अमेरिकी सैनिक फर्किएसँगै तालिबानले अफगानिस्तानमाथि फेरि दोस्रोपटक सत्ता कब्जा गरेको छ । यससँगै अफगानिस्तान फेरि भू-राजनीतिको नयाँ चपेटमा परेको छ । ‘ग्रेभ यार्ड अफ इम्पायरर्स,’ भनिने अफगानिस्तान सन् १८०० देखि नै भू-राजनीतिको चपेटामा पर्न थालेको थियो । अहिलेको तालिबानी कब्जा त्यही भू-राजनीतिक चपेटाको रूप हो ।

सन् १८०० मा अफगानिस्तानको उत्तरमा रुस थियो भने दक्षिणमा बेलायत शासित भारत भारत थियो । अफगानिस्तानमा रुसको प्रभाव नपरोस् भन्ने उद्देश्यसहित संसार जित्न हिँडेको बेलायतले सन् १८३० मा अफगानिस्तानमा हस्तक्षेप गर्‍यो । एमिर दोस्त मोहम्मद नामका राजालाई हटाएर बिट्रिसले सन् १८३० मा शाह शुजा दुर्रानीलाई राजगद्दीमा बसायो, जतिखेर आफगानिस्तानसँग आफ्नो सैनिक थिएन । स-साना गाउँका मुखियाको नेतृत्वमा स्थानीयबासी नै राजाका तर्फबाट युद्ध लड्थे । एमिर दोस्त मोहम्मदलाई हटाएपछि यी स-साना समूहहरू अकबर खानको नेतृत्वमा एकीकृत भए ।

अकबर खान नेतृत्वको यो समूहले बिट्रिस हस्तक्षेपविरुद्ध युद्ध सुरु गर्‍यो। अत्याधुनिक हतियारसहितका बिट्रिसले सन् १८४२ मा हार बेहोर्‍यो । त्यसपछि अफगानी नागरिकले शाह शुजाको यी स-साना मुखिया समूहहरू अकबर खानको नेतृत्वमा एकीकृत भए र यिनले बिट्रिसविरुद्ध युद्ध गरे । युद्ध तीन वर्षसम्म चल्यो । अत्याधुनिक हतियारका बाबजुद बिट्रिसले सन् १८४२ हार बेहोर्नुपर्‍यो । सन् १८३९ देखि १८४२ सम्म चलेको यो युद्धलाई पहिलो एङ्ग्लो-अफगान युद्ध भनिन्छ ।

अकबर नेतृत्वको समूहले बिट्रिसलाई पराजित गरेपछि राजगद्दीमा बसाइएका शाह शुजाको हत्या गरेर एमिर दोस्त मोहम्मदलाई फेरि शासनमा फर्काइयो । अफगानसँग पराजित बेलायतले सन् १८७८ मा अफगानिस्तानमाथि आक्रमण गर्‍यो । अफगानी नागरिकलाई सभ्यता सिकाउने भन्दै बिट्रिसले सेना सन् १८७८ देखि १८८० सम्म युद्ध गरे । दोस्रो एङ्ग्लो–अफगान युद्ध भनिने यो लडाइँमा अफगानी हारे ।

ब्रिटिसले अफगान जितिसकेपछि अब्दुर रहमान खान सत्तामा आए । यसपछि नियम कानुन अफगान सरकारले चलाए पनि अन्तर्राष्ट्रिय नीति भने बिट्रिसले बनाइदिन थाले । अफगानिस्तान अब बिट्रिसले सुरक्षा दिएको देश बन्यो । सन् १८९३ मा बिट्रिस इण्डियाले अफगान र बिट्रिस इण्डिया छुट्याउने सीमा रेखा कोर्‍यो । डुराण्ड लाइन भनिने यो रेखाले अहिले पाकिस्तान र अफगानिस्तानको सीमा छुट्याउँछ ।

अफगानिस्तानमा कब्जा जमाएको बिट्रिसले सन् १९०७ मा रुससँग एउटा सम्झौता गर्‍यो । बिट्रिस र रसियाबीच भएको यो सम्झौताले अफगानिस्तानलाई बिट्रिस प्रभाव भएको क्षेत्र घोषणा गर्‍यो ।

