राष्ट्रिय जनमोर्चाले शेर बहादुर देउवा नेतृत्वको सरकार भारतका अगाडि दब्बु बनेको आरोप लगाएको छ । शुक्रबार अध्यक्ष केसीले जारी गर्नुभएको वक्तव्यमा भारतीय हस्तक्षेपविरुद्ध बोल्न नसकेर सरकारले दब्बु नीति अपनाएको बताउनुभएको हो ।

यही भदौ ३१ गते बसेको राजमो केन्द्रीय समितिको बैठकपछि जारी वक्तव्यमा सरकारको दब्बु नीतिको विरोध गर्दै देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डताको रक्षाको लागि संघर्षमा जोड दिइएको छ ।

‘महाकाली नदीमा तुइन काटेर भारतीय पक्षबाट जयसिंह धामीको हत्या गरिनु, दार्चुलास्थित नेपाली आकाशमा नेपालको स्वीकृति बिना हेलिकप्टर उडाउने जस्ता भारतका हस्तक्षेपकारी कदमका विरुद्ध वर्तमान सरकारबाट कुनै तत्परता नदेखाउने कार्यको हामीले विरोध गर्दछौँ’ अध्यक्ष केसीले भन्नुभएको छ, ‘कालापानीबाट भारतीय सेना फिर्ता गराउने तथा कालापानी क्षेत्रस्थित गाउँहरुमा राष्ट्रिय जनगणना गराउने सवालमा सरकारले भारतका अगाडि दब्बु नीति अपनाएको छ ।’

यस्तै, जनजीविकाको समस्या हल गर्ने सवालमा सरकारले कुनै प्रभावकारी कदम चाल्न नसकेको राजमोको आरोप छ । महङ्गी र कालो बजारी अत्यन्त बढेर गएको भन्दै त्यसले सर्वसाधारण जनतालाई निकै ठूलो मार परेको राजमोको निष्कर्ष छ ।

देशमा भ्रष्टाचार बढेको छ र भ्रष्टाचारलाई नियन्त्रण गर्नका लागि सरकारले कुनै प्रभावकारी कदम चाल्न सकेको नसकेको पनि राजमोको आरोप छ ।

राष्ट्रिय जनमोर्चाले गणतन्त्र, राष्ट्रियताको रक्षा, संघीयताको खारेजी, देशमा बढ्दो महङ्गी तथा भ्रष्टाचारका विरुद्ध विभिन्न प्रकारका संघर्षका कार्यक्रमहरु सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।