चैत्र ३

प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव नेकपाको गतिविधिलाई प्रतिबन्ध मात्रै नभइ नियन्त्रण गरि छाड्ने धम्की दिएका छन् । विराटनगर विमानस्थलमा आज पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओली विप्लव नेकपाप्रति आक्रोशित भएका थिए ।

“विप्लव समूह मान्यताप्राप्त संस्था होइन । कुनै कार्यालयमा दर्ता नभएको अनधिकृत समूह हो । अहिले प्रतिबन्ध लगाएको के मा हो भन्दा कहिँ दर्ता भएको थियो र ? नेकपा विप्लव समूह भनेर चिनिने झुन्ड छ । कहिले के समूह कहिले के भनेजस्तै समूह हो । अहिले विप्लव समूह भनेर चिनिने समूह छ । धम्क्याएर लुटपाट गरेर, उद्यमी र व्यवसायीलाई धम्क्याएर उत्पात मच्चाएको छ । बम पड्काएको छ । मान्छे मारेको छ । अनि यस्तालाई प्रतिबन्ध लगाउँदा आफूलाई लोकतान्त्रिक पार्टी र नेताहरु भन्नेको रुवाबासी किन ?”

प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव नेकपालाई सरकारले ठट्टा नगरेको भन्दै नियन्त्रणमा लिने चेतावनी पनि दिए

“विप्लव समूहलाई भन्न चाहन्छु सरकार ठट्टा गरिरहेको छैन । विध्वंसात्मक काम गर्न पाइँदैन । कसैले रुवाबासी गर्छ भने गरिरहोस् । सरकारले निषेध मात्रै होइन नियन्त्रण गर्छ । नेपालमा शान्ति चाहियो कि चाहिएन ? अस्ति वार्ता समिति बनाएका थियौं, खोइ त्यो समूहले वार्ता गरेको ? सधैं वार्ता भनिरहने ?”

उनले विप्लव नेकपाका माग अहिलेसम्म कसैले पनि बुझ्न नसकेको बताए । “विप्लव समूहका माग के हुन् ? सभ्य समाजले सुन्न सक्ने कुनै माग छन् ? खुद्रा पत्रकारितासँग मेरो लेनदेन हुँदैन ।”