१) अनुशासनको शब्दार्थ: सामाजिक ,नैतिक,धार्मिक,राजनीतिक आदि नियम नियमावलीको मर्यादा वा सो मर्यादा भित्र रहनु अनुशासन हो। (नेपाली बृहत शब्दकोष ,प्रकाशक: नेपाल प्रज्ञा – प्रतिष्ठान , २०७५ दशौ सङ्स्करण)

२)सङ्गठन र अनुशासनको अन्तर्सम्बन्ध: कम्युनिस्ट पार्टी र त्यसका जनबर्गीय सङ्गठनहरुलाई सन्चालन गर्ने साङ्गठनिक सिद्धान्तलाई जनवादी केन्द्रीयता भनिन्छ।केन्द्र देखि स्थानीय तह सम्मका सबै सङ्गठनहरु र ती सङ्गठनहरुमा आवद्ध सबै सदस्यहरुले जनवादी केन्द्रीयताको सिद्धान्तलाई पालना गर्नु साङ्गठनिक अनुशासन हो।यदि विभिन्न तहका सङ्गठन वा सङ्गठनका सदस्यहरुले अनुशसन पालना गरेनन भने सङ्गठन आफ्नो उद्देश्य तर्फ अगाडि बढ्न सक्दैन।

३)अनुशासनका पक्षहरु: क) राजनीतिक अनुशासन :सङ्गठनले राजनीतिक विषयमा गरेको निर्णय प्रति आफ्नो चित्त बुझे पनि वा नबुझे पनि त्यसलाई इमान्दारीपूर्बक कार्यान्वयन गर्नु राजनीतिक अनुशासन हो। ख) साङ्गठनिक अनुशासन : सङ्गठनले बनाएको नीति नियम भित्र रहनु साङ्गठनिक अनुशासन हो। ग) आर्थिक अनुशासन:सङ्गठनको हिसाब पारदर्शी राख्नु ,आर्थिक मामलामा सङ्गठन वा साथीहरुलाई ढाटछल नगर्नु आर्थिक अनुशासन हो। घ)सामाजिक वा नैतिक अनुशासन : संघ ,सङ्स्था ,सङ्गठनले तय गरेको मूल्य मान्यता वा समाजले निर्धारण गरेको नैतिक आचरणमा बस्नु सामजिक वा नैतिक अनुशासन हो।

४)अनुशासनको कार्बाही: हुन त अनुशासन भन्ने कुरा अरुले थोपर्ने भन्दा पनि आफैले मन जानी पालना गर्नु पर्ने कुरा हो।आत्म नियन्त्रण नै अनुशासन हो।आफैले आफैलाई नियन्त्रण गर्नु अनुशासन हो।सानो उदाहरणको कुरा गरौं ! बाटोमा हिड्दा हिड्दै बाटा छेउको घरमा रसिला सुन्तलाका गेडा फलेका रहेछन। घरमा मान्छे छैनन ।खाउखाउ लाग्यो। सुन्तला खान मन लागे पनि अर्काको बारीको सुन्तला घरमालिकलाई नसोधी खान सक्दैनौ।अर्काको बारीको चिज मालिकलाई नसोधी खानु हुन्न भन्ने सामाजिक नियमलाई ख्याल गरेर सुन्तला खान मन लागे पनि नखाइकन मनलाई नियन्त्रण गरेर अगाडि बढिन्छ।यो एउटा आत्म नियन्त्रण हो अर्थात सामाजिक अनुशासन वा नैतिक बन्धन हो। ठीक त्यसै गरि सङ्गठनमा आवद्ध भए पछि सङ्गठनले निर्धारण गरेका नियमहरुको परिधिमा बस्नु पर्दछ। सङ्गठनले निर्धारण गरेको नियम ,मूल्य मान्यतामा बस्न नसक्ने वा उल्लङ्घन गर्नेहरुलाई कार्बाही गर्ने ब्यबस्था पनि हरेक सङ्गठनमा गरिएको हुन्छ।कुनै गम्भीर गल्ती नभएमा अनुशासन उल्लङ्घन गर्नेलाइ सुरुमा सचेत बनाइन्छ,फेरि गल्ती गरेमा चेतावनी दिइन्छ र फेरि पनि सोही गल्ती दोहोराएमा निलम्बन गरिन्छ र सदस्यता वा पार्टीबाट निस्कासन सबै भन्दा कडा कार्बाही हो।

