प्रधानमन्त्रीको कदमका कारण विरोधमा रहेका विपक्षी गठबन्धनका नेताहरुले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई सर्वोच्च अदालतबाटै प्रधानमन्त्री नियुक्तिका लागि परमादेश जारी हुनुपर्ने माग सहितको रिट तयार पारेका छन् । सर्वोच्चमै बहुमत प्रस्तुत गरेर देउवालाई प्रधानमन्त्री बनाउने उनीहरुको माग छ ।

परमादेशमार्फत देउवालाई प्रधानमन्त्री घोषणा गर्न माग गर्ने रिटमा बहुमत सांसदहरुको हस्ताक्षर सहित सशरीर जुटाएर उपस्थित हुँदैछन् ।

संविधानको धारा ७६(३) अनुसार नियुक्त, भएका प्रधानमन्त्री ओलीले बहुमत जुटाउन नसकेको भन्दै राष्ट्रपतिकहाँ सिफारिस गरेको र राष्ट्रपतिले धारा ७६(५) अन्तरगतको सरकार गठनका लागि आह्वान गरिसकेको अवस्थामा केपी ओलीको बैधानिकता समाप्त भएको रिटमा जिकिर गरिएको विपक्षी नेताहरुले बताएका छन् ।

सर्वोच्च अदालतले देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेपछि संसद विघटन गर्ने ओलीको कदम स्वतः अवैधानिक ठहरिने र संसद स्वतः पुनस्थार्पित हुने विपक्षी दलको तर्क छ ।

बहुमत सांसदले हस्ताक्षर गरेको रिट आजै सर्वोच्च अदालतमा दर्ता गर्ने विपक्षी मोर्चाको तयारी छ ।