नेकपा (एमाले) मा विवाद बढ्दै जाँदा माधव नेपाल पक्षले पार्टीमा समानान्तर कमिटी गठन गर्दै अघि बढेको छ । पार्टीमा विवाद बढ्दै जाँदा नेपाल पक्ष देशैभर र प्रवासमा समेत समानान्तर कमिटी गठन गरी अघि बढ्ने भएको हो ।

समानान्तर कमिटी गठन गर्ने माधव नेपाल पक्षको यो कदमलाई धेरैले पार्टी विभाजन या अलग पार्टी बनाउने योजनाको पूर्वाभ्यासका रूपमा बुझेका छन् । तर, माधव नेपाल पक्षकै नेताहरू भने यसलाई पार्टीमा ओलीविरुद्ध आन्तरिक दबाब सिर्जना गर्ने रणनीति रहेको बताउँछन् ।

एमालेको संस्थापन (ओली समूह) ले नेपाल पक्षका चार नेता (माधव नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डे) लाई कारबाही गर्दै छ महिना पार्टीबाट निलम्बन गरेको छ । यससँगै नेपाल पक्ष पनि ओलीलाई दबाब दिने आन्तरिक रणनीतिमा जुट्दै समानान्तर कमिटी गठन गर्ने कार्यलाई अघि बढाएको हो ।

नेपाल पक्षले सबै जिल्लामा समानान्तर कमिटी बनाउने, सबै भ्रातृ संगठन तथा प्रवासमा समेत समानान्तर कमिटी बनाउने भएको छ ।

एमाले माधव पक्षका नेता रघुजी पन्त समानान्तर कमिटी गठन गरिनु पार्टी विभाजन या नयाँ पार्टी बनाउने योजनाअनुरुप नभएको बताउँछन् । ओलीलाई आन्तरिक दबाब दिनका लागि त्यसो गरिएको उनको भनाइ छ ।

तर, ओलीले आफूहरूलाई धकेलेर बाध्यात्मक अवस्थामा पुर्‍याउन खोजेको पनि पन्तले बताए । उनले ओलीको स्वेच्छाचारिता र उनको षड्यन्त्रलाई चिर्ने रणनीतिकै एउटा अंगका रूपमा समानान्तर कमिटी गठन गरिएको उल्लेख गरे ।

‘पार्टी विभाजन गर्ने अहिले हाम्रो कुनै योजना छैन,’ पन्तले भने, ‘तर, उनले (ओलीले) हामीलाई धकेलेर त्यहीँ (पार्टी विभाजन) सम्म पुर्‍याउन लागेका छन् । तर, अहिले पनि हामी एमाले नै हौँ ।’

माधव नेपाल पक्षले एमाले विभाजन गरी माओवादी केन्द्रसँग पार्टी एकता गर्न लागेको चर्चा पनि सुनिएको छ । तर, पन्तले अहिले आफूहरूले पार्टी विभाजन गर्ने तयारीमा नरहेको उल्लेख गर्दै माओवादीसँग पार्टी एकता गर्ने कुरा नभएको बताए ।