रुसी क्रान्ति पश्चात सन् १९१८ मा लेनिन सत्तामा आए । रुसले अफगानिस्तानलाई बिट्रिस प्रभावबाट स्वतन्त्र बनाउन भन्दै आर्थिक सहयोग दिन थाल्यो । सन् १९१९ मा तेस्रो एङ्ग्लो अफगान युद्ध भयो । यो युद्धलाई अफगानी नागरिक ‘वार अफ इन्डिपेन्डेन्स’ पनि भन्छन् ।

अगष्ट १९१९ मा बिट्रिसले अफगानिस्तान छाड्यो र अफगानिस्तान पूर्ण स्वतन्त्र भयो । बिट्रिसलाई अफगानिस्तानबाट हटाउने युद्धको नेतृत्व गरेका अमनउल्लाह खाँ नेतृत्वमा आए । सन् १९२६ मा अमनउल्लाहले अफगानिस्तानलाई किङडम अफ अफगानिस्तान घोषणा गरे । निकै उदारवादी र प्रगतिशील राजा मानिने अमरउल्लाहले सामाजिक र आर्थिक सुधारका प्रयास गरे । 

मुस्लिम समुदायमा प्रचलित बहुविवाहको मान्यता तोड्दै अमरउल्लाहले एक महिलासँग मात्र विवाह गरे । महिलाले पनि पढ्न पाउने नियम बनाए । महिलालले पनि पुरुषसरह काम गर्न पाउने नियम बसालेर सुधारको प्रयास थाले । यसबाहेक उनले महिलालाई सम्बन्धविच्छेदको अधिकार पनि दिलाए । अदालत र शिक्षालाई धर्मनिरपेक्ष बनाए । उनले आफ्नो एक भाषणमा महिलालले पूरा शरीर ढाक्ने लुगा लगाउनुपर्ने नियम कुरानमा उल्लेख नभएको घोषणा गरिदिए । 

अमरउल्लाहको उदारवादी अभ्यासबाट बिच्किएका धार्मिक कट्टरपन्थीले उनीविरुद्ध विद्रोह गरे । सन् १९२३ अलिजाइ र सन् १९२४ मा खोस्ट नामक दुई विद्रोह भयो । यी दुवै विद्रोहलाई अमरउल्लाहले दबाए । धार्मिक कट्टरपन्थीले उनीविरुद्ध विद्रोह जारी राखे । सन् १९२९ उनीविरुद्धको विद्रोह सफल भयो । त्यसपछि अमरउल्लाह र उनकी रानी भागेर बिट्रिस भारत पुगे ।

अमरउल्लाहविरुद्ध विद्रोह फैलाउन ब्रिटिस सरकारको हात थियो । ब्रिटिस सरकारका गुप्तचरले अमरउल्लाहकी श्रीमतीका अन्तरंग तस्वीर अफगानिस्तानका धार्मिक कट्टरपन्थीमाझ बाँडेर उनीविरुद्ध विद्रोह भड्काएका थिए । अमरउल्लाहको निर्वासनपछि ब्रिटिसको सहयोगमा अफगानिस्तानमा मोहम्मद नादिर शाह नयाँ राजा बने ।

नादिरको मृत्युपछि उनका छोरा जाहिर शाहले अफगानिस्तानमा ४० वर्ष शासन गरे । जाहिरले अफगानिस्तानलाई आधुनिक बनाउन भरमग्दुर प्रयास गरे । विदेशसँग सम्बन्ध विस्तारदेखि आफगानी नागरिकको जीवनशैली बदल्न पनि उनले ठूलो प्रयास गरे ।

सन् १९४७ मा जब भारत र पाकिस्तान बिट्रिसबाट स्वतन्त्र भए, तब सन् १८९३ मा कोरिएको डुराण्ड लाइन नै पाकिस्तान र अफगानिस्तानको स्थायी सीमारेखा बन्यो । तर, अफगानी नागरिक भने यो सीमारेखासँग सन्तुष्ट थिएनन् । किनभने अफगानिस्तानमा पस्तुन सम्प्रदायको बाहुल्यता थियो । डुराण्ड लाइनभन्दा पारी पाकिस्तानमा पनि केही पस्तुन धर्मावलम्बी थिए ।

