काठमाडौं । नेकपा (एमाले) फुटको संघारमा पुगेको बेला वरिष्ठ नेता माधव नेपाल र झलनाथ खनाल निकट कार्यकर्ताहरुले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । दलको नाम नेकपा (एकीकृत) राखिएको छ ।

एमालेको भ्रातृ संगठन अनेरास्ववियुका पूर्वनेता जीवन राईले दल दर्ताका लागि आयोगमा निवेदन दिएका हुन् । उनी अध्यक्ष रहेको पार्टीको चुनाव चिह्न कमल राखिएको छ । संखुवासभा घर भएका राईले शुक्रबार दल दर्ताका लागि आयोगमा निवेदन दिएका हुन् ।

उनको दल नेकपा (एकीकृत)मा कल्पना गुरुङ उपाध्यक्ष, विनोद खुलाल महासचिव, ऐनविक्रम कुँवर सचिव र सुशील खनाल कोषाध्यक्ष बनेका छन् । कार्यसमिति २५ सदस्यीय छ ।

स्रोतका अनुसार शनिबार बसेको एमालेको नेपाल–खनाल समूहको स्थायी कमिटी बैठकमा पनि अर्को पार्टी खोल्ने विषयमा छलफल भएको थियो।एमाले फुटको संघारमा पुगेका बेला निर्वाचन आयोगमा एमालेका युवा नेताले नयाँ दल दर्ताका लागि निवेदन दिनुलाई अर्थपूर्ण ठानिएको छ।

नयाँ दल माधव नेपालसँग नजोडिएको दाबी
नयाँ दल दर्ताका लागि निवेदन दिएका राईले सो दलको माधव नेपाल पक्षसँग साइनो नरहेको दाबी गरेका छन् । नेपाल निकट राईले आफूले स्वतन्त्र ढंगबाट एक महिनाअघि नै दल दर्ताको लागि निवेदन दिएको दाबी गरे ।

‘म अनेरास्ववियुबाट विदा भएपछि पार्टीले जिम्मेवारी दिएको थिएन । त्यसैले खाली बस्नुभन्दा पार्टी दर्ता गरौँ भन्ने सोचेर दर्ता प्रक्रियामा गएको हुँ । माधव नेपालसँग यसबारे जोड्न जरुरी नै छैन’, राईको भनाइ छ ।