क्युवाली क्रान्तिलाई सशक्त बनाउने धेरै चरणका प्रयत्न युवामा निर्भर हुने गरेका छन् । इतिहासका हरेक कालखण्डमा तत्कालीन परिस्थिति सुहाउँदो ढङ्गले त्यस्ता प्रयत्न भएका छन् । तर, हाम्रो मूल भावना र अविचलित सिद्धान्तबाट ती कुनै पनि प्रयत्न तलमाथि भएनन् ।
सन् १९५९ को सफल क्रान्तिको राँको ‘शताब्दी पुस्ता’ (द सेन्टिनियल जेनेरेसन) का युवाहरूले बालेका थिए । बितेका ६२ वर्षमा क्युवाले हासिल गरेका उपलब्धि त्यही पुस्ताको अग्रसरताको परिणाम हो । फिडेल क्यास्ट्रो त्यो पुस्ताको नेतृत्वमा हुनुहुन्थ्यो ।
तसर्थ, विशेषतः क्युवाली कम्युनिस्ट पार्टीभित्र भविष्यको शक्ति जिम्मेवारीपूर्वक पहिचान गरी नयाँ–नयाँ कार्यकर्ताहरूको क्रमशः र व्यवस्थित तयारी गर्ने कार्य भइरहेको छ । यो विषयमा सन् २०१२ मा सम्पन्न पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनयता अझ बढी प्राथमिकता दिइएको छ ।
सातौँ महाधिवेशनबाट पारित लक्ष्यहरूमध्ये एउटा लक्ष्य पार्टीका विभिन्न पदहरूमा नयाँ कार्यकर्ताहरू ल्याउनु थियो । यो एउटा अपरिहार्य र स्वाभाविक प्रकृति हो ।
यो लक्ष्यमा दृढ तथा यो प्रक्रियाको संवेदनशीलता एवं रणनीतिक महत्व बुझेर क्युवाली कम्युनिस्ट पार्टीको छैटौँ र सातौँ महाधिवेशनमा प्रस्तुत केन्द्रीय समितिको प्रतिवेदनमा पार्टीका प्रथम सचिव जनरल राउल क्यास्ट्रो रुजले हतारको कामबाट आउन सक्ने सम्भावित नकारात्मक प्रभावबारे सचेत बनाउनुभयो । उहाँले दूरदृष्टिको अभाव वा कुनै पनि अव्यवस्थित अवधारणाले पु¥याउन सक्ने क्षतिबारे सजग बनाउनुभयो । उहाँले क्रान्तिलाई निरन्तरता दिन सक्ने र देशकै प्रमुख नेतृत्वदायी पद सम्हाल्न सक्षम कमरेडहरू तयारी गर्नुपर्ने खाँचो औँल्याउनुभयो ।
विभिन्न जिम्मेवारी सम्हाल्ने प्रतिबद्धता भएका र प्रगतिको सम्भावना भएका युवा उमेरका महिला र पुरुषसहितको ठुलो सङ्ख्याले यो अभियानमा प्रगति सम्भव तुल्याएको छ । जसको परिणामस्वरुप पार्टी कुनै पनि चुनौती सामना गर्न तयार हुनेछ ।
तर, भावी पुस्ता बनाउने प्रक्रिया भने एउटा दैनिक प्रक्रिया हो । यो प्रक्रियाका आफ्नै खालका जटिलता छन् । पाँचौँ महाधिवेशनको समापन समारोहमा क्युवाली कम्युनिस्ट पार्टीको प्रथम सचिव फिडेल क्यास्ट्रो भन्नुभएको थियो, “कुनै दिन पार्टीको नेतृत्व असफल भएको हेरिबस्ने सुविधा पार्टीलाई छैन किनभने त्यसको मूल्य निकै महँगो हुनेछ ।” त्यही बेलादेखि भविष्यप्रतिको पूर्ण विश्वासका साथ भावी पुस्ता तयारीको प्रक्रियालाई प्राथमिकताका साथ अघि बढाइएको हो ।
जरा तहदेखि सुरु हुने प्रक्रिया
क्युवाली क्रान्तिको विकासक्रम र सामना गरेका जटिल परिस्थितिले हामीलाई आगामी दिन अझ जटिल र चुनौतीपूर्ण हुने कुरा बुझ्न गाह«ो छैन । विभिन्न समय र अवसरमा यो कुरा भनिंदै आएको कुरा हो ।
अघिल्लो ऐतिहासिक पुस्ता सक्रियताको लागि चिनिएकै छ । साथै यो पुस्ताले सङ्क्रमणको चरणमा गरेको नेतृत्व, देखाएको इमानदारी र समर्पणभावले मार्गदर्शन पनि गरेको छ ।
सातौँ महाधिवेशनले पार्टीका जिम्मेवारीमा बस्ने उमेर र कार्यकाल सीमा तोक्नुका साथै कम्तीमा पाँच वर्ष काम गरिसकेको अनुभव पछि मात्र पूर्णकालीन कार्यकर्ता बनाउने निर्णय ग¥यो । यसले महत्वपूर्ण पदहरूमा पार्टी पदाधिकारीहरूको सहभागिता सुनिश्चित ग¥यो ।
पार्टी कार्यकर्ताको बढुवाको लागि विभिन्न व्यक्तिगत गुणलाई पनि ध्यान दिइयो । जस्तै भद्रता, सरलता, नम्रता, प्रतिबद्धता र क्रान्तिप्रतिको इमानदारी आदि गुण भएका कार्यकर्ता असल मानियो भने बडपन, महत्वाकाङ्क्षी, रिसालु वा घमण्डी कार्यकर्तालाई खराब कार्यकर्ता मानियो ।