यही कारण अफगानिस्तानले पाकिस्तानमा रहेका पस्तुन धर्मावलम्बीलाई अफगानमा मिल्न पाउने मागसहित विद्रोह गर्न लगायो । यो आन्दोलनलाई जाहिरका प्रधानमन्त्री दाउद खानले सहयोग गरेका थिए । आफ्नो मुलुकमा विद्रोह भड्काएपछि पाकिस्तानले अफगानिस्तानसँगको सीमा बन्द गर्‍यो । व्यापारसमेत रोक्यो ।

यता राजा जाहिरले सन् १९६३ मा आफ्ना प्रधानमन्त्री दाउद खानलाई राजीनामा गर्न लगाए । सन् १९६४ मा नयाँ संविधान जारी गर्दै आफगानिस्तानले संसदीय चुनाव गराएर प्रधानमन्त्री छान्ने निर्णय गर्‍यो । महिलाले पनि चुनावमा उम्मेदवारी दिन सक्ने र भोट हाल्न पाउने सुविधासहित चुनावको घोषणा गरियो ।

यही समयमा अफगानिस्तानभित्र कम्युनिष्ट र इस्लाम कट्टरपन्थी विचारधाराका पार्टी एकसाथ मौलाइरहेका थिए । सन् १९७३ मा जाहिर शाह विदेश भ्रमणमा रहेको समयमा राजीनामा गर्न लगाएका प्रधानमन्त्री दाउदले कम्युनिष्ट पार्टी र सैनिकको सहयोगमा रक्तपातहीन ‘कु’ गरे ।

‘कु’पछि दाउदले आफूलाई ‘रिपब्लिक अफ अफगानिस्तान’को राष्ट्रपति घोषणा गरे । दाउदको ‘कु’पछि जाहिर शाह इटाली निर्वासनमा गए । दाउदले संसद न्यायपालिकामाथि कब्जा जमाएर एकक्षत्र कम्युनिष्ट शासन लागू गर्न खोजे । साम्यवादी तरिका अपनाउँदै दाउदले अफगानका सबै बैंकलाई राष्ट्रियकरण गरे । सन् १९६० देखि १९७० को बीचमा अफगान निकै शान्त देशका रूपमा रह्यो र हिप्पी यात्राको मुख्य आकर्षण बन्यो ।

यही अवधिमा अफगानिस्तान कोल्ड वार (शीतयुद्ध)को चपेटामा पर्‍यो । अमेरिका र सोभियत युनियनबीचको बैचारिक लडाइँमा अफगानिस्तान असंलग्न राष्ट्रको समूहमा थियो । जाहिरको शासनकालमा प्रधानमन्त्री रहेका दाउदले अफगानिस्तानलाई  आधुनिक बनाउन सोभियत युनियनको सहयोग लिएका थिए । यही समयमा अफगानिस्तानको कम्युनिष्ट पार्टी दुई भागमा बाँडियो । सोभियत युनियनले अफगान कम्युनिष्ट पार्टीलाई मिलाउने प्रयास गर्‍यो। तर, असफल भयो ।

सन् १९७७ मा दाउदले नेशनल रेभुलसनरी नामक पार्टी बनाएर नयाँ संविधान जारी गरे । यो पार्टीले इस्लाम, राष्ट्रवाद र समाजवादको नारा दियो । दाउदले अफगानिस्तानमा रहेका अन्य दुई कम्युनिष्ट पार्टीबाट आफूलाई खतरा हुने महसुस गरेर ती पार्टीका मान्छे मार्न सुरु गरे । 

दाउदको निरंकुश शासनबाट अफगानका उदारवादी मानिस खुसी थिएनन् । सन् १९७८ मा अफगानिस्तान कम्युनिष्ट पार्टीका एक ठूला नेताको हत्या भयो । हत्यापछि दाउदविरुद्ध ‘कु’ मात्र भएन दाउद र उनको परिवारलाई मारियो । यसलाई साउर विद्रोह समेत भनिन्छ । यो विद्रोहपछि अफगानिस्तान डेमोक्रेटिक रिपब्लिक देश बन्यो । र, अफगानिस्तानको शासन कम्युनिष्ट नेता नुर मोहम्मद तारकीको पोल्टामा पुग्यो ।

