रामबहादुर वुढा

जेष्ठ २१ गते मन्त्री नियुक्त हुदा बित्तिकै राजेन्द्र महतोले आफू बहुराष्ट्रिय राज्यको अभियानमा रहेको बताए।उनको यो अभिव्यक्तिको सर्बत्र बिरोध भैरहेको छ। समर्थनको आवाज पनि सुनिन्छ।समर्थन गर्नेहरुको भनाई छ कि बहुराष्ट्रिय राज्यको अवधारणाले देशको राष्ट्रियता सुदृढ हुन्छ। नेपाललाई बहुराष्ट्रिय राज्य मान्नु हुदैन भन्नेहरुले यो अवधारणालाई राष्ट्र बिखण्डनको नारा भनेकाछन।सरकारमा बस्ने मन्त्रीले संविधान बिरोधी अभिव्यक्ति दिन पाइदैन भनेका छन।

समाजशास्त्रीय दृष्टिकोणबाट राष्ट्र (नेशन) भनेको मानव समूहको विकसित रुप हो। सामन्तवादको उन्मूलन हुँदै पुजीवादको विकासका क्रममा फरक फरक नस्ल , जातीय समुदाय ,भाषा ,सङ्स्कृतिहरुको समिस्रण भई निर्माण भएको नयाँ मानव समूह नै राष्ट्र हो । साझा भाषा, साझा सङ्स्कृती ,साझा मनोविज्ञान, साझाआर्थिक जीवन राष्ट्रका लागि चाहिने आवश्यक तत्वहरु हुन। राजनीतिशास्त्रमा वा राजनीतिक क्षेत्रमा राष्ट्र(नेशन ) लाई
“राज्य “वा “देश” भनेर पनि बुझ्ने गरिन्छ । जस्तो कि संयुक्त राष्ट्र संघ (द युनाइटेड नेशनस)। युनाइटेड नेशनस मा प्रयोग गरिएको नेशन शब्दको प्रयोग मानव स्मूहको अर्थमा भन्दा पनि राज्य वा देशको अर्थामा प्रयोग गरिएको छ । नेपालमा नेपाल मजदुर किसान पार्टीले राष्ट्रघाती भन्नू को सट्टा देशघाती शब्दको प्रयोग गरेको पाइन्छ।राष्ट्र भन्ने शब्दले मानव समुदायलाई बताउने हुँदा नेपाललाई राष्ट्र हैन देश शब्द प्रयोग गर्नु पर्छ भन्ने त्यो पार्टीको भनाई छ । प्रयोगबाट नै भाषाको अर्थ पनि निर्धारण हुँदै जाने हुँदा राष्ट्र भन्ने शब्दलाई मानव समूहको अर्थमा मात्र बुझ्ने गर्नु भन्दा प्रशङ्ग अनुसार मानव समूह र देश वा राज्यका अर्थमा पनि बुझ्दा उपयुक्त हुन्छ भन्ने लाग्छ। 

नेपाललाई एकल राष्ट्र – राज्यकारुपमा परिभाषित गर्ने वा बहुराष्ट्रिय राज्यका रुपमा परिभाषित गर्ने भन्ने बारेमा नेपालमा धेरै पहिले देखि छलफल हुँदै आएको हो । पहिलो संविधान सभा गठन भए पछि संविधानसभामा यो व्यापक छलफलको बिषय बन्यो । पहिलो संविधानसभा सम्विधान निर्माण नगरिकन विघटन भएकाले बहुराष्ट्रिय राज्यका पक्षपातिहरुको उद्देश्य पूरा हुन सकेन ।दोस्रो संविधान सभामा बहुराष्ट्रिय राज्यको पक्षमा दुई तिहाई पुग्ने सम्भवना नै थिएन किनकि संविधानका हरेक धारा पारित गर्न दुई तुहाई वहुमत हुनु पर्थ्यो ।बहु राष्ट्रिय राज्यका पक्षपातिहरु दोस्रो संविधानसभामा पहिलो सङ्विधान सभामा भन्दा कमजोर भएका थिए । २०७२ असोज ३ गते संविधानसभाबाट पारित नेपालको संविधानको धारा ३ मा “राष्ट्र” को बारेमा लेखिएकोछ, “बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो ।” त्यसरी २०७२ को संविधानले सबै जाति ,भाषा , धर्म ,समुदायका जनताहरुलाई समष्टिगत रुपमा एक राष्ट्र मानेको छ।

