सङ्घीय संसद् अन्तर्गतकाे संसदीय सुनुवाइ समितिले भारत, बेलायत र अमेरिकाका लागि प्रस्तावित नेपाली राजदूतको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ ।

समितिको आज साेमवारको बैठकमा भारतका लागि प्रस्तावित डा. शङ्कर शर्मा, बेलायतका लागि प्रस्तावित ज्ञानचन्द्र आचार्य र अमेरिकाका लागि प्रस्तावित श्रीधर खत्रीबाट आ–आफ्नो अनुभव, योग्यता, सोच र अवधारणासम्बन्धी जानकारी लिएपछि उहाँहरूकाे नाम सर्वसम्मतिले अनुमोदन गरेको हो । 

समितिका सभापति लक्ष्मणलाल कर्णले प्रस्तावित तीनै जना राजदूतको नाम समितिबाट सर्वसम्मत रूपमा अनुमोदन भएको जानकारी दिनुभयो । 

बेलायतका लागि प्रस्तावित राजदूत ज्ञानचन्द्र आचार्यले बेलायतका प्रधानमन्त्रीलाई नेपाल भ्रमण गराउन पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । 

त्यसैगरी भारतका लागि प्रस्तावित राजदूत डा. शंकर शर्माले नेपाल र भारतका बीचमा विश्वासको सम्बन्ध बनाउनुपर्ने बताउनुभयो ।