राजधानीको बसुन्धरास्थित नेपाल वैदेशिक रोजगार व्यवसायी महासंघका अध्यक्ष रोहन गुरूङको घरको आगलागी भएको छ।

आगलागीबाट तीन तले घरको पहिलो तलामा क्षति पुगेको छ भने पार्किङ गरी राखिएको उनको ल्याण्ड क्रुजर गाडी पनि जलेको छ। आगलागी कसरी भयो भन्ने विषय भने एकिन भइसकेको छैन।

घटनास्थलमा पुगेको प्रहरीले ग्यास सिलिन्डर बिस्फोट भएर आगलागी भएको हुनसक्ने बताएको छ। ‘टोलभरि सुनिने गरी केही बिस्फोट भएको भन्ने छ। तर बम हो कि ग्यास प्रहरीले अनुसन्धान गरिरहेको छ,’ मेट्रोका डिआइजी शैलेश थापा क्षेत्रीले भने।

बिस्फोटबाट गुरूङको घरमा रहेको सटर भाडा लिएर बस्ने मणिराम पौडले घाइते भएका छन् । उनको टाउकोमा चोट लागेको छ। उनलाई उपचारका लागि अस्पताल लगिएको छ ।