—अनिलकिशोर घिमिरे

बैशाख २ गते दिउँसो देखि हल्का घाँटी दुख्न थाल्यो । साँझपख त ज्यानै दुख्यो । बेलुकी नजिकैको लुम्बिनी तन्दुरी मा रोटि खाँए । कोठामा आएर तातोपानी को बाफ लिएँ अनि ज्वानो,बेसार पकाएर खाएँ । ज्यान पुरै कमजोर भएको महसुस भएको थियो । राती निद्रा लागेन,बरु ज्वोरो समेत आएर छट्पटी भयो । बागबजार को गल्ली न हो, कोठाको दुबैतिर झ्याल भएपनी हावा छिर्दैन। जसोतसो रात बित्यो । अर्को दिन बिहान यसो मेडिकल तिर गएर सल्लाह लिनुपर्यो भन्दै निस्किएको थिए । नारायण आचार्य जि भेटिनुभयो । उहाँलाई पनि धेरै गार्हो भएको र बागबजार को एउटा मेडिकल ले दिएको औसधि खाएपछी निको भएको कुरा सुनाउनु भयो । म त्यतै हानिएँ । मेडिकलमा प्रारम्भिक चेकजाँच गरेपछी अहिले व्यापक भएको भाइरल हो,कोभिड चेक गराउनुभयो भने पोजेटिभ देखाइहाल्छ । यो औषधि खानुभयो भने ३÷४ दिनमा ठिक हुन्छ भन्ने सल्लाह पाइयो ।
त्यतिबेला सम्म हल्का खोकी पनि लागिसकेको थियो । कोठामा खाना पकाउने अवस्था समेत भएन । बाहिरै खाना खाएर कोठामा गएर आराम गरें । औषधी खाएर आराम गरेपछी शरीर धेरै हल्का भयो। राती पनि ज्वोरो आएन। निद्रा पनि लाग्यो। ज्यान हल्का भएपनी सुख्खा खोकी लागिरहेकोले कोभिड भएको भए त त्यही अनुसार सुरक्षाको मापदण्ड अपनाउनु पर्छ भनेर टेकु स्थित केन्द्रिय प्रयोगशालामा चेकजाँच गराए। दिउँसो नै मोबाईल मा पोजेटिभ भएको म्यासेज बज्यो। बागबजार को भिडभाड ,एक्लै बजार जाउ आउ, धेरैजनाले प्रयोग गर्ने एउटै ट्वाइलेट,घरबेटी लगाएतको दबाब आदि तनाब झेल्नु भन्दा घरमा गएर परिवारको सहयोग सहित आइसोलेसनमा बस्दा उपयुक्त हुने ठानेर बेलुकी नै एउटा गाडी संग सल्लाह गरि पाल्पा गए ।
रातीको चिसो हावाले अलि असर गरेछ । खोकिको मात्रा बढ्दै गयो । त्यतिबेला सम्म ज्वोरो सन्चो भैसकेको थियो । टाउको दुख्ने,आखा दुख्ने,शरीर दुख्ने समेत निको भएको थियो । एकपटक छातीको एक्सरे गराउनु पर्यो भनेर श्रीमतीलाई जिल्ला स्थित सरकारी अस्पतालमा सोध्न पठाए । त्यहाँ का कर्मचारीले कोभिड बिरामीको एक्सरे हुन्न भनेर पठाइदेछ्न। रिस त सार्है उठ्यो । सरकारले,सरकारी पार्टीका नेताहरूले दिनदिनै कोभिड उपचारका सम्बन्धमा यो गर्यौ ,त्यो गर्यौ भनेर भाषण गरेको गरै छन् । तर जिल्लाकै सरकारी अस्पतालको त्यो अवस्था देखेर सरकार प्रती घृणा जागेर आयो । आफू कोभिड पोजेटिभ भएकोले बाहिर यत्तिकै निस्कने वा अरु केही गर्न सक्ने अवस्था थिएन । ज्यान फेरि गल्दै गयो । स्वासप्रस्वास मा समस्या आउदै गयो। सुख्खा खोकी लामो समयसम्म आउन लाग्यो। छाती दुख्न