तारकीले जमिन्दारबाट जमिन खोसेर गरिबलाई दिए । टेलिभिजन च्यानल खोले । ऋण बन्द गराए । इस्लामिक धर्मगुरुको शक्ति कटौती गरे । महिलालाई विद्यालय पठाउने नियम बनाए । कतिपय भाषणमा त उनले केही वर्षभित्र सबै मस्जिद खाली हुने घोषणा नै गरे । 

उनको यो कदमको विरोधमा कट्टरपन्थीहरू एकजुट भए । धार्मिक कट्टरपन्थीले मुजाहिद्धिन नामको एक समूह बनाए । यो समूहलाई कम्युनिष्ट शासकविरुद्ध लड्न आर्थिक सहयोग गर्‍यो, अमेरिकाले । यो कट्टरपन्थी समूहले सन् १९७९ मा नुर मोहम्मदको हत्या गर्‍यो । 

नुर मोहम्मदको हत्यापछि सोभियत युनियनले अफगानिस्तानमा कम्युनिष्ट विचारधारा जोगाउन र मुजाहिद्धिनलाई समाप्त पार्ने भन्दै आफ्नो सैनिक पठायो । सोभियत युनियनका सैनिकको अफगानिस्तान प्रवेशसँगै धार्मिक कट्टरपन्थीलाई अमेरिकाले आर्थिक र सैन्य सहयोग बढायो ।

नुर मोहम्मदको हत्यापछि हफिजुल्लाह आमिन सत्तामा आए । सन् १९७९ मा अफगानिस्तानको छिमेकी इरानमा इरानीयन विद्रोह चलिरहेको थियो । इरानका धार्मिक कट्टरपन्थीले चलाएको यो विद्रोहबाट त्रसित भएर हफिजुल्लाह पनि धार्मिक गतिविधिमा सामेल हुन थाले ।

कम्युनिष्ट पार्टीका नेता भए पनि हफिजुल्लाले अफगानिस्तानमा मस्जिद निर्माणमा जोड दिए । आफ्नो भाषणमा अल्लाहको नाम लिन थाले र सरकारीस्तरबाटै कुरान वितरण सुरु गरे । तर, अफगानिस्तानका धार्मिक कट्टरपन्थीले हफिजुल्लाहलाई विश्वास गरेनन् । कम्युनिष्ट विचारधाराका नाममा इस्लामिक कट्टरपन्थीले जस्तो व्यवहार गरेको भन्दै सोभियत युनियनका सैनिकले हफिजुल्लाहको हत्या गराए । यसपछि सोभियत युनियनको आडमा बाबारा कर्मल शक्तिमा उदाए । उनले नयाँ संविधानको वाचा गर्दै सुधारको प्रयास थाले । 

तर, शीत युद्धमा कमजोर बन्दै गइरहेको अमेरिका भने अफगानिस्तानबाट जसरी पनि सोभियत युनियनलाई लखेट्ने दाउमा थियो । धार्मिक कट्टरपन्थी मुजाहिद्दीनलाई अमेरिकासँगै साउदी अरेबिया, पाकिस्तानले सहयोग दिए । मुजाहिद्दीनलाई सहयोग गर्न भनेर अमेरिकाले अपरेसन साइक्लोन नाममा ५ लाख डलर आर्थिक सहयोग दियो । अब मुजाहिद्दीनलाई अमेरिका, पाकिस्तान र साउदी अरेबिया मात्र होइन बेलायतको पनि सहयोग थपियो । तत्कालीन अमेरिकी राष्ट्रपति रोनाल्ड रिगेनले त मुजाहिद्दीनका मानिससँग औपचारिक भेटघाट नै गरे । 

अफगानिस्तानका पहाडमा गुरिल्ला लडाकुका रूपमा रहेको मुजाहिद्दीन अब एन्टी एअर क्राफ्ट हतियारले सुसज्जित हुन थाल्यो । चार देशको आर्थिक र सैन्य सहयोगका कारण मुजाहिद्दीन बलियो बन्दै गयो । सन् १९८८ मा अफगानिस्तानमा डा. मोहम्मद नजिबुल्लाह प्रधानमन्त्री भए । सोभियत युनियन र अमेरिकालाई साक्षी राखेर उनले पाकिस्तानसँग शान्ति सम्झौता गरे । उक्त सम्झौतामा पाकिस्तान र अफगानिस्तानले एक-अर्काको देशमा हस्तक्षेप नगर्ने सहमति भयो । सोभियत युनियनले अफगानिस्तानबाट आफ्नो सैनिक फर्काएमा अमेरिकाले मुजाहिद्दीनलाई हतियार र आर्थिक सहयोग नगर्ने वाचा गर्‍यो ।

