प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का प्रवक्ता प्रदीप ज्ञवालीले प्रधानमन्त्री शेरबहादुर देउवाले बाहृय लगानीमा सञ्चालित टेलिभिजन च्यानल ‘आस्था नेपाल’ र ‘पतञ्जली नेपाल’ उद्घाटन गरेर कानुन विपरीत काम गरेको टिप्पणी गरेका छन् ।

पूर्वपरराष्ट्रमन्त्री समेत रहेका नेता ज्ञवालीले नेपालको कानुनले निषेध गरेका ती टेलिभिजन च्यानल उद्घाटन गर्नुको कारण के हो भनेर प्रधानमन्त्री देउवालाई प्रश्नसमेत सोधेका छन् ।

आइतबार प्रेस चौतारी नेपाल, उपत्यका प्रदेश कमिटीले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् । गत मंसिर ३ गते योगगुरु रामदेवको स्वामित्वमा रहेको पतञ्जली कम्पनीले काठमाडौंमा सञ्चालनमा ल्याएको ‘आस्था नेपाल’ र ‘पतञ्जली नेपाल’ नाममा दुई टेलिभिजन च्यानलको प्रधानमन्त्री देउवाले उद्घाटन गरेका थिए ।तर प्रधानमन्त्री देउवाले उद्घाटन गरेका ती दुई च्यानल कानुनसम्मत नभएको प्रवक्ता ज्ञवालीको दाबी छ । उनले सो च्यानल नेपालको कानुन विपरीत राष्ट्रिय हितभन्दा फरक ढंगले सञ्चालनमा आएको उनको प्रतिक्रिया छ।

‘नेपालले बाहृय लगानीका लागि केही क्षेत्रलाई निषेध गरेको छ । यो अहिले कुनै व्यक्ति विशेषलाई, संस्था विशेषलाई लक्षित गरेर होइन । खासगरी सञ्चार क्षेत्रमा टेलिभिजनदेखि लिएर अरु विभिन्न क्षेत्र सञ्चार माध्यामहरूमा बाह्य लगानीलाई पूर्ण रुपले निषेध गरिएको छ । अब कुन ढंगले प्रधानमन्त्रीले त्यो टिभी च्यानल उद्घाटन गर्नुभयो । त्यो हामीले बुझेका छैनौं । दोस्रो नेपालमा लगानीका निम्ति निश्चित माध्याम छन् । त्यसका लागि उद्योग विभाग अन्तर्गत वान स्टप सर्भिस छन् । त्यसका निम्ति इन्भेष्टमेन्ट बोर्ड छ । बाहृय लगानीलाई के–के सुविधा दिने/नदिने भन्ने कुरा चाहिँ हाम्रा निश्चित नियमहरू छन्,’ नेता ज्ञवालीले भने ।

नेपालमा विदेशी लगानी आउनु राम्रो कुरा भए पनि त्यो कानुनसम्मत हुन जरुरी रहेको उनको भनाइ थियो । उनले भनेका छन्, ‘नेपालमा विदेशी लगानी आउने कुरा राम्रो हो । तर लगानी कानुनसम्मत हुनुपर्छ । विधिसम्मत हुनुपर्छ, पारदर्शी हुनुपर्छ ।’ तर कानुन विपरीत नेपालको राष्ट्रिय हितभन्दा फरक ढंगले लगानी आउने कुरा निषेध गरिएको नेता ज्ञवालीले बताए ।