सङ्खुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोलागाउँमा एकै परिवारका ६ जनाको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ ।

पक्राउ परेका व्यक्तिबारे थप अनुसन्धानपछि मात्रै सार्वजनिक गर्ने प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान गर्न तालिम प्राप्त दुई वटा कुकुर ‘पिकु’ र ‘लैला’सहित प्रहरी उपरिक्षक (एसपी) भीम दाहाल नेतृत्वको टोली मादी पुगेको थियो ।

लगत्तै दाहाल नेतृत्वकाे टोली फर्किएपछि सीआईबीका डीएसपी रुगमबहादुर कुँवर नेतृत्वको टोली अनुसन्धानमा खटिएको थियो । कुँवर नेतृत्वको टोलीले घटनामा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको हो ।

आइतवार राति ८५ वर्षका बौदमान कार्कीको परिवारका ६ जनाको सामूहिक हत्या भएको थियो । बौदमानको श्रीमती ८४ वर्षकी पार्वती कार्की, छोरा ५२ वर्षका तेजबहादुर कार्की, बुहारी ५२ वर्षकी कमला कार्की, नातिनी बुहारी ३२ वर्षकी रञ्जना कार्की, पनाति ११ वर्षका दिपेन कार्की र पनातिनी सात वर्षकी गोमा कार्कीको ज्यान गएको छ ।