लाग्यो। अक्सिजन को मात्रा घट्दै गयो । घरमा बसेर मात्र हुन्न ,अब अस्पताल जानुपर्ने सबैको सल्लाह अनुसार लुम्बिनी मेडिकल कलेज मा भर्ना भएर उपचार गर्नेगरी गैयो। त्यहाँ आवश्यकता अनुसार बेडको उपलब्धता हुनेगरि प्रशासन संग कुरा गरि गैएको थियो । इमर्जेन्सी रुपमा गएको बिरामीलाई समेत कर्मचारीले गरेको व्यबहार हेर्दा एकमिनेट पनि त्यहाँ बस्दा ज्यान जोखिममा पर्ने महसुस भयो। डक्टर हुन् या नर्स हुन् वा अरु कोहि । उनिहरुले ढोका बाहिर बाटै अक्सिमिटर फालिदिएर कुरुवा लाई अक्सिजन हेर्न लगाउने ,प्रेसर जाच्ने साधन बाहिर बाटै फाल्दिने र हेर्न लगाउने गर्न थाले। बिचरा कुरुवा ले के जानेको हुन्छ र हेरेर रिपोर्ट भन्छ ? त्यस्तो गैरजिम्मेवारी देखेर प्रशासन मा फोन गरि भन्दा हामी भनेका छौं डाक्टर आइहाल्नुहुन्छ भन्ने उत्तर आउँछ तर डाक्टर आउदैनन । करिब एकघण्टा यस्तै गरि बित्यो। अरु बिरामीहरुलाइ पनि उस्तै व्यबहार थियो ।

हेर्दाहेर्दै एकजना अक्सिजन छुटाउन नमिल्ने गरि अक्सिजन सहित बुटवलमा बेड नपाएर एम्बुलेन्समा कपिलवस्तु घर भएका बिरामी आए । ति बिरामीलाई अक्सिजन लगाइदिन समेत स्टाफ नआएर ढोकाबाटै पाइप फालिदिएको र बिचरा कुरुवा आएकी बुढि आमालाई पाइप लगाइदिन भनेको दृश्यले अस्पतालमा मान्छे एकाएक मर्ने त यसरी पो हो कि भन्ने मनमा खेल्न थाल्यो । म अलि सामाजिक क्षेत्रमा काम गरेको र अस्पताल प्रशासन संग सिधा पहुँच राख्ने मान्छेलाई समेत त यो व्यबहार भयो भने अरु साधारण मान्छेको अवस्था के भएको होला । सहजै अनुमान लगाउन सकिन्छ । त्यो दृश्य हेर्दाहेर्दै उक्त अस्पताल मा भर्ना भएर बस्ने कुरा त भएन । तर पनि एउटा छाती को सिटि स्क्यान वा साधारण एक्सरे समेत गरेर घर जान पाए त्यही अनुसार औषधि चलाउन सकिन्थ्यो भनेर आग्रह गरियो। तर बिरामीको भर्ना गरेर २५ हजार डिपोजिट नराखिकन एक्सरे पनि गर्न सकिन्न,यो यहाँको सिस्टम हो भन्दै जवाफ आयो ।यसरी अस्पताल चलाएको नाममा मानव स्वास्थ्य माथि खेलवाड गर्ने र चर्को रकम असुल्ने अपराधी हरुको बारेमा आफू सन्चो भएपछी खबरदारी गर्ने अठोटका साथ घरमै जाने र अरु ठाउँ मा उपचारको विकल्प खोज्ने गरि त्यहाँ बाट घर फर्कियौ । लुम्बिनी मेडिकल कलेज परिवार संग मेरो अत्यन्तै नजिकको सम्बन्ध छ । केहि बर्ष अगाडी मेरै बुवालाई एक महिनाजति त्यहिँ भर्ना गरेर सन्चो गराइ निकालिएको थियो । कैयौं बिरामीहरुलाइ मैले नै लगेर उपचार गराइएको छ । म र मेरो परिवार पनि अन्य समयमा नियमित उपचार गराउन त्यहिँ जान्छौं । तर यसपटकको ब्यवहार साच्चै निन्दनिय थियो ।