युरोपबाट अमेरिका गएकाअङ्ग्रेज,जर्मनी ,स्पेनिश ,फ्रेन्च ,अफ्रिकाबाट गएका काला जातिहरु र एशियाबाट समेत गएका एशियाली मूलका जातिहरु,स्थानीय समेत सवै मिलेर अमेरिकी जाति बनेको हो अर्थात अमेरिकी राष्ट्र बनेको हो । विभिन्न जाति जनजाति ,भाषाभाषी ,साङ्स्कृतिक समुहहरु घुलमिल भएर एउटा इटाली राष्ट्र अर्थात इटाली जाति निर्माण भयो।एक इटाली राष्ट्रको एक इटाली राज्य बन्यो । स्पेन ,अङ्ग्रेज,फ्रेन्च,जर्मन ती सबै देशहरु एक राष्ट्र – एक राज्य (एक देश) को प्रक्रियाबाट निर्माण भएका हुन। तर युरोपमा पनि रुस ,हङ्गेरी जस्ता देशहरु बहुराष्ट्रिय देशहरु हुन। सन्सारका विभिन्न देशहरुले आफ्नो सम्विधानमा राष्ट्रकोबारेमा उल्लेख गरेका हुन्छन । कतिपय देशका सम्विधान त्यस बारे मौन छन।अफगानिस्तानको संविधानमा पास्तुन ,ताजिक ,हजारा,उज्वेक,ट्रक्म्यान,बालुख,पासाई,
नुरिस्तानी,आइमाक,अरव,क्वाजी,क्वाजीलवास,गुजार , ब्राहुई लगायतका जातिहरुबाट अफगानिस्तान राष्ट्र बनेकोछ भनेर लेखिएकोछ।१९९७ मा जारी पोल्यान्डको संविधानमा”हामी, गणतन्त्रका सबै नागरिकहरू पोलिश राष्ट्र हौं ” भनिएकोछ।इस्टोनिया भन्ने देशमा ६९ प्रतिशत इश्टोनियाली जातिहरु र २५ प्रतिशत रसियाली जातिहरुछन ।१९९२ मा जारी इस्टोनियाको संविधानमा एक राष्ट्र – एक राज्य भनिएको छ । त्यहाँका २५ प्रतिशत रसियालीहरुले आफुलाई बेग्लै राष्ट्रका रुपमा संविधानत: भन्न पाउदैनन।उनीहरुले तिम्रो राष्ट्र के हो भन्दा इष्टोनिया नै भन्नू पर्छ।इज्रायलमा ७५ प्रतिशत यहुदी धर्मावलम्बी छन, जो हिब्रु भाषी पनि हुन,त्यहाँ २५ प्रतिशत अन्य अरब जातिहरु छन।त्यहाँ साझा इज्रायली राष्ट्र निर्माण भएकोछ।कतार ,इजिप्ट लगायतका देशहरुले आफ्नो संविधानमा आफ्नो देशका जनतालाई “अरव राष्ट्रका अङ्ग” भनेकाछन। (स्रोत : रामबहादुर बुढा,(२०७१),नेपालमा सङ्घीयता र जातिवाद विरुद्ध संघर्ष ,काठमाडौ :बेल्जियम नेपाली एकता समाज,पृष्ठ- ९२)।