५)अनुशासन ,मतभेद र आग्रह /पूर्बाग्रह: एउटा जीवित पार्टीमा मतभेद रहिरहन्छ।मतभेदमा आग्रह ,पूर्वाग्रह,वदलाकोभावना जोड्न थाल्ने हो भने सानो मतभेद पनि ठूलो हुदै जान्छ।कहिलेकाही बढ्दै गएर मतभेद सम्हाल्नै नसक्ने ठाउँमा पनि पुग्न सक्दछ । लेनिनले भनेका छन त्यसरी मतभेदलाई आग्रह ,पूर्वाग्रह बाट सन्चालन गर्न थाल्ने हो भने मतभेद बढ्दै गएर पार्टी फुटको रुप पनि लिन सक्छ।(स्रोत:स्टालिन, लेनिनवादका आधारहरू )

६)अनुशासन र आलोचना /आत्मालोचना: आलोचना र आत्मालोचना साङ्गठनिक अनुशासनको नियम हो।अध्यात्मवादीहरुले गल्ती कमजोरीबाट छुटकारा पाउन इश्वर ,भगवान, देवता सित क्षमा माग्दछन। तर कम्युनिष्ट भौतिकवादीहरुले आफ्ना कमजोरीलाई आफ्नै समितिमा वा आफ्नै साथी सङ्गी सित माफी माग्नु पर्छ भन्ने हो। कमजोरी भएमा जनता सित पनि माफी माग्न तयार हुनु कम्युनिष्टहरुको अनुशासन हो। आफ्नो तरफ्दारी गर्ने ब्यक्तिले जतिसुकै गल्ती गरे पनि ढाकछोप गर्ने र लुकाउने प्रयास गर्ने।कार्बाही गर्नु परे पनि आफ्नो पक्षका मान्छेलाई पनि कार्बाही गरिन्छ भन्ने देखाउनका लागि मात्र कार्बाही गर्ने र मामूली कार्बाही मात्र गर्ने।तर आफुलाइ मन नपरेका ब्यतिहरुको खोजीखोजी आलोचना गर्ने ,आलोचना गर्ने चिज नभेटाएमा नक्कली कुरा उठान गरेर भए पनिआलोचन गर्नु ,पूर्बाग्रह राखेर आलोचना गर्नु आलोचना आत्मालोचनाको नियम वा जनवादीकेन्द्रीयताको सिद्धान्त बिपरित कार्य हो।।

७)नोकरशाही प्रवृत्ति र अराजक प्रवृति : लेनिनले लेखेकाछन,”केन्द्रीयता केवल कागजमा मात्र रहनु हुदैन ।वास्तविकरुपमा नै ब्यबहारमा लागू गरिनु पर्दछ।आम सदस्यहरुलेआफ्ना साझा कार्यकलाप र संघर्षबाट अधिकारहरुलाई प्राप्त गर्न आधारभूतरूपमा सक्षम शाधनका रुपमा अनुभव गरेको खण्डमा मात्र यो सफल हुन सम्भव छ।अन्यथा ,जनताका दृष्टिमा यो पार्टी भित्र नोकरशाहीकारुपमा देखा पर्नेछ।यसकारण,सबै किसिमको केन्द्रीयता प्रत्येक नेतृत्व र सबै किसिमको कडा अनुशासनका विरुद्ध यसले प्रतिरोधलाई उत्प्रेरित गर्ने सम्भावना रहन्छ।अराजकतावाद नोकरशाहीको विपरीत ध्रुव हो।”(स्रोत : लेनिन,सन १९२१ मा कम्युनिस्ट अन्तर्राष्ट्रिय अर्थात कम्युन्टर्नको तेर्सो अन्तर्राष्ट्रिय महाधिवेशनमा प्रस्तुत प्रस्ताब)यसबाट लेनिनले के भन्न खोजेका छन भने केन्द्रीयता भनेको साझा कार्य र अधिकार प्राप्तिको संघर्षमा सक्षम साधन हो भन्ने सबैलाई महसुस भएमा मात्र त्यो केन्द्रीयता सफल हुन्छ ,अन्यथा त्यो नोकरशाहीतन्त्र ठरिन्छ।केन्द्रीयताको नाममा नोकरशाहीतन्त्रको अभ्यास गरियो भने त्यसले प्रतिरोध जन्माउछ,अराजकता जन्माउछ।जसरी राजनीतिमा दमनले प्रतिरोध जन्माउछ त्यसरी नै सङ्गठनमा पनि नोकरशाहीतन्त्रले प्रतिरोध निम्त्याउछ ,अराजकता निम्त्याउछ।नोकरशाहीतन्त्र र अराजकता एकाअर्काका विरोधी पक्ष हुन। सङ्गठन सन्चालनको जिम्मेवारीमा रहेकाहरुले केन्द्रीयता लागू गर्ने बेलामा जनवादको जगमा निर्माण भएको केन्द्रीयता लागू गर्नु पर्छ।आफुलाइ मनमा जे लाग्छ वा आफ्नो ब्यक्तिगत स्वार्थका लागि जे गर्दा उपयुक्त हुन्छ त्यसलाई नै केन्द्रीयता भन्न थाल्ने हो भने त्यसले सङ्गठनमा अबश्य पनि अराजकता निम्त्याउने छ।त्यो स्थितिआउन नदिन सङ्गठनको जिम्मेवारीमा बस्नेहरुले ध्यान दिनु पर्दछ।

