मुलुकमा राजनीति, कोरोना, बाढी-पहिरो, पुराना राजनीतिक नियुक्ति खारेजी, नयाँ राजनीतिक नियुक्तिका लागि दौडधुप, विरोध, समर्थन अनेकौँ विषयहरू छरिएर रहेका बेला जिन्दगीका मुद्दाहरू के हुन सक्छन् ? मुलुकमा, संसारमा के भइरहेको छ भनेर अरुको चासो राख्नमा ब्यस्त मानिसहरूलाई आफैंप्रति कति सरोकार होला ? कसले के गरिरहेको छ ? के बोलिरहेको छ ? भन्ने कुराको विश्लेषण गर्नमा तल्लिन मानिसहरू आफू के गरिरहेको छु ? के बोलिरहेको छु ? मेरो कुराले, बोलीले, लेखनले के सन्देश दिइरहेको छ भन्ने बारेमा कति सचेत होलान् ? यस्ता कुरा हामीले खासै सोचिरहेका हुँदैनौँ ।

प्राथमिकताअनुरुप ब्यक्तिपिच्छे मुद्दा र आवश्यक्ता फरक हुन सक्छन । तर केही समान विषयहरू हुन्छन्, जो हरेक मानिस चाहन्छन् । अरुले आफूलाई राम्रो भनिदिउन् भन्ने चाहना प्रायः सबैमा हुन्छ । जहाँ जस्तो अवस्थामा रहेको भए पनि मानिसलाई प्रशंसाा मनपर्छ । तिमी राम्रो, तिमीले गरेको काम राम्रो, तिम्रो विचार राम्रो भनिदिँदा नमुस्कुराउने मानिस हुँदैन । खुशी र सुखी हुने तथा स्वस्थ जीवन बाँच्ने चाहना नहुने मानिस यो संसारमा पाउन गाह्रो छ । यद्यपि खुशी र सुखको पछाडि दौडँदा दौडँदै खासमा यी कुरा पाउन के गर्नुपर्छ भन्ने बारेमा थाहै नपाइ प्रायः मानिसको मृत्यु हुने गर्छ । जतिले बुझेका र अनुभव गरेका हुन्छन् तिनले सबैलाई बुझाउन सकिरहेका हुँदैनन् । यस्ता कुरा बुझाएर या सम्झाएर हुने नभई मानिस स्वयमले महसूस गर्ने कुरा हुन् ।

मानिसको जीवनमा एउटा गजबको कुरा के छ भने अरुले आफ्नोबारेमा के सोच्छ, के गर्छ, के भन्छ भन्ने हामीलाई थाहा हुँदैन तर आफू के सोच्छु, के गर्छु, के बोल्छु भन्ने कुरा पूर्ण रूपमा आफूमा निहीत छ । हाम्रा सोचहरूलाई कति र केमा सीमित गर्ने ? कति फैलाउने, कति खुम्च्याउने आफ्नै हातमा छ । कतिपय मानिसका लागि बस्नलाई एउटा घर, यात्रा गर्न गाडी, विवाह, बालबच्चा हुनु जिन्दगीको ठुलो सफलता हो । त्यस्ता मानिसहरूले प्रायः भेटघाटमा घर, जग्गा, सम्पत्तिको कुरा गरिरहेका हुन्छन् । कतिपय मानिसका लागि यी कुराहरू जिन्दगीका आधारभुत कुरा हुन् । घरलाई जिन्दगीको शान ठान्ने मानिसहरूमध्ये कति त्यही घरभित्र बडो सकसपूर्ण जीवन बाँचिरहेका हुन्छन् । हेर्दा आकर्षक, सबैले वाहवाह गर्ने घरमा केही समय बसेपछि उनीहरूलाई थाहा हुन्छ कि घर त बस्नको लागि छानो मात्रै रहेछ । जिन्दगीको खुशी घरले नदिएपछि अरु नै कुराको खोजी हुन थाल्छ । जब भावनात्मक निकटता छैन भने फ्ल्याटमा एक-एक जना बसे पनि के काम ? छ भने एउटै कोठाको बसाइ जीवनको अन्तिम अवस्थासम्म सम्झनलायक भइरहेको हुन्छ । गाडी, लुगा कपडा या यस्ता भौतिक कुराहरूको पछि लागेर मानिस कहिल्यै थाक्दैन । एकपछि अर्को प्राप्तिको कुनै सीमा छैन । तर जति गरे पनि जीवन सहज हुनेबाहेक भौतिक सम्पत्ति र खुशीका बीच त्यति ठुलो सम्बन्ध भने छैन । प्रायः मानिसले धनपछि नाम र मानको अपेक्षा गरेको देखिन्छ । पैसा तिरेर सांसद बन्नेहरू या पैसाका कारण विभिन्न ओहदामा पुगेकाहरू यस कुराको प्रमाण हुन् । धन र नाम सँगसँगै कमाउने मानिसको सङ्ख्या सानो हुन्छ ।