राष्ट्र हुनका लागि सझा भूभाग,साझा आर्थिक जीवन ,साझा मनोविज्ञान ,साझा सङ्स्कृति,साझा भाषा जस्ता तत्वहरु आवश्यक पर्दछन।ती मध्ये धेरै जसो तत्वहरु नेपाली समुदायहरुमा विद्यमान छन। नेपाल भूखण्डलाई सबै समुदायले आफ्नो साझा घर ठान्दछन ।
नेपाल राज्यभरिका मानिसहरु एउटा राष्ट्रिय अर्थतन्त्रबाट बाधिएका छन । जुनसुकै भाषा ,धर्म,सङ्स्कृतिका मानिस भए पनि “हामी नेपाली” भन्ने मनोविज्ञानको विकास भैसकेको छ।जुनसुकै भाषा बोल्ने भए पनि एकले अर्काको भाषाको सम्मान गर्दछन।नेपालका अधिकाङ्स मानिसहरू नेपाली भाषा बोल्न सक्दछन । जुनसुकै सङ्स्कृती अङ्गालेको भए पनि तिनले एकले अर्काको सङ्स्कृतिलाई सम्मान मात्र गर्दैनन,नेपाली सङ्स्कृतिकै रुपमा स्वीकर गर्दछन।यसरी नेपाली राष्ट्र सुदृढ बन्दै गएको छ।यसर्थ नेपाल बहुराष्ट्रिय देश नभएर मानव समूहको विकासको क्रममा एकल नेपाली राष्ट्रको रुपमा विकास हुँदै गएकोछ।(स्रोत : जाति,भाषा,धर्म र सङ्स्कृति सम्बन्धी प्रस्ताव,नेकपा मसालको आठौं महाधिवेशन २०७६ बाट पारित प्रस्ताव)

मुस्लिम रास्ट्र र हिन्दु राष्ट्रको वकालत गरेर मोहम्मद अलि जिन्नाको नेतृत्वमा १९४७ मा भारतबाट पाकिस्तान टुक्राइएको थियो।उर्दु भाषी र बङ्गाली भाषीहरुको दुई राष्ट्रको वकालत गरेर भारतको सहयोगमा शेख  मुजिवर रहमानको नेतृत्व मा १९७१-७२ तिर बङ्गालादेशलाई पाकिस्तानबाट छुट्टाइएको थियो।द्विराष्ट्र वा बहुराष्ट्रको नाममा यस्ता बिखण्डनका घटनाहरु विश्वमा धेरै भएका छन।राजमो लगायतका पार्टीहरुले संविधानसभामा बहुराष्ट्रिय राज्यको विचारलाई विरोध गरेका थिए । संविधान सभाबाट संविधान निर्माण गर्ने बेलामा माओवादी,जातिवादी,मधेसवादीहरुले नेपाललाई बहुराष्ट्रिय राज्य निर्माण गर्न सक्दो कोसिस गरेका हुन ।

राजेन्द्र महतोहरुले दुई राष्ट्र वा बहुराष्ट्रका लागि विगतमा सीमा पारी भाजापाको भान्सा खाएर वारि नेपाल तिर ढुङ्गा हानेका हुन।लाख कोशिश गरे पनि बहुराष्ट्रिय राज्य भएन । संविधानमा नेपाल एक राष्ट्र नै लेखियो।अझै पनि उनीहरुले बहुराष्ट्र वा दुई राष्ट्रको सपना देखिरहेका छन।हरेक राष्ट्रको आफ्नै राज्य चाहिन्छ भन्ने सैद्धान्तिक आधार तयार पार्दै अन्ततोगत्वा देशलाई विखण्डनको दिशामा लैजाने कुमनसुवाले बहुराष्ट्रिय राज्यको अवधारणालाई उचालिएको थियो र अहिले पनि त्यस मुद्दालाई उठाइदैछ । नेपाली एकताको भावनालाई सुदृढ गरेरनै ब्यबहारबाट नै त्यो गलत अवधारणा खण्डित गर्न सम्भव छ।