यिनै आधारमा पार्टीको नेतृत्वले सङ्गठन पुनःगठनको व्यवस्थित प्रक्रिया अघि बढायो । क्युवाका सबै प्रदेशमा पार्टी नेतृत्वले भ्रमण ग¥यो । सबै तहका पार्टी सचिवहरूसँग छलफल चलाइयो । अल्पकालीन र दीर्घकालीन कार्ययोजनाबारे छलफल र विश्लेषण गरियो । कार्यकर्ताको व्यवहार र कार्य प्रस्तुतिको आधारमा माथिल्लो जिम्मेवारीहरू दिइँदै लगियो ।
युवा कम्युनिस्ट लिग (युजेसी)लगायतका अन्य जनवर्गीय सङ्गठनको केन्द्रीय नेतृत्वसँग पनि बैठकहरू बसियो ।

यस्ता र अन्य व्यवस्थित अनुगमनकारी संयन्त्रको प्रयोगका साथै पुनःगठनका गतिविधिको कार्यान्वयनले तथ्याङ्कगत अभिलेख कायम गर्नेमा पनि महत्वपूर्ण उपलब्धि हासिल गरेको छ ।
अहिले क्युवाका सबै पूर्णकालीन र प्रान्तीय तहका नेताहरू सन् १९५९ को क्रान्तिपछि जन्माएका हुन् । त्यसकारण क्युवाली कम्युनिस्ट पार्टीको कार्यकर्ताहरूको औसत आयु ४२.५ वर्ष छ । यसले युवाहरूको सहभागिता बढ्दै गएको तर्फ सङ्केत गरेको छ । १ हजार ५०१ जना पूर्णकालीन कार्यकर्ता अहिले चालीस वर्षमुनिका छन् ।
पार्टीका पूर्णकालीन कार्यकर्ताहरूलाई पार्टी, प्रशासनिक र सरकारी जिम्मेवारीमा पालैपालो परिचालन गरिन्छ । त्यसले पार्टी कार्यकर्ताको तालिमलाई पूर्ण बनाउन मद्दत गर्छ । हालका पूर्णकालीन कार्यकर्ताहरूमध्ये ७६.५ प्रतिशतसँग आफू काम गरिरहेको पदमा काम गरिरहेको पाँच वर्षभन्दा कम अनुभव छ । ६.९ प्रतिशतसँग मात्र १० वर्षभन्दा लामो समय केन्द्रीय तहमा काम गरेको अनुभव छ ।
क्युवाली समाजको अनुपातअनुसार समुदाय, लिङ्ग र उमेरको आधारमा पनि मिल्ने ढाँचामा कार्यकर्ताको छनोट गरिन्छ । क्युवाली कम्युनिस्ट पार्टीका ५४.२ प्रतिशत कार्यकर्ता महिला छन् । ४७.७ प्रतिशत कार्यकर्ता काला र मिश्रित समुदायका छन् । ७५ जना नगर र जिल्लाका प्रथम सचिवहरू महिला छन् । कुल सङ्ख्यामा यो ४२ प्रतिशत हुन आउँछ ।
युवा कम्युनिस्ट लिगका कमरेडहरूले आफ्नो शिक्षालाई पनि अघि बढाउँदै सङ्गठनभित्र पनि थप जिम्मेवार र माथिल्लो पदका काम गर्ने गर्छन् ।
पार्टी र सरकारको महत्वपूर्ण पदमा काम गर्ने पदाधिकारीहरूले स्नातकोत्तर तह अथवा कुनै विषयमा विशेष तालिम लिएको हुनुपर्ने हुन्छ ।
क्युवाली कम्युनिस्ट पार्टीका कार्यकर्ताहरूमध्ये हाल ८१ प्रतिशतले स्नातकोत्तर तह उत्तीर्ण गरेका छन् । अरू कार्यकर्ताहरूले पनि सामाजिक विज्ञानमा स्नातकोत्तर तह उत्तीर्ण गर्न प्रान्तीय कलेजहरूले दिएको अवसरको सदुपयोग गरिरहेका छन् ।
पार्टीका कार्यकर्ता बनाउन क्युवाली कम्युनिस्ट पार्टीको युवा सङ्गठन युवा कम्युनिस्ट लिगको भूमिका बढ्दो छ । बितेका पाँच वर्षमा ४७० जना युवा कम्युनिस्ट लिगका कार्यकर्ताहरूलाई पार्टीको जिम्मेवारीमा ल्याइयो । २३.५ प्रतिशत पेशेवर कार्यकर्ताहरू युवा सङ्गठनबाट आएका छन् । उनीहरूमध्ये धेरै जनाले पार्टीको जिम्मेवार पद सम्हालेका छन् ।
बितेका पाँच वर्षमा पार्टीको पद छोडेका ४७.६ प्रतिशत कार्यकर्ताहरू सरकार वा जनसङ्गठनका विभिन्न तहको जिम्मेवारी सम्हालिरहेको तथ्य पनि उत्साहप्रद छ ।
ऐतिहासिक पुस्ताबाट पार्टीको जिम्मेवारी देशलाई भविष्यमा नेतृत्व गर्न सक्ने पुस्तामा हस्तान्तरण हुनु उल्लेखनीय उपलब्धि हो । उनीहरू आत्मविश्वासका साथ अघि बढिरहेका छन् । सन् १८६८ देखि यता क्युवाले हासिल गरेका सबै उपलब्धिको रक्षा गर्न यो पुस्ता सक्षम हुनेछ र पार्टी असल पुस्ताको हातमा जानेमा हामी ढुक्क छौँ ।
स्रोतः ग्रान्मा
नेपाली अनुवादः सुमन– onlinemajdoor