भौतिक साधन सुविधाले मानिसको जीवन सहज बनाउँछ तर खुशी बनाउछ भन्ने निश्चित हुँदैन । किनभने खुशी देखाउने नभइ अनुभव र महसूस गर्ने आत्मिक कुरा हो । जिन्दगीभर दौडधुप गरेर जीवन सहज बन्ने अवस्था आएपछि मानिसले खुशी हुनका लागि ठुला नभएर स-साना कुरा आवश्यक पर्ने रहेछ भन्ने कुराको आत्मसात गर्छ । कुनै पदमा पुगेको मानिसलाई पदमा रहुञ्जेल जिन्दगी सधैं यस्तै हो भन्ने लागिरहेको हुन्छ । पदको समाप्तिसँगै भ्रमहरू टुट्दै जान्छन् । आफ्नो प्रधानमन्त्रीत्वकालमा केपी ओलीले प्रेम आले जति निकट राजनीतिकर्मी को होलान् र ? भन्ने ठान्नुभएको थियो होला, तर पद गएको दुई दिनमै को नजिक को टाढा थाहा भइहाल्यो । यस्ता कुराहरू मानिसको ब्यवसायिक र ब्यक्तिगत दुवै जीवनमा लागु हुन्छन् । को टाढा, को नजिक, आफ्नो-अर्काको चिन्नका लागि मानिसलाई दुःख पर्नुपर्छ । अप्ठ्यारो परिस्थितिबाट गुज्रनु पर्छ । एउटै जिन्दगीमा सबै मानिसले सबै कुरा भोगेर साध्य छैन, त्यसैले कति कुरा अरुको देखेर सिक्नु/बुझ्नु पर्ने हुन्छ ।

आफूले गरेका कामबाट, निर्णयबाट यदि दुख मिल्छ भने त्यो सही काम होइन भनेर बुझ्नुपर्ने हुन्छ । हामीले कुनै पनि विषयमा दिने प्रतिक्रियाहरू हाम्रा दृष्टिकोणका ‘रिफ्लेक्सन’ हुन् । उदाहरणका लागि सांसद भीम रावलको राजीनामा वर्तमान परिस्थितिका प्रति उहाँको प्रतिक्रिया हो । आफ्नै कदमबाट उहाँलाई दुःख छ भने त्यो गलत हो, यदि खुशी र आनन्द मिलेको छ भने त्यो सही हुन सक्छ । तर खुशी लागेको छ या दुखी बनाएको छ भन्ने कुराचाहिँ उहाँबाहेक अरुलाई थाहा हुँदैन, अनुमान मात्रै गर्न सकिन्छ । सामान्य रूपमा हेर्दा आफूलाई मतदान गर्ने जनताको मान राख्न नसक्ने उक्त निर्णय गलत हो । नेता हुन् या सर्वसाधारण या पेशा ब्यवसायी हरेक मानिस आफैसँग इमान्दार हुन सक्यो भने धेरै कुरा आफै ठिक हुन्छ ।