त्यसपछि सन् १९८९ मा सोभियतले आफ्नो सैनिक अफगानिस्तानबाट फिर्ता लग्यो । सोभियत सैनिक फर्केपछि नजिबुल्लाहले आफगानस्तानमा शान्ति कायम गर्ने र मुजाहिद्दीनजस्ता कट्टरपन्थी समूहलाई शान्त बनाउने प्रयास गरे । सोभियत युनियनको बहिर्गमनसँगै अफगानिस्तान अब बहुदलीय देश बन्यो । सन् १९८८ मा भएको नयाँ चुनावमा नजिबुल्लाहको पार्टीले जित हासिल गर्‍यो । सन् १९९० मा नजिबुल्लाहले अफगानिस्तानलाई इस्लामिक रिपब्लिक घोषणा गरे । कम्युनिजम्‌का सबै अवधारणा अफगानिस्तानबाट हटाइयो । नजिबुल्लाहले धार्मिक कट्टरपन्थीलाई शान्त राख्ने प्रयास गरे । 

तर, यता अमेरिकाले भने मुजाहिद्दीनलाई हतियार पठाइरह्यो । अमेरिकाको आर्थिक र सैन्य सहयोग पाएको मुजाहिद्दीन चुनाव अस्वीकार गर्‍यो । अमेरिकाले मुजाहिद्दीनलाई सहयोग गरेको थाहा पाएपछि सोभियत युनियन पनि नजिबुल्लाहलाई वैदेशिक सहयोगका नाममा पैसा पठाउन तम्सियो । सन् १९९१ मा सोभियत युनियन टुक्रियो भने सन् १९९२ मा मुजाहिद्दीनले नजिबुल्लाहलाई जितेर अफगानिस्तानमा शासन गरे । मुस्लिम समुदायका विभिन्न धार्मिक सम्प्रदाय मिलेर बनेको मुजाहिद्दीनभित्रै फाटो आयो । विरोधकाबीच सन्  १९९२ मा मुजाहिद्दीनका बुराहनउद्दिन रब्बानीको हातमा शासनको बागडोर आयो । 

तर, पस्तुन धार्मिक सम्प्रदायको प्रतिनिधित्व गर्ने तालिबानले मुजाहिद्दीनविरुद्ध लडाइँ सुरु गर्‍यो । पस्तुन भाषामा विद्यार्थीको संगठन भनेर चिनिने तालिबानले सन् १९९६ मा मुजाहिद्दीनका नेता बुराहनउद्दिनलाई अफगानिस्तानको शासनबाट च्युत गर्छ । यो समूह सोभियत युनियनविरुद्ध लड्न अमेरिकाले परिचालित गरेको थियो ।

तालिबान समूहको नेतृत्व गरिरहेका थिए मुल्लाह मोहम्मन ओमार, जसले ५० जना विद्यार्थीलाई साथमा लिएर यो समूह बनाएका थिए । इस्लाम र पस्तुन राष्ट्रवादको वकालत गर्ने यो समूहमा पाकिस्तानमा रहेका पस्तुन धर्मावलम्बी पनि जोडिए । धार्मिक कट्टरपन्थीभित्र पनि यो समूह झन् उग्र रूपमा उदायो । तालिबानलाई पाकिस्तान, अमेरिका र साउदी अरेबियाले आर्थिक तथा सैन्य सहयोग गरे । तालिबानी कट्टरपन्थीलाई धार्मिक कट्टरपन्थी शिक्षा दिलाउन किताबसमेत छपायो । सन् १९९६ मा तालिबानले अफगानिस्तानको राजधानी काबुल कब्जा गर्‍यो। र, अफगानिस्तानलाई इस्लामिक इमिरेट अफ अफगानिस्तान घोषित गर्‍यो।

