-नारबेर्टो पेरेडेस

अफगानिस्तानमा त्यस्तो के छ जसका कारण यस पूरै विश्वमा त्यो देश ‘साम्राज्यहरूको चिहान’को रूपमा चर्चित भयो ? वास्तवमै किन संरा अमेरिकादेखि लिएर बेलायत, सोभियत सङ्घलगायत विश्वका ठूला शक्तिहरू यस देशलाई जित्ने कोसिसमा असफल रहे ? यो एक यस्तो प्रश्न हो जसको जवाफ अफगानिस्तानको इतिहास र भूगोलले मात्र दिनसक्छ ।
उन्नाइसौँ शताब्दीमा पूरै विश्वमा सबैभन्दा शक्तिशाली रहेको बेलायती साम्राज्यवादले आफ्नो पूरै शक्ति लगाएर त्यस देशलाई जित्ने कोसिस गरेको थियो । तर, अन्तमा आएर १९१९ मा अफगानिस्तान छोडेरै जानुपरेको र त्यसलाई स्वतन्त्रता दिनुपरेको थियो ।
त्यसपछि अफगानिस्तानको आन्तरिक मामिलामा हस्तक्षेप गर्दै सोभियत सङ्घले १९७९ मा त्यहाँ आफ्नो सेना उतारेको थियो । त्यसको उद्देश्य १९७८ मा सत्ता विप्लव गरी स्थापना गरिएको कम्युनिस्ट सरकारलाई युद्धसरदारहरूको विद्रोह र मुजाहिद्दीन आक्रमणबाट बचाउनु थियो । तर उसलाई अफगानिस्तानमा युद्ध जित्न सकिंदैन भनी बुझ्नमा दस वर्ष लाग्यो ।
सन् २००१ मा अमेरिकी नेतृत्वमा नाटो सेनाले अफगानिस्तानमा हमला ग¥यो र त्यसपछि कयौँ वर्षसम्म चलेको युद्धमा लाखौँ मानिसको ज्यान गयो । त्यस हमलाको २० वर्षपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो देशको सेना अफगानिस्तानबाट फिर्ता लाने निर्णय लिए । यो एक विवादास्पद फैसला बनेको छ, एकातिर त्यस फैसलाको स्वागत भयो भने अर्कोतिर पश्चिमा देशमा र कतिपयले त्यसलाई गैरजिम्मेवार निर्णय भनेर कडा आलोचना पनि भइरहेको छ । त्यही एक निर्णयको कारण अफगानिस्तानको राजधानी काबुललगायतका भागमा तालिवानको नियन्त्रण सहजै कायम हुन गयो ।
बाइडेनले आफ्नो निर्णयको बचाउ गर्दै भने, “अमेरिकी नागरिकहरूलाई एक यस्तो लडाईँमा मर्न दिनु हुँदैन, जुन युद्ध अफगानीहरू स्वयम् लड्न चाहिरहेका छैनन् ।” साम्राज्यहरूको चिहान भन्ने अफगानिस्तानको ख्यातीलाई याद गरेर हो कि कि बाइडेनले अगाडि भने, “चाहे जतिसुकै शक्ति लगाए पनि एक स्थिर, एकजुट र सुरक्षित अफगानिस्तान हासिल गर्न सम्भव छैन ।”
बितेको र यस शताब्दीमा अफगानिस्तानलाई नियन्त्रण गर्नका लागि कोसिस गर्ने संसारका सबैभन्दा शक्तिशाली सेनाहरूलाई अफगानिस्तान एक चिहान नै साबित भएका छन् । सुरूवातमा हमलाकारी सेनालाई थोरै सफलता निश्चित रूपमा मिले पनि अन्तमा उनीहरूले अफगानिस्तान छोडेर भाग्नै परेको छ । अफगानिस्तानको इतिहासमाथि ‘अफगानिस्तान ः साम्राज्यहरूको चिहान’ शीर्षक किताब लेखेका रक्षा तथा वैदेशिक नीतिका विश्लेषक लेखक डेविड इस्बी भन्छन्, “यस्तो होइन कि अफगानीहरू निकै शक्तिशाली छन्, बल्कि अफगानिस्तानमा जे जस्तो भए त्यो आक्रमणकारी शक्तिहरूको गल्तीका कारण भएका हुन् ।”

किन हारे ठूला शक्तिहरू ?