त्यतिबेला सम्म अक्सिजनको मात्रा एकदम घटेको थिएन तर श्वास फेर्न गार्हो हुँदै थियो । खोकी झन् बढ्दै गएको थियो। अर्को दिन तानसेन कै मिसन अस्पतालमा जाने सल्लाह भयो। एकजना कर्मचारी को सहयोगमा बेड त पाइयो तर भर्ना हुनको लागि धेरै दबाब दिनुपर्यो । एक्सरे र अन्य सामान्य ल्याब रिपोर्ट हेरेपछी डाक्टरबाट न्युमोनिया भएको र जतिबेला पनि आइसियु वा भेन्टिलेटरमा राख्नुपर्ने अवस्था हुन सक्छ ,भेन्टिलेटर चाहिने अवस्थामा हामी संग उपलब्ध छैन, एक्कासि अरु ठाउँमा जानुपर्ने हुन सक्छ, आफै बिचार गर्नु भन्ने सल्लाह आयो। एक त अस्पताले धेरै दबाब पछि मात्र भर्ना लिएको अर्कोतिर यस्तो सल्लाह दिएपछि सामान्य उपचारले हुदैन ,छिटो काठमाडौं जानुपर्छ भन्ने निर्णयमा पुगियो ।
काठमाडौंमा पार्टीका साथीहरूले अस्पताल तिर बुझ्दा ठुला र राम्रा भनिने ग्रान्डी,मेडिसिटी,ह्याम्स लगाएत कुनै अस्पतालमा बेड खाली छैनन् भन्ने खबर आयो । चितवनमा बेड पाउन सक्ने र पछि खाली हुदा साथ काठमाडौं जान सजिलो हुने गरि सल्लाह भएछ। तर मेरो मनले चितवन जान मानेन । पहिले पहिले धेरै बिरामीलाई भर्ना गर्ने, परिवारलाई धेरै कुराको जानकारी नदिने, पैसा असुल्न समेत असुलेर अन्तिम अवस्था भएपछी अर्को ठाउँ रिफर गर्ने वा घर पठाउने गरेका थुप्रै उदाहरण छन् चितवनका अस्पतालहरुमा। त्यही सम्झेर पोखरा तिर फोन लगाए । केही समय अगाडी बाग्लुङ बरेङ का पालिका अध्यक्ष मेरो मित्र कृष्ण पौडेल पनि मेरो जस्तै केसमा उपचार गराएर निको भएको अस्पताल थियो पोखरामा । बिक्रम जि र आकाश जि लाई सम्पर्क गर्दा त्यहाँ बेडको ब्यबस्था हुने भयो । साथीहरू को सिधा सहयोग हुन सक्ने र सम्पर्क भएको अस्पताल भएपछि अझै राम्रो हुने भयो । राती नै पोखरा जान को लागि एम्बुलेन्स खोज्दा अक्सिजन सहितको एम्बुलेन्स पाउनै गार्हो। बल्लतल्ल एम्बुलेन्स को ब्यबस्था भयो। मिसन अस्पतालबाट बाहिर निस्कदा अँध्यारो भैसकेको थियो। नाकमा अक्सिजनको पाइप लगाएर एम्बुलेन्स मा बस्दा एकाएक सन्नाटा छाएको थियो। कहिल्यै मम्मी वा बाबाको साथ नछोडेको ८ बर्ष को छोरो अनिस मनिलो अनुहार लिएर साली सन्जु संग घर फर्कियो।
राती नै पोखरा मेडिप्लस अस्पतालमा पुगियो । अस्पतालको गेटमै साथीहरू बिक्रम र आकाश त हुनुन्थ्यो नै । आफ्नै साथीहरू ले पर्खेजस्तै गेटमै बसेका डाक्टर र नर्सहरुले समेत बाहिरै अक्सिजन सिलिन्डर ल्याएर मलाइ अडाएर ससम्मान भित्र लगे । मुख्य डाक्टर सरोज ले मेरो प्रारम्भिक अवस्था बारे जानकारी लिए र तत्काल गर्नुपर्ने कामबारे नर्सलाई अर्हाएर गए । अर्को दिन सम्म मलाइ सामान्य अक्सिजन