प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्रभन्दा पनि जनताको जीवनलाई पहिलो प्राथमिकतामा राखेर कोरोनासँग सरकार लडेको बताएका छन् । नयाँवर्ष २०७८ को अवसर देशवासीका नाममा बुधबार सम्बोधन गर्दै उनले सबभन्दा पहिला जनताको जीवन रक्षालाई प्राथमिकता दिइएको बताएका हुन् ।

‘जनताको जीवन बचाउन सकियो भने शिक्षालयहरू चल्नेछन्, उद्योग कलकारखानाहरू खुल्नेछन् । केही समयलाई बन्द रह्यो भने पनि जनताको जीवन बच्यो भने पछि चल्नेछन्, जीवन रहेन भने फेरि कुनै पनि कुरा चल्न सक्दैन’, उनले भने ‘अरू सबै कुरा भन्दा र मुलुकको अर्थतन्त्रभन्दा पनि नागरिकको जीवन पहिलो हो ।’

उनले सरकारले मानव जीवनलाई नै प्राथमिकतामा राखेर नीति अंगिकार गरिएकाले त्यसमा ‘असफल नभएको’ बताए । 

‘सही नीतिकै कारण तुलनात्मक रूपमा कम क्षति भयो’, उनले भने ।

यसैबिच विभिन्न बहानामा सरकारको आलोचना हुने गरेको भए पनि प्रतिकूल परिवेशका बाबजुद आशा र विश्वास जगाउने काम गर्न सफल भएको दाबी प्रधानमन्त्री ओलीले गरेका छन् ।

उनले सम्बोधनको क्रममा भने, ‘आलोचना गर्नेहरुले केही भएन भनेका छन् । तर हामीले भविष्यप्रति आशा र विश्वास जगाउने काम गरेका छौँ । बाटो खनेका छौँ, प्रतिदिन साढे पाँच किलोमिटर बाटो खनिएको छ । रानीपोखरी बनायौँ, अब धरहरा पनि तयार भइसकेको छ ।’

उनले ठूला औद्योगिक क्षेत्र उद्घाटन गरेको, रेल आउन लागेको, मेलम्चीको पानी आएको तथा अरु कामहरु पनि हुँदै गएको भन्दै प्रतिकुलताकाबिच पनि काम नरोकिएको दाबी गरे ।