सरकारले राष्ट्रिय युवा परिषद्को कार्यकारी उपाध्यक्षबाट माधवप्रसाद ढुंगेललाई हटाएको छ। परिषद् स्थापनाकालदेखि कार्यकारी उपाध्यक्ष रहेका ढुंगेललाई मन्त्रिपरिषद्को कार्तिक १ गते बसेको मन्त्रिपरिषद् बैठकले हटाउने निर्णय गरेको थियो। 

करिब पाँच वर्ष परिषद्को उपाध्यक्षमा रहेका ढुंगेल शेरबहादुर देउवाको सरकार परिवर्तन भएसँगै सोमबारबाट औपचारिक बिदाई भएका छन्। बिदाई कार्यक्रमलाई सम्बोधन गर्दै उनले युवाको क्षेत्रमा हालसम्म गरेका उपलब्धिबारे जानकारी गराए। उनले नमुना युवा संसद र सहुलियपूर्ण कर्जा आफ्नो कार्यकालको लोकप्रिय कार्यक्रम भएको दाबी गरे। 

ढुंगेलले युवा नेतृत्व विकासको क्षेत्रमा नमुना युवा संसदले दुरगामी प्रभाव राख्ने दाबी गरे। निवर्तमान कार्यकारी उपाध्यक्ष ढुंगेलले ‘एक शिक्षण संस्था एक उद्यम कार्यक्रम’को थालनी गरेकाले देशव्यापी रुपमा कार्यक्रम लागू भएपछि विद्यार्थीले प्रत्यक्ष रुपमा विद्यालयमा सञ्चालन भएको उद्यममा सहभागी हुने बताए। उनले विद्यार्थीलाई विद्यालय तहदेखि नै रोजगारतर्फ आकर्षित गराउनका लागि अभियान आवश्यक रहेको स्पष्ट पारे।