काठमाडौं । जनता समाजवादी पार्टीभित्र किचलो बढ्दै जाँदा सो पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरेको खुलासा भएको छ । जसपाको ठाकुर–महतो पक्ष प्रधानमन्त्री ओलीको समर्थनमा छ भने डा. भट्टराई यादव पक्षले कडा आलोचना गरिरहेको छ ।

यस्तो अवस्थामा डा. भट्टराईले प्रधानमन्त्री ओलीसँग भेट गरेको विषय एमाले नेता महेश बस्नेतमार्फत बाहिरिएपछि भट्टराईले भेटबारे स्वीकार गर्नुभएको छ । भेटबारे नकारात्मक प्रचार भएको भन्दै भट्टराईले बर्तमान र पूर्व प्रधानमन्त्रीहरु बाहेकको नेतृत्वमा सरकार गठनका लागि आफूले प्रधानमन्त्रीसँग प्रस्ताव राखेको बताउनुभएको छ ।

आइतबार ट्वीट गर्दै भट्टराईले लेख्नुभएको छ, ‘प्रमले दूतमार्फत बोलेकाले बोल्नैपर्ने भयो । महाविपत्ति उन्मुख देशलाई निकास दिन मैले ब्यक्ति ओली हैन प्रम ओलीलाई भेटेकै हो । मैले वर्तमान/पूर्वप्रम बाहेकका व्यक्तिको नेतृत्वमा राष्ट्रिय सरकार बनाऊॅ भनेकै हो । वहॉले नमानेपछि अरूलाई नभनेको हुॅ ।अझै पनि धारा७६ (५) बमोजिम बनाउन सकिन्छ । सोचौं !’

यस्तै, भट्टराईको सचिवालयले महेश बस्नेतले नकारात्मक प्रचार गरेको भन्दै कडा आलोचना गरेको छ । भट्टराईका स्वकीय सचिव विश्वदिप पाण्डेले बस्नेतलाई ‘एमाले अपहरण विभाग प्रमुख’ को संज्ञा दिँदै छेउटुप्पो नबुझी वान्ता गरेको बताएका छन् ।

पाण्डेले लेखेका छन्, ‘आज एमालेका अपहरण विभाग प्रमुखले छेउटुप्पो नबुझी वान्ता गरेछन्… । …तर अपहरण विभाग प्रमुखलाई राजनीतिक कुरा, देशलाई निकास दिने कुरा कहाँ पच्छ र ? देशको राजनीति स्थिर हुँदा त आफ्नो अपहरण व्यवसाय नै धरापमा जो पर्छ !’