८) अनुशासन र उद्देश्य: समाजमा मानिसहरु किन अनुशासित हुनु पर्छ? समाजको सुब्यबस्थाको लागि।एउटा शिक्षकले विद्यार्थीहरुको राम्रो रिजल्ट आवस भनेर अनुशासित हुन्छ।एउटा विद्यार्थी राम्रो नम्बर लिएर पास हुने उद्देश्य राखेर आनुशासित बन्छ। बेलैमा स्कूल जान्छ । सर ,मिस मेमहरुले दिएको होमर्क समयमै गर्छ आदि आदि। त्यसरी अनुशासन भन्ने चिज उद्देश्य सङ्ग जोडिएको हुन्छ।सङ्गठनमा मानिसहरु किन अनुशासित बन्नु पर्छ? किनभने हरेक सङ्गठनले आआफ्ना उद्देश्य बोकेको हुन्छ। त्यो उद्देश्य पूरा गर्नका लागि सङ्गठनका सदस्यहरू अनुशसित बन्नुपर्दछ।सङ्गठनको उद्देश्य सही छ भन्ने लागेर नै सङ्गठनका सदस्यहरू अनुशासित बनेका हुन्छन।

९) अनुशासन र षड्यन्त्र : मैले सुनेको थिए कि एक पटक निर्मल लामा बैठक सकेर बुटवल तिरबाट फर्किएर चितवन खम्बा सिङ्ह कुवरको घरमा बास बसेछन।बेलुकी लामाले मदिरापान गरेछन। त्यहाँ केही कार्यकर्ता जम्मा भएछन।पार्टीका कुरा भएछन।केही कार्यकर्ताले मोहनबिक्रम सिङ्हको बिरोध गरेछन। लामाले उनीहरुकै कुरामा हो मा हो मिलाएर फटाफट मोहन बिक्रम सिङ्हको बिरोध गरेछन ।पार्टी भित्रको गोप्य कुरा खोलेछन।कार्यकर्ताहरुले लामाका सबै कुरा गोप्यरुपमा नोट गरेछन र पार्टी केन्द्रमा मुद्दा हालेछन। त्यहा केही कार्यकर्ताहरुले मोहन बिक्रमको बिरोध लामालाई फसाउनका लागि गरेका थिए। भक्तबहादुर श्रेष्ठ त्यतिबेला पार्टीका महामन्त्री थिए। २०४० सालको बैशाखमा सम्पन्न पार्टीको २५ औं बैठकमा भक्तबहादुर श्रेष्ठले ७ पृष्ठ लामो निर्मल लामा बिरुद्ध चार्ज सिट पेश गरेका थिए। त्यही बैठकबाट लामालाई पार्टी सदस्य मात्र रहने गरी सबै जिम्मेवारीबाट हटाइएको थियो र केवल सेल कमिटीमा राखिएको थियो।स्मरणीय कुरा केछ भने पार्टी केन्द्रीय सदस्य मोहनबिक्रम सिङ्हलाई लामाको त्यो कार्बाही हुनु भन्दा दुई महिना पहिले २०३९ फागुनको २४ औ बैठकमा एउटी स्त्री माथि अनैतिक व्यवहार गरेको भनेर आयोगको रिपोर्टको हवाला दिदै पार्टीका सम्पूर्ण जिम्मेवारीबाट हटाई केवल पार्टी सदस्य रहने गरि सेल कमिटीमा राखिएको थियो। २०४१ मङ्सिरको पाँचौ महाधिबेसनमा त्यो कुरा उठाइएको थियो।सिङ्हका पक्षधरले एक पल्ट कार्बाही गरि टुङ्गीएको बिषय फेरि उठाउन पाइदैन भनेका थिए।पार्टी फुट पछि मसालको २०४२ चैत्रको चौथो राष्ट्रिय समेलनले २०३९ मा मोहन बिक्रम सिङ्हमाथि लगाइएको आरोप निराधार र गलत थियो भनेर पारित गरेको थियो।