लेखक इस्बी मान्छन् कि निष्पक्षतापूवृक हेर्ने हो भने अफगानिस्तान एक कठिन स्थान हो । यो एक जटिल देश हो जहाँ आधारभूत ढाँचा निकै खराब छ, विकास निकै सीमित छ र चारैतिरबाट जमिनले घेरिएको भूपरिवेष्ठित देश हो ।
इस्बी अगाडि भन्छन्, “बेलायत, सोभियत सङ्घ या अमेरिका कुनै पनि साम्राज्यले अफगानिस्तानलाई लिएर लचिलोपन देखाएनन् । उनीहरू आफ्नै हिसाबले चल्न चाहन्थे र उनीहरूले त्यस्तै चल्नु पनि प¥यो । उनीहरूले अफगानिस्तानको जटिलता बुझ्नै सकेनन् । परिणामपछि प्रायः भनिएको पाउँछौं कि ‘अफगानिस्तानलाई जित्नु असम्भव छ ।’ यो गलत बयान हो ः इतिहासमा इरानीहरूले, मङ्गोलहरूले र सिकन्दरले अफगानिस्तानलाई जितेका थिए ।”
तर, यो पनि सत्य हो कि अफगानिस्तानमाथि कब्जा गर्ने दुस्साहसको मूल्य ती सबैले चुकाउनु परेको थियो । यसभन्दा अगाडि काबुल वा अफगानिस्तानमाथि हमला गरेका पछिल्ला तनि ठूला साम्राज्यवादी शक्तिहरू भने नराम्ररी असफल भएका छन् ।

बेलायती साम्राज्य र तीन आक्रमण
उन्नाइसौँ शताब्दीमा धेरैजसो समय अफगानिस्तानको मामिला बेलायती र रूसी साम्राज्यको बीचमा मध्य एसियामाथि नियन्त्रण गर्ने रस्साकस्सीको मुख्य मैदान बनेको थियो । कैयौँ दशकसम्म रूस र बेलायतको बीचमा राजनीतिक र रणनीतिक सङ्घर्ष चालु रह्यो र त्यसमा अन्तमा बेलायतको जीत भयो । तर, बेलायतले पनि त्यसको भारी मूल्य चुकाउनु परेको थियो ।
बेलायतले १८३९ देखि १९१९ को बीचमा तीनपटक काबुलमाथि हमला गरेर कब्जा गरेको थियो । किनभने बेलायतलाई लागिरहेको थियो कि यदि उसले त्यो कदम चालेन भने उसले भन्दा अगाडि नै रूसले अफगानिस्तानमाथि कब्जा गर्नेछ । आफ्नो त्यही सोच र चिन्ताको कारण बेलायतले त्यहाँ ऐतिहासिक हारको सामना पनि गर्नुप¥यो । केही अफगान जनजातिहरूले अत्यन्त सामान्य हतियारको भरमा तत्कालीन विश्वको सबैभन्दा शक्तिशाली देश बेलायतको सेनालाई बर्बाद गरिदियो ।
तीन वर्ष लामो प्रतिरोध युद्धपछि अफगानीहरूले अन्तमा बेलायती आक्रमणकारी सेनालाई भागनका लागि बाध्य बनाइदिएको थियो । १८४२ जनवरी ६ का दिन बेलायती क्याम्पबाट जलालाबादका लागि निक्लेका १६ हजार सैनिकहरूमध्ये मात्र एक जना जिउँदै फर्केको थियो ।
लेखक इस्बी भन्छन्, “त्यस युद्धको परिणामले मध्य एसिया उपमहाद्विपमा बेलायती साम्राज्यको विस्तारलाई कमजोर बनाइदिएको थियो र बेलायत अजेय छ भन्ने जबरजस्त स्थापित गरिएको धारणालाई असत्य साबित गरिदिएको थियो । त्यसको चालिस वर्षपछि बेलायतले फेरि एकपटक अफगानिस्तान कब्जा गर्ने कोसिस ग¥यो र त्यसपटक भने उसलाई केही लामो अवधि सफलता मिल्यो । ”
सन् १८७८ देखि १८८० सम्मको दोस्रो अङ्ग्रेज – अफगान युद्धको परिणामले अफगानिस्तान बेलायत संरक्षित राज्य बन्न पुग्यो । तर, बेलायतले काबुलमा आफ्नो एक आवासीय मन्त्री राख्ने नीतिलाई त्याग्नु परेको थियो । त्यसको ठाउँमा बेलायती साम्राज्यले एक नयाँ अफगानी अमीर (राजा) चुनेर त्यहाँबाट आफ्नो सेना फिर्ता लानु परेको थियो । तर, जब १९१९ मा नयाँ अमीरले आफैलाई र अफगानिस्तानलाई बेलायतबाट स्वतन्त्र घोषित गरिदिए तब तेस्रो अङ्ग्रेज– अफगान युद्ध सुरू भयो ।