मै राखियो । सिटि स्क्यान गरेपछिको रिपोर्ट हेरेपछि डाक्टर अलि आत्तिएजस्तो गरे र आइसियु मा सार्न लगाए। रिपोर्ट बारे बुझ्न खोज्दा सामान्य अवस्था त होइन तर पनि एकदुई दिन छिटो आउनुभएको छ ,हामी प्रयास गर्छौ भन्दै थिए । फोक्सोको एक तिहाइ भागमा असर भइसकेको रहेछ । डाक्टर को उक्त कुरा सुन्दा झल्यासै पाल्पा अस्पताल ले एक्सरे नगरिदिएको र मेडिकल कलेजले बिरामीको अवस्था माथी खेलवाड गरेको दृश्य सम्भंmे । ती अस्पतालले समयमै उपचार र छातिको एक्सरे गरेर हेरिदिएको भए न्युमोनियाले यो अवस्थामा बिकास गर्ने थिएन। तत्काल उपचार गर्न सकिन्थ्यो। अझै केही दिन त्यतै अलमलिएको भए स्थिति खतरापूर्ण रहेछ । झन्न समयमै ठिक निर्णय गरिएछ ।


डाक्टरले तत्काल हाइफ्लो अक्सिजन मा राख्न लगाए । कोभिड आइसियु मा सबैजसो बिरामी सिरियस भएरै ल्याइन्थ्यो । अझ हाइ फ्लो अक्सिजन सामान्य अवस्थामा लगाइदैन । यता देशभर बाट मेरो स्वास्थ्यको बारे चिन्ता गर्दै फोनका घण्टी बजेको बज्यै हुन्थे। मलाइ कुरा गर्न समेत गार्हो भैसकेको थियो । श्रीमतिले एउटा फोनमा कुरा गर्दा ५ वटा मिसकल का म्यासेज बज्थे। उनले कुनै कसर बाकी नराखी मेरो स्याहार गर्दै गइन। बिक्रम जि ले बिहानमा प्रत्येक दिन मेरो लागि विभिन्न सुप सहित खाना ल्याइदिइ भेट्न आउनुहुन्थ्यो । आकाश जि ले आफ्नो ड्युटी कै बिचमा समेत आएर सान्त्वना दिनुहुन्थ्यो। भिमसेन जि लगाएतका संगठनका साथीहरुको सहयोगले आँट दिन्थ्यो । सन्तोष ज्वाइसाब केहिदिन अस्पतालमै बसेर आर्थिक लगाएतको बाहिरी ब्यवस्थापन मिलाइदिनुभयो । बुवाआमा लगाएत आफन्तजनहरु र धेरै साथीहरु लकडाउन र कोरोना कहरको कारण चाहेर पनि भेट्न जान सक्नुभएन ।धेरैले सामाजिक संजाल बाटै स्वास्थ्यलाभको कामना गर्नुभयो । पछि त कुरुवा कक्षबाटै मेरो मोबाइल चोरि भएछ । त्यसबाट मेरा धेरै सम्पर्कहरु हराए ।
साथिहरुले अरु कुरा केही नसोच्नुहोस,आफूलाई मात्र केन्द्रमा राखेर आफू सन्चो हुने मात्र सोच्नुस भनेर सल्लाह दिनुन्थ्यो। संगठनका साथीहरू बिचबिचमा आएर सहानुभुती प्रकट गर्नुहुन्थ्यो । मेरो बेडका छेउछाउँमा बिरामीहरु छट्पटिरहेका हुन्थे । कतिपयको त मृत्यु भइसकेको हुन्थ्यो । प्लाष्टिकले बेरेर सुतिरहेको मान्छे उठाएर बाहिर लगेको देख्दा मन आत्तिए जस्तो हुन्थ्यो । भर्खर बोलिरहने मान्छे कसरि मर्यो होला भन्ने लाग्थ्यो । म भन्दा टाठा मान्छेहरु समेत एकाएक मरिरहेका थिए ।आइसियुका सबै बेडहरु मृत्यु शैया पो हन् कि भन्ने हुन्थ्यो । तर मलाई जसरि नै बाँच्नु थियो । मृत्युशैयाबाट जसरि पनि जनरल बेडमा सर्नु थियो । म कठोर बन्थें र मनलाई सम्हाल्थे ।
