भारतीय कम्युनिष्ट पार्टी (सीपीआई)का चर्चित युवा नेता कन्हैया कुमार र गुजरातका दलित नेता जिग्नेश मेवानी भारतीय राष्ट्रिय कांग्रेसमा प्रवेश गरेका छन्। उनीहरु मंगलबार कांग्रेस प्रवेश गरेका हुन्।

कांग्रेस प्रवेशपछि कन्हैयाले भने, ‘केही बोल्न जरुरी छ भन्ने मलाई लाग्दैन। सूचना प्रविधिको युगमा सबैलाई धरै कुरा पहिले नै थाहा हुन्छ। यदी कांग्रेस बचेन भने देश पनि बच्दैन भन्ने लागेर म कांग्रेस  प्रवेश गरेँ। कांग्रेस केवल एक पार्टी होइन, एक विचार हो। यो देशको सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी हो।’

अहिले भारत सन् १९४७ भन्दा पहिलेको अवस्थामा पुगिसकेको उनले बताए।

उनले भने, ‘आज देश १९४७ भन्दा पहिलेको अवस्थामा पुगिसकेको छ भन्ने मलाई लाग्छ। बस्तीमा जब आगो लाग्छ, तब बेडरुमलाई चिता बनाउनु हुँदैन। आज यस देशमा सत्तालाई प्रश्न गर्ने परम्परा बचाउन जरुरी छ।’

अहिलेको अवस्थामा विपक्षी दल (कांग्रेस) कमजोर बन्दै गइरहेको र सत्ता निरङ्कुश बन्दै गइरहेको उनको भनाइ थियो।

देशमा वैचारिक संघर्ष चलिरहेका बेला केवल कांग्रेसले मात्रै सही दिशा दिन सक्ने कन्हैया कुमारको दावी छ।