हजारौँ वर्षअघिको बिदुरनीतिले समस्या भन्दा समाधानको बारेमा सोच भनेको छ । तर हामी प्रायः समस्यामै अल्झिरहन्छौँ । जसका कारण राष्ट्रको लामो समय खेर गयो, गइरहेको छ । नीतिले क्रोध, रिस र भोली गर्छु भनी टार्ने काम (समयको सम्मान नगर्ने) लाई मानिसको शत्रु भनेको छ । पछि गरुँला भनेर नटारिएका भए केपी ओली सरकारले सुरुमै निर्माण गर्छु भनेका उपत्यकाका तीन वटा शहरहरू अहिले आधा काम सकिएको अवस्थामा हुने थिए । यो सानो उदाहरण मात्रै हो, त्यस्ता गर्नुपर्ने र गर्न सकिने कुराहरू धेरै थिए । उहाँले आफूलाई प्राप्त अवसरको सदुपयोग र समयको सम्मान गर्न सक्नुभएन । बिदुर नीतिमा आफ्नो मित्रलाई त्यागेर शत्रुसँग मिल्नु महामुर्खता हो भनिएको छ । मानिसले गलत कामको मूल्य जीवनको कुनै न कुनै मोडमा चुकाउनुपर्ने हुन्छ ।

कतिपय अवस्थामा मानिस आफ्नै जिन्दगीको विरोधाभाषबाट गुज्रिरहेको हुन्छ । एउटा गर्ने चाहना हुन्छ अर्कै गर्नु परिरहेको हुन्छ । आफूले के सोचिएको हुन्छ, परिस्थितिले अर्कै मोडमा पुऱ्याइरहेको हुन्छ । कहिलेकाहीँ हामीलाई कुनै काम गर्दागर्दै म त यस्तो काम गर्न जन्मिएको होइन जस्तो लाग्छ तर गर्नु परिरहेको हुन्छ । यस्तो मान्छेसँग बस्न हुँदैन भन्ने लाग्छ तर बस्नु परिरहेको हुन्छ । कस्ता-कस्ता प्राज्ञिक परीक्षामा उपल्लो नम्बर ल्याएर पास भएका मानिसहरू जिन्दगीले लिने परीक्षामा अनुत्तीर्ण भएर निराश जीवन बाँचिरहेका हुन्छन् । हामी जुनसुकै सार्वजनिक पदमा पुगौँ या नितान्त ब्यक्तिगत जीवन बाँचौँ समयले पल-पलमा परीक्षा लिइरहेको हुन्छ । आफैसँगको परीक्षामा उत्तीर्ण हुन सक्नु जिन्दगीको ठुलो सफलता हो ।

अनेकौँ सैद्धान्तिक र ब्यवहारिक परीक्षा पास गरेर माथिल्लो स्थान हासिल गरेका मानिस पनि कतिपय अवस्थामा आफैसँग भने पराजित भइरहेका हुन्छन् । स्वास्थलाई हानी गर्ने चुरोट, रक्सी जस्ता आफैले सिर्जना गरेका लत छोड्ने कुरामा समेत मानिसहरू प्रायः असफल भइरहेका हुन्छन् । अनि तिनै मानिसले स्वस्थ जीवनको कुरा गर्नु परिरहेको हुन्छ । केही दिनअघि अरुलाई परामर्श दिने मानसिक स्वास्थ्यका एक युवा डाक्टरले आत्महत्या गरे । हरेक मानिसलाई आफ्नो स्वतन्त्रता प्रिय हुन्छ । उ कहाँ जान्छ, कसलाई भेट्छ, के गर्छ, कोसँग सङ्गत गर्छ जस्ता कुराहरूमा अरुले चासो नराखिदिउन् भन्ने लाग्छ । तर आफूचाहिँ पति, पत्नी या आफ्ना निकटवर्तीहरूसँग यिनै कुराको पछाडि लागिरहेको हुन्छ । यी सबै कुराहरू जिन्दगीका विरोधाभाष नै त हुन् ! -घटना र बिचारबाट