सन् २००१ को सेप्टेम्बर ११ मङ्गलवारका दिन आत्मघाती आक्रमणकारीहरूले अमेरिकी यात्रुवाहक विमानहरूलाई आफ्नो नियन्त्रणमा लिएर न्यूयोर्कका दुई गगनचुम्बी भवनमा जोतिदिँदा हजारौँ मानिसहरूले ज्यान गुमाए।

उक्त आक्रमण अमेरिकीहरूका लागि मात्रै नभई समस्त विश्वकै लागि यो शताब्दीकै सबैभन्दा पीडादायक घटना हो।

को थिए निसानामा?

संयुक्त राज्य मेरिकाको पूर्वी भेगमा उडिरहेका चारवटा विमान एकपछि अर्को गर्दै अपहरणमा परेका थिए।

त्यसपछि तीनलाई “नियन्त्रित मिसाइल”को रूपमा न्यूयोर्क र वाशिङ्टनका महत्त्वपूर्ण भवनमा ठोक्काइएको थियो।

दुईवटा विमानले न्यूयोर्कको वर्ल्ड ट्रेड सेन्टरमा आक्रमण गरेका थिए।

पहिलो विमानले नोर्थ टावरमा स्थानीय समयानुसार बिहान ८:४६ मिनेट (१३:४६ जीएमटी) मा आक्रमण गरेको थियो। दोस्रो विमान साउथ टावरमा स्थानीय समयानुसार ९:०३ मिनेटमा ठोक्काइएको थियो।

ती भवनहरूमा आगो लागेको थियो र माथिल्ला तलामा मानिसहरू फसेका थिए भने धूँवाको बाक्लो मुस्लोमा सहर ढाकिएको थियो।

दुई घण्टाभन्दा कम समयमा ११० तले दुवै भवन ढलेर धूलोको विशाल मुस्लो र भग्नावशेषमा परिणत भएका थिए।

नौ बजेर ३७ मिनेटमा तेस्रो विमानले राजधानी वाशिङ्टन डीसीभन्दा केही बाहिर रहेको अमेरिकी सेनाको मुख्यालय पेन्टगनको पश्चिमी मोहडालाई क्षति पुर्‍याएको थियो।

यात्रुहरूले प्रतिरोध गरेपछि चौथो विमान पेन्सिल्भेनीआको एउटा मैदानमा दुर्घटनाग्रस्त भएको थियो। अपहरणकारीहरूले उक्त विमानको प्रयोग गरी अमेरिकी संसद् भवनमा आक्रमण गर्ने लक्ष्य राखेको ठानिएको छ।

कति जनाले ज्यान गुमाए?

यी घटनाहरूमा १९ अपहरणकारीबाहेक २,९७७ जनाले ज्यान गुमाए। तीमध्ये अधिकांश न्यूयोर्कमा मारिए।

  • चारवटा विमानमा सवार चालकदलका सदस्य र यात्रु गरी सबै २४६ जनाको मृत्यु भयो
  • ट्विन टावरमा तत्कालै र पछि चोटका कारण २६,०६ जनाको मृत्यु भयो
  • पेन्टगनमा १२५ जनाको मृत्यु भयो

सबैभन्दा कम उमेरमा ज्यान गुमाउने दुई वर्षका क्रिस्टिन ली हेन्सन थिए। आफ्ना बुवा पिटर र आमा सुसँगै एउटा विमानमा उनको ज्यान गयो।

सबैभन्दा ज्येष्ठ ८२ वर्षका रोबर्ट नोर्टन थिए। उनी पत्नी ज्याक्लिनसँगै एउटा विवाह समारोहमा भाग लिन गइरहेका थिए।

पहिलो विमानले ठक्कर दिँदा अनुमानित १७,४०० जना उक्त टावरभित्र रहेको ठानिएको छ।

नोर्थ टावरमा प्रभावित क्षेत्रभन्दा माथि रहेका कोही पनि बाँचेनन् भने साउथ टावरमा प्रभावित क्षेत्रभन्दा माथि रहेका १८ जना भागेर ज्यान जोगाउन सफल भएका थिए।

ज्यान गुमाउनेमा विभिन्न ७७ वटा देशका नागरिक थिए। न्यूयोर्कले ४४४ जना आपत्कालीन उद्धारकर्ता गुमायो।

हजारौँ व्यक्तिहरू घाइते भए र पछि अग्निनियन्त्रकसहित कैयौँमा उक्त हमलाका कारण बाहिर निस्केको घातक भग्नावशेषका कारण स्वास्थ्य जटिलताहरू देखा पर्‍यो।

को थिए आक्रमणकारीहरू?

