चीनले नेपाललाई अनुदानमा दिएको अक्सिजन सिलिण्डरलगायतका स्वास्थ्य सामग्री बोकेका गाडीहरु चीनको खासाबाट नेपालको तातोपानी नाकातर्फ प्रस्थान गरेका छन्। महावाणिज्य दूतावासका अधिकारीले अक्सिजन सिलिण्डर लगायतका स्वास्थ्य सामग्रीहरु न्यालम कस्टमबाट छुटिसकेको जानकारी दिएको तातोपानी भन्सारका अधिकारीले बताएको अनलाइन खबरले लेखेको छ।

तातोपानी नाकाका भन्सार अधिकृत नारद गौतमले ती सामान आउनासाथ आवश्यक प्रक्रिया पूरा गरी काठमाडौं पठाइने बताउनुभयो। गौतमले भन्नुभयो, ‘उताबाट सामान आउने जानकारीमा आएको छ, हामी त्यसैको प्रतीक्षामा छौं। यहाँ आउनासाथ ती सामान हामी फास्ट ट्र्याकमा पठाउँछौं।’ कुन–कुन सामान कति–कति परिमाणमा आउँदैछन् भन्ने जानकारी आफूहरुसम्म नआइपुगेको उहाँले बताउनुभयो।

तातोपानी भन्सारमा चीनले ती सामग्री नेपाल सरकारलाई हस्तान्तरण गर्ने छ। ‘स्वास्थ्य मन्त्रालयलाई चीनले सामान हस्तान्तरण गरेपछि सुरक्षित साथ छिटो पठाउने प्रक्रिया अघि बढ्छ,’ भन्सार अधिकृत गौतमले भन्नुभयो। कोरोना महामारीविरुद्ध लड्न सहयोग पुगोस् भनेर चीनले २० हजार थान अक्सिजन सिलिण्डर, भेन्टिलेटर लगायतका स्वास्थ्य सामग्रीहरु नेपाल सरकारलाई अनुदानमा दिने घोषणा गरेको छ। केही थान सिलिण्डरहरु नेपाल एयरलाइन्सको वाइडबडी जहाजले बेइजिङबाट ओसारेको छ। पहिलो खेपमा चार सय थान अक्सिजन सिलिण्डर ल्याएको जहाज दोस्रो खेप लिन गएराति फेरि बेइजिङ गएको छ।

एकैपटक धेरै सामग्री छिटो ल्याउन सकियोस् भनेर स्थलमार्ग प्रयोग गरिएको उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड–१९ संकट व्यवस्थापन सन्चालन केन्द्र (सीसीएमसी)ले जनाएको छ। उपप्रधानमन्त्री पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले चिनियाँ अनुदानको १८ हजार थान अक्सिजन सिलिण्डर स्थलमार्ग हुँदै आउन लागेको जानकारी दिनुभयो। सिआरआर्इ बाट