फार्मेसीबाट प्रत्येक दिन श्रीमतिले एक झोला औषधि लिएर आउथिन । त्यो मेरै शरीरमा राखेर सकिन्थ्यो । औषधि को कारण रगत बाक्लो भएर साइड इफेक्ट हुने डरले रगत पातलो बनाउनको लागि भन्दै सायद १९ दिनमा १९ वटै सुइ पेटमा धसिएहोलान । हातमा सुइ खोपिएका दर्जनौ दाग हरु मेटिन त केही समय लाग्ला । कोभिड छिटो निको बनाउनको लागि भन्दै दिइएको ६ डोजको रेम्डिसिभेर औसधिले त पखाला नै लगायो । मेरो अध्ययन अनुसार उक्त औषधी अन्य रोगको लागी दिने गरिन्थ्यो ।अहिले कोभिडमा प्रयोग गर्ने गरिएको छ । तर पनि डक्टरले भनेका सबै कुराहरु इमान्दारिताका साथ पालन गरें । यता साथीहरू ले अनुभबको आधारमा औषधि अनुसार खानाको डाइट पेल्नुपर्छ भनिरहन्थे । डाक्टरले पनि प्रत्येक दिन खानाको रुचि बढाउने र आधा निको हुने आफै हो भन्दै सम्झाउथे। मैले खाना खानलाइ शुरुको २÷३ दिन बाहेक जोड गरिरहे । मैले छिटो रिकभर हुन जे गर्नुपर्छ त्यसमा कमि हुन दिनु हुदैन भन्ने सोच राखे ।अरु बाहिरी दुनियामा के भएको छ ,कतिजना कोभिडका बिरामी थपिए वा कतिको मृत्यु भयो। या राजनीतिक अवस्था के कसो छ ?त्यसबारे कुनै चासो दिइन । प्राय निद्रा लाग्ने थिएन । कति कति बेला निद्रा लाग्दो रहेछ । निद्राबाट ब्युझदा दिउसो हो वा राती हो अड्कल गर्न गाह्रो पर्दथ्यो ।मेरो लागी दिन रात उस्तै हुन्थ्यो । निदाएको बेला नाकमा लगाइएको अक्सिजनको पाइप निस्केर खतरा पो हुने हो कि भन्ने डर लाग्थ्यो । टाउको माथि राखिएको स्क्रिनमा पटक पटक अक्सिजनको मात्रा हेरिरहन्थें । कहिलेकाहिं ९० भन्दा कम देखाउदा डर लाग्थ्यो ,अनि घोप्टो परेर सुत्थें । फेरि बढ्दै जादाँ ढुक्क हुन्थें । खर्च महङ्गो लाग्छ त्यो अस्पतालमा भन्ने पहिले नै सुनेको थिए। तर पहिले ज्यान ठूलो हो । बाचेपछी केहि गरिन्छ भनेर त्यता ध्यान केन्द्रित गरिन । पछि डिस्चार्ज हुदा सुन्दै थिए , सोचेको भन्दा धेरै बढी खर्च लागेछ ।


पछि शरीर ले घण्टा घण्टा मा भोक लाग्ने र खाना माग्न थाल्यो।कोभिड न्युमोनिया र त्यसलाई निको पार्ने हाइ डोजको न्युमोनियाको औषधि र हाइ फ्लो को अक्सिजन ले ज्यान थिलोथिलो पारेको थियो।१६ गतेको रिपोर्टमानै कोभिड नेगेटिभ आइसकेको थियो । तर पनि न्युमोनिया अलि खतराको बिन्दुमा पुगेकोले उपचार त्यही अनुसार गर्नुपथ्र्याे ।शुरुका दिनमा प्रत्येक आधा घण्टाको बिचमा मुख सुकेर पानी खाने मन लाग्थ्यो। श्रीमतिले त सायद कुनै दिन सुत्न पाइनन् । कुनै बेला नर्स लाई त कुनै बेला श्रीमतिलाइ बोलाउथे । आइसियु मा भित्र बस्न,सुत्न नपाएपनी आवश्यकता अनुसार कुरुवा लाई भित्र पस्न दिइन्थ्यो । प्राय दिशा पिसाब गराउन नर्स संग अफ्ट्यारो लागेर श्रीमतिलाइ नै बोलाउथे। कतिपय बेला बाहिर कुर्सिमै निदाएर बोलाउदा पनि श्रीमतिले नसुन्दा नर्सलाई वा सहयोगीलाई नै बोलाइ अफ्ट्यारो मानिमानी दिशा पिसाब गर्थे ।