त्यो युद्ध त्यस समयमा भइरहेको थियो, एकातिर रूसमा बोल्शेभिक समाजवादी क्रान्तिले रूसी आक्रमणको खतरालाई कम गरिदिएको थियो र प्रथम विश्व युद्धले बेलायती सैनिक खर्चलाई निकै नै बढाइदिएको थियो । त्यस्तोमा बेलायती साम्राज्यवादी शासकहरूमा अफगानिस्तानप्रतिको रूचि कम हुँदै गयो । त्यही कारणले चार महिनासम्म चलेको युद्धपछि अन्तमा बेलायतले अफगानिस्तानलाई स्वतन्त्र घोषित गरिदियो । त्यस सम्झौतापछि बेलायती सेना प्रत्यक्ष रूपमा त्यहाँ नरहे पनि त्यसको कैयौं वर्षसम्म बेलायतले त्यहाँ आफ्नो प्रभाव कायम गरेको मान्ने गरिन्छ ।

सोभियत सङ्घको प्रवेश
सन् १९२० को दशकमै अमीर अमानुल्लाह खानले आफगानिस्तानमा सुधार ल्याउने कोसिस गरेका थिए । त्यसमा महिलाहरूले बुर्का ओढ्नैपर्ने प्रथालाई अन्त गर्ने पनि सामेल थियो । ती सुधारवादी प्रयासहरूले केही रूढीवादी जनजातिहरू र धार्मिक नेताहरूलाई असन्तुष्ट बनाइदिएको थियो । त्यसले गर्दा एक गृहयुद्धको बिजारोपण त्यतिबेलै भएको थियो । त्यसैको कारण त्यहाँ कैयौं दशकसम्म स्थिति तनावपूर्ण रहँदै आएको थियो ।
१९६० को दशकको मध्यमा केही उदारवादी र साम्यवादीहरूको एकताले रक्तपातविहीन सत्ताविप्लवमार्फतमार्फत राजतन्त्रको अन्त्य गरेको थियो । त्यसको नेतृत्व गरेका अमीरका काकाका छोरा मोहम्मद दाउद स्वयम् तानाशाही शासक बने । त्यसको एक दशकपछि विभिन्न गुटमा विभाजित कम्युनिष्टहरूले शान्तिपूर्ण आन्दोलनमार्फत् दाउदलाई सत्ताच्युत गरे र सत्ता कब्जा गरे । सत्ता कब्जापछि कम्युनिष्टहरूका ती गुटहरूबीच नै एकता कायम भएन र तिनीहरू एक अर्कोको खुट्टा तान्न लागे । अर्कोतिर सामन्ती युद्धसरदारहरूले सेना सङ्गठित पारी विद्रोह गर्ने तयारी अगाडि बढाइरहेका थिए । ती विभाजित कम्युनिष्टहरूलाई सत्तामा बनाइराख्न सोभियत सङ्घको सेना अफगानिस्तानमा प्रवेश ग¥यो ।
दोस्रो विश्वयुद्धपछि महाशक्ति बनेको र सोभियतसङ्घसित शतियुद्ध गरिरहेको संरा अमेरिका चुप लागेर बस्ने त कुरै थिएन । सोभियत सङ्घको विरोधमा कैयौं मुजाहिद्दीन सङ्गठनहरू निर्माण गर्न र युद्ध छेड्नका लागि उक्सायो । त्यस युद्धमा मुजाहिद्दीनहरूलाई संरा अमेरिका, पाकिस्तान, साउदी अरबलगायतले पैसा र हतियार दिए ।
रूसले स्थल र हवाई हमला गरेर खेती इलाका र गाउँहरूमा हमला गरेर बालीनालीसमेत नष्ट गर्न खोज्यो । खाद्यान्न नभएपछि विद्रोह दबाउन सजिलो हुने उसको विश्वास थियो । त्यसै कारणले स्थानीय जनता आफ्नो घर छोड्न वा मर्नका लागि बाध्य भए र मुजाहिद्दीनहरूको शक्तिमा वृद्धि भयो । रूसी आक्रमणमा ठूलो रक्तपात भयो ।
एक समयमा सोभियत सङ्घको फौज ठूला ठूला शहर र वस्ती आफ्नो नियन्त्रणमा राख्न सफल भएको थियो तर ग्रामीण क्षेत्रमा मुजाहिद्दीनहरूले सफलता पाउँदै गए ।
