जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाउन विपक्षी गठबन्धनले तयारी थालेका छन् । महन्थलाई प्रधानमन्त्री बनाएर भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीलाई विस्थापित गर्ने निष्कर्षमा नेपाली कांग्रेस र माओवादी केन्द्र पुगेका हुन् ।

कांग्रेस समापति शेरबहादुर देउवा र माओवादी केनद्रका अध्यक्ष पुष्पकमल दाहालबीच ठाकुरलाई प्रधानमन्त्री बनाउने विषयमा छलफल अघि बढेको अध्यक्ष दाहालले पार्टी नेताहरुसँग ब्रिफिङ गरेका एक नेताले बताए ।

यसअघि जसपाको सिंगो साथ पाउन नसक्दा संविधानको धारा ७६ (२) अनुसार सरकार गठनमा दाबी गर्न नगएको विपक्षी गठबन्धन अब भने वैकल्पिक सरकार निर्माणमा गहन रुपमा छलफलमा जुटेको हो ।

जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले हिजोमात्रै संयुक्त विज्ञप्ति जारी गर्दै अब कसैको नेतृत्वमा सरकारमा नजाने बरु अवसर पाए आफ्नै नेतृत्वमा सरकार बनाउने बताएका थिए ।

प्रधानमन्त्री ओली यही वैशाख ३० गते संसदको सबभन्दा ठूलो दलको नेताको हैसियतले प्रधानमन्त्रीमा पूनः नियुक्त हुनुभएको हो । उहाँले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । तर, प्रधानमन्त्री ओलीले जेठ १५ गतेभन्दा अगावै विश्वासको मत लिने तयारी गरेका गर्नुभएको छ ।

बजेट ल्याउनुभन्दा अघि नै विश्वासको मत लिने ओलीको तयारी थाहा पाएका विपक्षी दलहरु उहाँलाई विश्वासको मत लिन रोक्गरि छलफल गरिरहेका छन् । यसको लागि उनीहरुले जसपाका अध्यक्ष ठाकुरलाई प्रधानमन्त्रीको रुपमा अघि सार्ने तयारी गरेका छन् ।