अक्सिजन सिलिन्डर आफैमा धेरै वजनको हुन्छ । बिचरा नर्स हरुले जसरी नि बिरामीको स्याहार गर्नुपर्छ भन्दै सिलिन्डर बोकेरै ,बिरामी लाई अड्याउदै ट्वाइलेट सम्म पुग्थे र एकछिन कुरेर सिलिन्डर बोकेर बेड सम्म ल्याइदिन्थे। बिजुली गएर हाइफ्लो बन्द हुदा साथ जहाँ भएपनी बिजुलिकै गतिमा बिरामी भएको ठाउँ आएर हतार हतार सिलिन्डर बाट अक्सिजन लगाइदिदाको दृश्यले अत्यन्तै खुशी लाग्थ्यो। यिनिहरु(नर्स) ले हामीलाई यत्तिकै मर्न दिदैनन भन्ने लाग्थ्यो। उनीहरुको त्यो हतार आफ्नै दाजुभाइ सम्झेर हामी प्रती गरेको कर्तव्य हो। यो लगाव धेरै कम ठाउँमा मात्र देख्न पाइन्छ । अक्सिजन सकिदा वा बिजुली गएर बन्दहुदा भएको त्यो दौडधुपलाइ जति सम्मान गरे पनि कम हुन्छ । त्यहाँ कोभिड लागेको र अन्य बिरामी भन्ने कुनै फरक ब्यवहार गरिने थिएन। सायद नर्सहरुको त्यही बिरामी प्रतिको लगाब ले ,त्यही सहानुभूति ले नै केही हौसला बढाउथ्यो। डाक्टर सरोजको मिजासिलो प्रस्तुतिले बाच्ने आधार प्रदान गर्थ्यो । कोभिड नेगेटिभ आएपनी अन्य आइसियुमा बेड खाली नभएर कोभिड आइसियु मै धेरै दिन बस्नुप¥यो ।

आइसियु वार्ड मा भेन्टिलेटर समेत नजिकै थियो। प्रत्येक दिनजसो बिरामी हरु ढलिरहेका देखिन्थे। आखिर मान्छेको जिन्दगी के नै छ र भन्ने हुन्थ्यो। तर आफुलाइ जसरी नि सम्हाल्नुपर्थ्यो र फेरि जीवन बाचेर समाजमा केही योगदान गर्नुपर्छ भन्ने लाग्थ्यो। आफुलाइ सम्हाल्दै गए। कठोर बनाउदै गए। सायद मुटु कमजोर भएको वा धेरै तनाब लिने मान्छे त्यो नियमित दृश्य हेर्दाहेर्दै हर्टएट्याक भएरै मर्ने सम्भावना हुन्छ। कतिपय रिकभर हुन लागेका बिरामी त्यसरि नि मरेका उदाहरण प्रसस्त छन् । १७ दिनको आइसियु बसाइ र २ दिनको जनरल वार्ड मा बसेपछी अक्सिजन बिना हल्का अडिन , हिड्न थालें । खोकी सन्चो भयो । नर्मल एक्सरेमा सुधार भएको देखियो । १० दिन जतिको लागि औषधि लिएर मेडिप्लस अस्पताल बाट डिस्चार्ज भए । मेरो सालाहरु लक्ष्मण र सुदिप गाडी लिएर गएका थिए । बैशाख ३१ गते १९ दिन पछि घर फर्कियौं । अन्त्यमा मेरो उपचारमा संलग्न चिकित्सक ,नर्स लगाएत अस्पताल परिवार , नियमित हौसला प्रदान गर्ने साथीहरु,पार्टी नेतृत्व आफन्तजनहरु तथा स्वास्थ्यलाभको कामना गर्ने सबैप्रति हार्दिक आभार ब्यक्त गर्दछु ।