एउटा इस्लामवादी उग्रवादी सञ्जाल अल-कायदाले अफगानिस्तानबाट ती घातक आक्रमणहरूको योजना बुनेको थियो।

ओसामा बिन लादेनको नेतृत्वमा रहेको अल-कायदाले मुस्लिम देशहरूमा भएका द्वन्द्वमा अमेरिका र उसका साझेदारलाई दोषी ठहर्‍याउने गर्थ्यो।

अपहरणमा संलग्न १९ जना पाँच जनाको तीन वटा र चार जनाको एउटा समूहमा विभाजित थिए।

प्रत्येक समूहमा विमानचालकको तालिम लिएको एक व्यक्ति थिए। त्यस्तो तालिम अमेरिकाकै उड्डयन प्रशिक्षण केन्द्रहरूमा लिइएको थियो।

बिन लादेनजस्तै १५ जना अपहरणकारी साउद अरबका थिए।

दुई जना संयुक्त अरब एमिरेट्स, एक जना इजिप्ट र एक जना लेबनानका थिए।

अमेरिकाले कसरी प्रतिक्रिया गर्‍यो?

आक्रमणको एक महिना नबित्दै राष्ट्रपति जर्ज डब्ल्यू बुशले अन्तर्राष्ट्रिय गठबन्धनको साथ लिएर अल-कायदालाई उन्मूलन गर्न र बिन लादेनलाई पत्ता लगाउन अफगानिस्तानमा आक्रमण गरे।

अमेरिकी सैनिकहरूले बिन लादेनलाई लामो समय पत्ता लगाउन सकेनन्।

तर सन् २०११ मा छिमेकी पाकिस्तानमा अमेरिकी सेनाले उनलाई मारिदिए।

सेप्टेम्बर ११ को हमलाका आरोपित योजनाकार खालिद शेख महमदलाई सन् २००३ मा पाकिस्तानमा पक्राउ गरिएको थियो। त्यसयता उनी ग्वान्टानामो बेमा अमेरिकी हिरासतमा छन् र अझै पनि अभियोजनको पर्खाइमा छन्।

अल-कायदा अझै पनि अस्तित्वमा छ। सब-सहारा अफ्रिकामा उसको पकड बलियो छ र अहिले अफगानिस्तानभित्र पनि उसका सदस्य छन्।

झन्डै दुई दशकपछि यो साल अमेरिकी सैनिकहरू अफगानिस्तानबाट बाहिरिएका छन् र त्यसका कारण उक्त इस्लामवादी सञ्जालको पुनरागमन हुने चिन्ताहरू व्यक्त भएका छन्।

सेप्टेम्बर ११ को विरासत

उक्त आक्रमणपछि संसारभरि उडान सुरक्षा सुदृढ पारिएको थियो।

संयुक्त राज्य अमेरिकामा विमानस्थल र विमानको सुरक्षा बलियो बनाउन ट्रान्सपोर्टेशन सेक्यूरिटी एड्मिनिस्ट्रेशन नामक छुट्टै निकाय स्थापना भयो।

दुईवटा टावर ढलेको स्थान “ग्राउन्ड जीरो” लाई सफा गर्न आठ महिनाभन्दा बढी समय लागेको थियो।

त्यहाँ अहिले एउटा स्मृतिकेन्द्र र सङ्ग्रहालय स्थापना गरिएको छ अनि नयाँ डिजाइनसहित भवनहरू निर्माण गरिएको छ।

नवनिर्मित वन वर्ल्ड ट्रेड सेन्टर वा “फ्रीडम टावर” को उचाइ १,७७६ फिट छ जुन वास्तविक नोर्थ टावरको उचाइ १,३६८ भन्दा अग्लो हो।

पेन्टगनको पुनर्निर्माणका लागि एक वर्षभन्दा कम समय लागेको थियो। त्यहाँका कर्मचारीहरू अगस्ट २००२ बाट आफ्नै कार्यालयमा फर्किएका थिए।bbcnepali