त सम्झौता अनुमोदन गरिनुपर्ने धारणा राखिरहेका छन्।

यसअघि नै अमेरिकी सरकारले एमसीसी कम्प्याक्टको संशोधन तत्काल सम्भव नभएको बताइसकेको छ।

के भने प्रचण्डले? गत वर्ष पुस ५ मा तात्कालिक प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको एक वर्ष पुगेको सन्दर्भमा सोमवार आयोजित एउटा कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेकपा एमालेका अध्यक्ष ओलीलाई आरोप लगाउँदै उनले एमसीसीलाई रणनीतिका रूपमा प्रयोग गरिरहेको दाबी समेत गरे।सत्ता गठबन्धनको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसले एमसीसी यथाशीघ्र अनुमोदन गर्न घच्घच्याइरहेको बेला प्रचण्डको यस्तो भनाइ आएको हो।

प्रचण्डले एमसीसी सहितका विषयलाई समातेर प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले “सत्तारूढ गठबन्धन भत्काउन खोजेको” आरोप लगाउँदै त्यसप्रति आफूहरू सतर्क भएको टिप्पणी गरेका छन्।