उपत्यकामा चार दिनदेखि वायु प्रदुषण उच्च बनेको छ । भारतबाट आएको प्रदुषित हावा र नेपालमा लागेको डढेलोको धुवाँको समिश्रणपछि उपत्यकामा वायुको गुणस्तर सूचकांक (एक्यूआई) ३२० भन्दा माथि पुगिसकेको छ । यसबाट तत्कालीन मात्रै होइन दीर्घकालिन स्वास्थ्य समस्या निम्तने खतरा झनै बढेर गएको विज्ञहरु बताउँछन् । मौसमविदका अनुसार वायु प्रदुषणको मात्रा घट्न अझै केही समय लाग्नेछ । भारतबाट दिल्लीदेखि बहने प्रदुषित हावा र नेपालको डढेलोबाट उत्पन्न भएको प्रदुषित हावा मिश्रण हुदाँ यो अबस्था आएको विज्ञहरुको भनाई छ । कचौरो आकारमा रहेको उपत्यकाबाट हावाको प्रवाह सहज रुपमा भइरहेको छैन जसका कारण वाहिरबाट आउने र सवारीसाधनले निकाल्ने विषाक्त धुवाँ पनि समिश्रण भइरहेको छ ।

काठमाडौं उपत्यकामा नागढुंगा र बालाजुको पश्चिम क्षेत्रबाट वायु भित्रिन्छ । तीनै स्थानमा प्रदूषण गराउने उद्योग छन् । तीनले पनि वायु प्रदूषण बढिरहेको छ । नागढुंगाको पूर्वी क्षेत्रमा इँटाभट्टा र ससाना क्रसर उद्योग छन् भने बालाजुमा औद्योगिक क्षेत्र छ । उपत्यकाको हावा नगरकोट र साँगा हुँदै काभ्रे प्रवेश गर्छ । साँगाबाट बनेपा, धुलिखेल हुँदै पाँचखाल पुग्छ भने बालाजुको हावा उपत्यकाको उत्तर हुँदै भक्तपुरको नगरकोटबाट पाँचखाल पुग्छ । तर अहिले हावाकाे बहाव कम भएका प्रदुषण उपत्यकामा एकतृत भइरहेको छ । उपत्यकाको प्रदुषण धुम्रपानभन्दा हानिकारक बरिष्ठ छाती रोग तथा विशेषज्ञ नीरज बम यो वायु प्रदुषणले धुम्रपान भन्दा पनि हानिकारक भएको बताउँछन् । प्रदुषणले मानिसको छाती, कलेजोमा संक्रमण हुन सक्ने भएकाले अत्यावश्यक बाहेक घर बाहिर ननिस्कन उनले सुझाए । विशेषगरी बृद्दबृद्धा, बालबालिका र दमका रोगी यो अबस्थामा बाहिर निस्कन नहुने उनले सुझाव दिएका छन् । नाक र मुखबाट शरीरभित्र प्रवेश गर्ने धुलोका कणले समस्या निम्त्याउँछ। धुलोका ठूला–ठूला कणहरू नाक र घाँटीमा अड्कन्छन् । ससाना कण फोक्सोमै पुग्छन् । घाँटी एवं नाकको समस्या, रुघाखोकी, एलर्जी, पिनास, दम, क्षयरोग, मुटुका बिरामीलाई तत्कालै असर गर्छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले १० मृतकमध्ये एक जनाको वायु प्रदूषणबाट ज्यान जाने गरेको जनाएको छ। कार्डियोभास्कुलर रिसर्च जर्नलमा प्रकाशित एउटा अध्ययनमा युद्धसहित सबै खाले हिंसाभन्दा प्रदूषण १० गुणा बढी घातक भएको दाबी गरिएको छ। वायु प्रदूषणका कारण हुने मृत्युको संख्या धूमपानबाट हुनेभन्दा धेरै भएको उक्त अध्ययनमा उल्लेख छ। डढेलोको धुवाँ मिसिएको प्रदूषणले शरीरका सबै अंगलाई असर गर्ने चिकित्सक बताउँछन्। तत्काल रूपमा आँखा पोल्ने, छाला चिलाउनेलगायत स्वास्थ्य समस्या देखिए पनि दीर्घकालमा दम, फोक्सोको क्यान्सर हृदयाघातसमेत हुन सक्ने चिकित्सकको भनाइ छ । प्रदूषणले छालामा सुक्खापन ल्याई चिलाउने समस्या देखा पर्छ। ब्याक्टेरियल, फंगल, प्यारासाइटलगायत अनेक संक्रमणको सम्भावना बढी हुन्छ। छालामा मसिना दाना देखिने, चिलाउने, छालाबाट धुलोजस्तै झर्छ ।

उपत्यकाको प्रदुषण मापदण्डभन्दा ५ गुणा बढी काठमाडौंमा पीएम २.५ को मात्रा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को मापदण्डभन्दा ५ गुणासम्म बढी छ । डब्लूएचओले वार्षिक औसत पीएम २.५ को मापदण्ड १० माइक्रोग्राम प्रतिघनमिटर तोकेको छ । सरकारले तोकेको मापदण्डलाई वार्षिक हिसाबले हेर्दा ४९ माइक्रोग्राम प्रतिघनमिटर हुनुपर्छ । तर काठमाडौंमा गएको शुक्रबार ४ सय माइक्रोग्राम प्रतिघनमिटर भन्दा बढी पुग्यो । आइतबार विहान मात्रै ३ सय २० माइक्रोग्राम प्रतिघनमिटर पुगेको छ । सरकारले पीएम १० को मात्रा १ सय २० माइक्रोग्राम प्रतिघनमिटर तोकेको छ भने २.५ को ४० माइक्रोग्राम प्रतिघनमिटर मापदण्ड निर्धारण गरेको छ । ‘स्टेट अफ ग्लोबल एयर– २०२०’ का अनुसार नेपालमा वायु प्रदूषणका कारण वर्सेनि ४२ हजार १ सय जनाको मृत्यु हुने गरेको छ । डब्लूएचओका अनुसार सन् २०१८ मा नेपालमा वायु प्रदूषणका कारण करिब ३७ हजार जनाको मृत्यु भएको थियो ।

हानिकारक वायूबाट बच्न के गर्ने?

सम्भव भएसम्म घरमै बस्ने । घरबाहिर निस्किन परे गुणस्तरीय मास्क लगाउने । प्रदूषण अत्यधिक भएका बेला बाहिर धेरै हिँडडुल नगर्ने । बालबालिकाहरुलाई पनि बाहिर धेरै खेल्न नदिने । फोहोर तथा दाउरा नजलाउने । बढी भीड तथा जाम भएको ठाउँतिर नजाने । प्रदूषित जस्तो नदेखिए पनि ती स्थानमा हानिकारिक रासायनिक पदार्थ प्रवाह भइरहेको हुन्छ ।