१ करोड २५ लाख खर्च भैसक्दा पनि सडकमै पोखरी,तानसेन नगरपालिका केन्द्र भागमा नै बाटोको दुर्दशा(फोटो/भिडीयो)

1599

तानसेन स्थित टक्सार घुम्ती-वनदेवी-ढुङ्गाखानी सडकमा लामो समय देखि सामान्य खाल्डा पुर्न नसक्दा सडक पोखरीमा परिणत हुन पुगेको छ।बजारको केन्द्र भाग तथा तानसेन-तमघास सडकखन्डको यस क्षेत्रमा  बाटो स्तरोन्नतिका लागि ठेक्का लागेको १४ महिना भैसक्दा पनि सामान्य काम हुन नसक्दा दिनहुँ यात्रु तथा स्थानीयले सास्ती भोग्न परेको छ।

तानसेन नगरपालिकाको तर्फ बाट करिब १ करोड ४८ लाख  तथा नेपाल सरकारको समपुरक अनुदान अन्तर्गत करिब १ करोड ४८ लाख गरि २ करोड ९७ लाख १८ हजार ३ सय ७६ रुपैयाँमा गुल्मीको श्री महादेव खिम्ति/श्रेष्ठ/अन्जना जे.भि. ले २ बर्ष भित्र सम्पन्न गर्ने गरि २०७७/०२/२१ मा स्तरोन्नति सम्बन्धि सम्झौता भएको थियो।

आयोजनाको मुखमा नै मर्मत सम्भारमा गरिएको उदासिनताले गर्दा जनताले सास्ती भोग्न बाध्य भएका छन।यद्यपि यस आयोजनामा हालसम्म १ करोड २५ लाख ५९ हजार ७३७ रुपैयाँ मोबिलाइजेसन सहित खर्च भैसकेको र ४०% भौतिक प्रगती भएको तानसेन नगरपालिकाले जनाएको छ।आयोजना अन्तर्गत बाटो बिस्तार पस्चात वाल निर्माण,नालि कटान तथा मर्मत सम्भार सहित कालोपत्रेको लागि ठेक्का सम्झौता भएको थियो।

जसमध्य बाटो बिस्तार भएको केहि स्थानमा नाली कटानको काम भएपनि सामान्य खाल्डो समेत पुरिएको छैन।दिनहु हजारौ यात्रीले प्रयोग गर्ने यो सडकको दुर्दशाले नगर भित्र हुने बिकाशका कामको ढिलासुस्तीलाइ नाङ्गो चित्रण गरेको छ।

तानसेन नगरपालिकालाई बारम्बार ताकेता गर्दा पनि नगरपालिकाको उचित अनुगमन नभएको र ठेकेदारको लापरबाहीले गर्दा सास्ती भोग्न बाध्य भएको स्थानीयले बताए।

स्थानीय तह अन्तर्गत हुने विभिन्न योजनाको उचित अनुगमन नहुदा हरेक आयोजना निर्धारित मितिमा सम्पन्न नहुने परम्परा रहिआएको छ।