त्यसै समय सोभियत नेतृत्वमा रहेका मिखाइल गोर्भाचेभलाई रूसी अर्थव्यवस्था बदल्ने कोसिस गर्दै युद्ध चालु राख्न नसकिने अनुभव गरे र १९८८ मा आफ्नो देशको सेनालाई फिर्ता लिने निर्णय गरे ।
वास्तवमा अफगानिस्तान सोभियत सङ्घको लागि ‘भियतनाम युद्ध’ बन्न पुगेको थियो । त्यो एक खर्चिलो र लज्जास्पद युद्ध बन्न पुगेको थियो । सोभियत सङ्घले ठूलो शक्ति लगाउँदासमेत मुजाहिद्दीन छापामारहरूलाई हराउन सकेन ।
इस्बी भन्छन्, “सोभियत नेताहरूले जति नै अफगानिस्तानमाथि आक्रमणको वैधताको कुरा गरे पनि सोभियत प्रणालीभित्रै, त्यसको सरकार र उसको सेनामा गम्भीर र मौलिक अन्तरविरोध थियो ।”

अमेरिकी अभियान र विनाशकारी युद्धको फिर्ती
अफगानिस्तानमा बेलायत र सोभियत सङ्घको असफल प्रयासहरूपछि ९÷११ को हमलाको आधारमा अफगानिस्तानमा अलकायदालाई खतम गर्ने र लोकतन्त्रको समर्थन गर्ने बहानामा संरा अमेरिकाको नेतृत्वमा नाटो सेनाले हमला ग¥यो ।
पहिलेका साम्राज्यवादी सेनाले जस्तै अमेरिकी सेनाले पनि छिट्टै काबुल जित्न र तालिबानहरूलाई आत्मसमर्पण गर्न बाध्य पार्नमा सफल भए । त्यसको तीन वर्षपछि मात्र सङ्क्रमणकालीन अफगान सरकार अस्तित्वमा आयो र पूरै ग्रामीण क्षेत्र तालिवानको नियन्त्रणमा रह्यो । अमेरिकी सेना र नयाँ अफगान सरकारमाथि तालिवानको हमला जारी नै रह्यो । पूर्व राष्ट्रपति बाराक ओबामाले आफ्नो चुनावी प्रतिवद्धताविपरीत अमेरिकी सेनाको टुकडी वृद्धि गरेपछि केही समयका लागि तालिवान पछि हट्यो । तर, तालिवानले निरन्तर आफ्नो शक्ति बढाइ नै रह्यो । नाटो सेना र तालिवानबीचको युद्धका क्रममा र अन्धाधुन्ध हमलामा हजारौं तालिवानी लडाकूका साथै लाखौँ निर्दोष जनताको ज्यान गयो । सन् २००१ को हमलापछि २०१४ मा सबैभन्दा धेरै र ठूला रक्तपातहरू भए । २०१४ पछि नाटो सेनाको सङ्ख्या घटाउँदै नयाँ अफगानी सेनालाई सुरक्षााको जिम्मेवारी सुम्पियो ।
लेखक इस्बीका अनुसार अमेरिकी हमलाको उद्देश्य र तरिका नै गलत थियो । अमेरिकी हमलामा कयौँ गलत अस्त्र गलत तरिकाले प्रयोग गरिएका थिए । उनी भन्छन् – सैन्य र राजनीतिक प्रयासहरूका बाबजुद कैयौं समस्याहरू बल्झेका थिए । तीमध्ये एक अमेरिका र पाकिस्तानबीचको मतभेद पनि प्रमुख थियो । मतभेद बढेर पाकिस्तान अमेरिकाबीच छद्म युद्धको स्थितिसम्म पुग्यो र अन्ततः पाकिस्तान सफल साबित भयो ।
सोभियत सङ्घले गरेको युद्धमा बढी रक्तपात भएको मानिए पनि अमेरिकी आक्रमण सबैभन्दा खर्चिलो साबित भएको छ । सोभियत सङ्घले त्यहाँ प्रतिवर्ष लगभग २ अर्ब अमेरिकी डलर बराबर खर्च गरेको थियो , त्यहीँ अमेरिकाले २०१० यता युद्धको लागत प्रतिवर्ष लगभग १०० अर्ब डलर खर्च गरेको थियो ।
अन्तर्राष्ट्रिय परिदृश्यमा अफगानिस्तानमाथिको अमेरिकी हमला एक विनाशकारी आक्रमण र त्यसको विफलताको रूपमा इतिहासमा दर्ज भएको छ र त्यसलाई कहिल्यै बिर्साउन सकिने छैन ।
अनुवाद : प्रकाश onlinemajdoor