प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई कोरोना संक्रमण भएको छ। छातिमा समस्या भएपछि परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो। जबरा बलम्बुस्थित सशस्त्र प्रहरी बलको  अस्पतालमा सोमबार साँझ भर्ना भएका  थिए। उनको स्वास्थ्य अवस्था सामान्य रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन्।  

यसैबीच सर्वोच्च अदालतमा बुधबारदेखि गोला प्रक्रियाद्धारा पेसी तोकिन लागेको छ।  सो सम्बन्धी सूचना राजपत्रमा प्रकाशित भएको छ। कानुन व्यवसायीको छाता संगठन नेपाल बार एसोसिएसनले गोला प्रथा प्रणालीलाई मुलुकभरका अदालतमा लागू गर्न माग गर्ने भएको छ। 

प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै आन्दोलनरत नेपाल बार एसोसिएसनले विरोध कार्यक्रमलाई जारी राख्ने भएको छ। बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले कालो पट्टिसहितको धर्ना कार्यक्रमलाई निरन्तरता दिने बताए। बारले एक महिना अघिदेखि सर्वोच्च अदालत परिसरमा विरोध एवं धर्ना कार्यक्रम  गर्दै आएको छ। अध्यक्ष श्रेष्ठका अनुसार प्रधानन्यायाधीश जबराको बर्हिगमनको सम्बन्धमा कानूनी पृष्ठभूमि भएका राजनीतिक दल सम्बद्ध  नेतासँग अन्तरक्रिया गर्ने योजना छ।