सुरुवाती दशकमा अफगानिस्तानका धेरै नागरिक तालिबानको पक्षमा थिए । आफ्नो पकड रहेको केही क्षेत्रमा तालिबानले शान्ति कायम पनि गर्‍यो । मुजाहिद्दीनको अतिशय व्यवहारबाट आतंकित अफगानी शान्ति कायम हुने आशमा तालिबानको साथमा उभिएका थिए । तर काबुल कब्जासँगै तालिबानले आफ्नो धार्मिक कट्टरपन्थी रूप देखायो । सिनेमा, टेलिभिजन, फुटबल, चित्रकारिताजस्ता चीजमा बन्देज लगायो । महिलामाथि थप कडाइ गर्‍यो। तालिबानले गैरपस्तुन सम्प्रदायका मानिसलाई मार्न थाल्यो । इसाई र हिन्दुलाई घाँटीमा झुण्ड्याउने ब्याच लगाएर मात्र घर बाहिर निस्कन निर्देशन दियो । पाकिस्तान, साउदी अरेबिया र संयुक्त इमिरेट्स अरबले तालिबानी शासनलाई कूटनीतिक मान्यता दियो । 

यता मुजाहिद्दीनले अफगानिस्तानको उत्तरी क्षेत्रमा तालिबानविरुद्ध सशस्त्र संघर्ष गर्‍यो । तालिबानविरुद्ध संघर्ष गरिरहेका मुजाहिद्दीनका अहमद शाह सन् २००१ मा मारिए । यही समयमा अलकायदाले अमेरिकाको ट्वीन टावरमा आक्रमण गरेर मुस्लिममाथि अमेरिकाले गरेको अत्याचारको बदला लिएको घोषणा गर्‍यो । 

अलकायदाका प्रमुख ओसामा बिन लादेनलाई तालिबानले अफगानिस्तानमा शरण दियो । आतंकवादविरुद्ध युद्ध छेड्ने निर्णयमा पुगेको अमेरिकाले लादेनलाई मार्ने भन्दै अफगानिस्तानमा हवाई आक्रमण गर्‍यो । यो आक्रमणमा तालिबानसँग नजोडिएका धेरै अफगानीको ज्यान गयो । 

लादेनलाई शरण दिने तालिबानमाथि अमेरिकाले आक्रमण सुरु गरेपछि तालिबानविरुद्ध संघर्ष गरिरहेको मुजाहिद्दीन खुसी भएर अमेरिकासँग गठजोड बनायो । डिसेम्बर २००१ मा अमेरिकाको सहयोगमा मुजाहिद्दीनका हमिद कारजाई अफगानिस्तानको नयाँ राष्ट्रपति छानिए । हमिदले सन् २००४ मा नयाँ संविधान जारी गरे । सन् २०११ मा पाकिस्तानमा अलकायदाका प्रमुख लादेन र त्यसको दुई वर्षपछि तालिबानका प्रमुख ओमार मारिए । तालिबान र अलकायदा समाप्त पार्न भन्दै अमेरिकाले सन् २००१ मै अफगानिस्तानमा सैनिक ओरालीसकेको थियो । यससँगै तालिबान अफगानिस्तानका कुना कन्दरामा सीमित भएको थियो ।

सन् २०२० मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अलकायदासँगको सम्बन्ध तोडेमा अफगानिस्तानबाट अमेरिकी सैनिक फर्काउने वाचासहितको एउटा सम्झौता तालिबानसँग गरे । यतिखेरसम्म अमेरिकाले अफगानिस्तानमा आफ्ना सैनिकमाथि कम्तीमा २ ट्रिलियन अमेरिकी डलर खर्चिसकेको थियो । पूर्ववर्ती राष्ट्रपतिले गरेको सम्झौता कार्यान्वयन गर्दै अमेरिकी राष्ट्रपति जो वाइडेनले आफ्ना सैनिक अमेरिकाबाट फिर्ता लगे । त्यससँगै ८५ हजार सैनिक रहेको तालिबानले अफगानिस्तानमा फेरि कब्जा जमाउन थाल्यो र अन्ततः सत्ता पल्टाउने हैसियत बनाएर काबुल पस्यो । 

सबै तस्वीरहरू : आउटलुक । वार म्युजियम अफ युके ।(शिलापत्रडटकम बाट)