काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संघीयता खारेज गर्नुपर्ने बताउनुभएको छ । सोमबार ट्वीट गर्दै थापाले राजनीतिक स्वार्थ र दाउपेचमा प्रयोग गर्ने उद्देश्यले प्रदेश प्रमुखलाई जतिबेला मन लाग्यो हटाउने र राख्ने काम संविधान विपरीत रहेको बताउनुभयो ।

यस्तो कार्य स्वेच्छाचारी र सर्वसत्तावादको द्योतक रहेको उल्लेख गर्दै उहाँले यस्तो काम गर्नुभन्दा संघीयता खारेज गर्नु बेस रहेको टिप्पणी गर्नुभएको छ ।

गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख शर्मिलाकुमारी पन्तलाई हटाएर सोमबार ती प्रदेश प्रमुखमा क्रमशः सीताकुमारी पौडेल र गंगाप्रसाद यादवलाई नियुक्त गरिएको छ । नवनियुक्त प्रदेश प्रमुखहरुले सोमबार नै सपथ लिएका छन् ।

पौडेल प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकार हुन् । उनी एमालेको भ्रातृ संगठन अखिल नेपाल महिलासंघकी अध्यक्ष समेत हुन् ।
यादव भने दोस्रो संविधान सभाका उपाध्यक्ष र उपभामुख भएका थिए। उनी राप्रपा नेपालबाट उपसभामुख बनेका थिए । तर, यादव २०७४ सालको प्रतिनिधिसभा चुनावअघि एमालेमा प्रवेश गरेका थिए।