काठमाडौं । वागमती प्रदेश अन्तर्गत राष्ट्रिय सभा सदस्यको उपचुनावका लागि आज (वैशाख २४ गते) उम्मेदवारी दर्ता हुँदैछ ।

गृहमन्त्री रहेका रामबहादुर थापा एमालेमा प्रवेश गरेपछि माओवादी केन्द्रले कारबाही गरेका कारण सो पद रिक्त भएको हो । रिक्त रहेको स्थानमा सदस्य चयन गर्न जेठ ६ गते उपनिर्वाचन हुँदै छ ।

सो पदका लागि नेपाली कांग्रेस, माओवादी केन्द्र र एमालेको माधव नेपाल पक्ष सहित जनता समाजवादी दलले डा. खिमलाल देवकोटालाई साझा उम्मेदवार बनाएका छन् । एमालेको ओली पक्षले थापालाई नै उम्मेदवार बनाउने चर्चा रहेपनि हार्ने चुनावमा उम्मेदवार बन्न थापाले इच्छा देखाएका छैनन् ।

त्यसैले उम्मेदवार टुंगो लगाउन एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत शीर्ष नेताहरूले अहिले छलफलमा जुटेको बताइन्छ ।

आज बिहान १० बजेदेखि उम्मेदवारी दर्ताको समय खुला भइसकेको छ। अपराह्न ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । हेटौंडास्थित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ताको व्यवस्था मिलाइएको निर्वाचन आयोगले जनाएको छ ।