प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले वार्ताका लागि आन्दोलनरत नेपाल बार एसोसिएसनलाई पत्र पठाएका छन्।

राणाको राजीनामा माग्दै कात्तिक १४ गतेदेखि चरणबद्ध आन्दोलन गरिरको बारलाई वार्तामार्फत समस्याको समाधान गर्न आग्रह गर्दै राणाले औपचारिक पत्र पठाएका हुन्।

प्रधानन्यायाधीश राणाले पठाएको पत्रबारे शुक्रबार बारको बैठकमा अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी गराएको उपाध्यक्ष रक्षा बस्यालले जानकारी दिइन्।

पत्रमा राणाले वार्तामार्फत समस्या समाधान गरेर अघि बढ्न आग्रह गरेका छन्। पत्रबारे के जावफ दिने र आन्दोलनलाई कसरी अघि बढाउने भन्ने विषयमा बारले छलफल गरिरहेको छ।

राणाको राजीनामा माग्दै आन्दोलनमा उत्रेका न्यायाधीशहरु गोलाप्रथाबाट पेशी तोक्न तयार भएपछि काममा फर्किने तयारीमा छन्। यसले बारको आन्दोलन धर्मराउने शंका गर्न थालिएको छ।