मोहन बिक्रम र लामा माथि लगाईएका आरोपहरु के कति सत्य थिए र कार्बाहीहरु के कति औचित्यपूर्ण थिए भन्ने कुरा अध्ययन गर्दै जादा अझ थप स्पष्ट हुँदै जाला।अहिले पछि फर्केर हेर्दा मलाई के लाग्दछ भने एक पछि अर्को आरोपका श्रृङ्खलाहरु र एक पछि अर्को नेताहरुलाई कार्बाहीको श्रृङखलामा एकले अर्कोलाई सिद्ध्याउने षडयन्त्र पनि लुकेको थियो।षड्यन्त्रको जालो बुनेर वा कुनै नक्कली मुद्दा खडा गरेर पार्टी भित्रको एउटा कामरेडले अर्को कामरेडलाई कार्बाही गर्दा सफलताको आनन्द मिल्न सक्छ।तर त्यो समग्र कम्युनिष्ट आन्दोलनलाई क्षति भैरहेको हुन्छ।एक क्षणको सफलताको आनन्द कति महङ्गो हुन्छ भन्ने कुरा समय बित्दै जादा परिणामहरुले देखाउदै जान्छन। अनुशासनरुपी खोलमा बेरिएको धारिलो,बिषालु षड्यन्त्ररुपी तरवार चलाएर पार्टीमा मन नपरेका मान्छेलाई फडानी गर्नु जनबादी केन्द्रीयताको सिद्धान्त सित कही कतै मेल खाने कुरा हैन।जनबादी केन्द्रीयता सम्बन्धी मार्क्सवादी रचनाहरुमा आलोचना गर्दा वा कार्बाही गर्दा साथीलाई सुधार्ने मनसाय राख्नु पर्छ भनिन्छ। तर मार्क्सवादी साहित्य र रचनाहरुमा अनुशासनको खोल भित्र गरिएका षडयन्त्रको बारेमा कम चर्चा गरिएका छन ।यसको सैद्धान्तिक बिबेचनाको जरुरी छ।

१०)अन्तर्पार्टी एकता सम्बन्धी द्वन्द्वात्मक तरिका: अन्तरपार्टी एकता सम्बन्धी माओले लेखेका छन् ,” मेरो विचारमा, ऊ शत्रु तत्व वा अन्तरध्वङ्सकारी होइन भने हरेक कमरेड प्रतिको हाम्रो प्रवृत्ति एकताको प्रवृत्ति हुनु पर्दछ, चाहे ऊ जो सुकै किन नहोस् ।हामीले उस प्रति अदिभूतवादी तरिका नअंगाली द्वन्द्वात्मक तरिका अङ्गाल्नु पर्दछ। द्वन्द्वात्मक तरिका भनेको केहो? हरेक कुरालाई बिश्लेशणात्मक दृष्टिले हेर्नू ,सबै मानिसले गल्ती गर्छन भन्ने कुरा स्वीकार गर्नु र गल्ती गर्यो भन्दैमा मानिसलाई पूर्णरुपले नकार्ने काम नगर्नु नै द्वन्द्वात्मक तरिका हो।”(स्रोत : माओ,अन्तरपार्टी एकरा सम्बन्धी द्वन्द्वात्मक तरिका)

११)आखिरी कुरा: स्टालिनले लेखेका छन,”फलामे अनुशासन स्थापनाका लागि पार्टी भित्र आलोचना र विचार द्वन्द्वका लागि ठाउँ हुनु आवश्यक छ।उनी अगाडि लेख्छन् ,”अन्धो अनुशासन हैन सचेत अनुशासन चाहिन्छ”।

१२) राजनीति जहिले पनि सङ्गठन र अनुशासन भन्दा माथि हुन्छ।एउटा सही राजनीतिलाई लागुगर्ने सम्यन्त्र र माध्यमका रुपमा सङ्गठनको आबश्यकता पर्दछ। र त्यो सङठनलाई ब्यबस्थितरुपमा चलाउन साङ्गठनिक अनुशासन चाहिन्छ।(स्रोत : स्टालिन ,लेनिनवदका आधारहरु)