सोभियत सत्ता के हो ?

190

 लेनिनका संकलित रचनाहरु, भाग ३८ को पृष्ठ २३८–२३९ मा संग्रहित प्रस्तुत रचनालाई हामीले सन् १९७७ मा प्रगति प्रकाशन, मस्कोबाट प्रकाशित ‘सोभियत सत्ता के हो ?’ नामक लेनिनका लेख तथा भाषणहरु संग्रहित रचनाबाट लिएका हौं l स‌‌‍.

क. लेनिन

Great October Revolution and VI Lenin

संसारमा पहिलो पल्ट हामीकहाँ रुसमा राज्य सत्ता यस किसिमले संगठित गरिएको छ, जहाँ मात्र मजदुरहरु, मात्र श्रमजीवी किसानहरु यस्ता आम संस्थाहरु अर्थात सोभियतहरुमा समावेश गरिएका हुन्छन् जसबाट शोषकहरु बञ्चित राखिन्छन् र यिनै सोभियतहरुलाई सारा राज्य सत्ता हस्तान्तरित गरिन्छ । यसै कारणले गर्दा सबै देशहरुमा पुँजीजीवीवर्गका प्रतिनिधिहरुले रुसमाथि जस्तोसुकै लाञ्छना लगाए तापनि संसारमा जताततै “सोभियत” भन्ने शव्द बुझिने मात्र नभई लोकप्रिय पनि भएको छ । मजदुरहरुको निमित्त, तमाम श्रमजीवीहरुको निमित्त यो शव्द ज्यादै नै प्यारो बनेको छ । यसर्थ नै विभिन्न मुलुकहरुमा साम्यवादका पक्ष–समर्थकहरुको जस्तै खेदो खनिए तापनि सोभियत सत्ता अनिवार्य र अवश्यंभावी हुन गएको छ र निकट भविष्यमा नै सम्पूर्ण संसारभरि सोभियत सत्ताको विजय हुनेछ ।

सोभियत सत्ताको संगठनमा हामीकहाँ अझै धेरै त्रुटीहरु मौजुद छन् भन्ने कुरा हामीले राम्ररी बुझेका छौं । सोभियत सत्ता चमत्कार देखाउने छडी होइन । त्यसले तुरुन्त नै अतितका त्रुटिहरुबाट, निरक्षरताबाट, असभ्यताबाट, बर्बर युद्धका अवशेषहरुबाट, लुटेरा पुँजीवादको उत्तरदेनबाट मुक्ति दिलाउन सक्दैन । परन्तु त्यसले समाजवादतर्फ संक्रमणको सम्भावना दिन्छ । त्यसले जो पददलित थिए तिनलाई उठ्ने सम्भावना दिन्छ र उनीहरुलाई राज्यको सञ्चालन, अर्थतन्त्रको सञ्चालन, उत्पादनको सञ्चालन सम्बन्धी सम्पूर्ण काम बढीभन्दा बढी मात्रामा स्वयम् आफ्नो हातमा लिने संभावना दिन्छ । सोभियत सत्ता भनेको समाजवादतर्फ लाग्ने बाटो हो, जुन श्रमिक समुदायहरुले पहिल्याएका छन् । यसैले गर्दा यो सही छ, अनि यसले गर्दा यो अजेय पनि छ ।