एमाले र माओवादी–केन्द्रको बिचमा पार्टीएकता भई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को गठन भएको थियो । तीन महिनाभित्रमा पार्टीएकता प्रकृया पूरा गर्ने भनिएको थियो । साढे दुई वर्षसम्म पार्टीएकता प्रक्रिया त पूरा भएन नै, आखिरमा पार्टी विभाजित भयो । विभाजित हुँदा एमाले र माओवादी दुवै पक्ष सर्लक्कै आआफ्ना कित्ता नछुट्टिएर छ्यासमिस भएर दुई पार्टी बने । एकातिर, ओली नेतृत्वको नेकपा र अर्काेतिर प्रचण्ड–माधव नेतृत्वको नेकपा बन्न पुगे । पूर्व प्रधानमन्त्री झलनाथ खनाल पनि प्रचण्ड–माधव समूहमै रहेका छन् । पूर्व माओवादी पक्षका रामबहादुर थापा, मणि थापा, लेखराज भट्ट, टोपबहादुर रायमाझीलगायत ओली पक्षमा लागेका छन् । पूर्वएमाले पक्षका माधव र झलनाथ समूहका प्रायः प्रचण्ड–माधव समूहमा नै रहेका छन् । त्यसबाहेक त्यो विभाजनको बिचबाट अर्को तेस्रो समूह पनि उत्पादन भएको छ– बामदेव गौतम नेतृत्वको पार्टी एकता राष्ट्रिय अभियान ।
किन एकता भयो ? किन विभाजित भए ? यो एकता र विभाजनको असर के हुन्छ ? यिनै विषयमा सामान्य छलफल गर्नु यो लेखको उद्देश्य हो ।
त्यो एकताको औपचारिक प्रस्थान आधार गत २०७४ को केन्द्रीय संसद र प्रदेशसभाको निर्वाचन थियो । २०७४ मङ्सिरको उक्त निर्वाचन हुनुभन्दा पहिले २०७४ असोज १७ गते नेकपा (एमाले) र नेकपा (माओवादी–केन्द्र) का बिचमा साझा घोषणापत्र र साझा उम्मेदवारसहित केन्द्रीय संसद (सङ्घीय संसद) र प्रदेशसभाको निर्वाचनमा जाने सहमति भएको थियो । तदनुरुप ती दुई पार्टीले संयुक्त गठबन्धन निर्माण गरी निर्वाचनमा गएका थिए । केन्द्रीय संसदमा झण्डै दुईतिहाइ बहुमत प्राप्त गरी केपी शर्मा ओलीको प्रधानमन्त्रित्वमा केन्द्रीय सरकार निर्माण भएको थियो भने ७ प्रदेशमध्ये एमाले–माओवादी केन्द्रको छ ठाउँमा प्रदेश सरकार निर्माण भयो । निर्वाचनका बेला उनीहरुले चुनावी गठबन्धन मात्र हैन, पार्टीएकता नै गर्ने जनतालाई आश्वासन दिएका थिए । मदन–आश्रित स्मृति दिवसको दिन पारेर २०७५ जेष्ठ ३ गते नेकपा (एमाले) र नेकपा (माओवादी–केन्द्र) का बिचमा पार्टी एकीकरण गरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निर्माण गरिएको थियो ।
घोषणा सभाका दिन एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी–केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वारा हस्ताक्षरित ६ बँुदे संयुक्त घोषणापत्र जारी गरिएको थियो । घोषणापत्र माधवकुमार नेपालले वाचन गरेका थिए । ओली र दाहालले सङ्क्षिप्त मन्तव्य पनि राखेका थिए ।
घोषणापत्रमा लेखिएको थियो– “नेकपा (एमाले) ले अवलम्बन गरिआएको जनताको बहुदलीय जनवाद र नेकपा (माओवादी–केन्द्रले) ले अवलम्बन गरिआएको एक्काइसौँ शताब्दीको जनवादसम्बन्धी सैद्धान्तिक एवम् राजनीतिक मान्यतालाई परिवर्तित नयाँ सन्दर्भमा विकसित र परिमार्जन गरी समाजवादउन्मुख जनताको जनवादका रुपमा अगाडि बढाइने छ । यिनै वैचारिक मान्यतानुरुप प्राप्त उपलब्धिको रक्षा र विकास गर्दै राष्ट्रियता, लोकतन्त्र र सामाजिक न्याय सुदृढ गरी सामाजिक आर्थिक रुपान्तरणमार्फत नेपालको संविधानमा उल्लिखित समाजवादउन्मुख व्यवस्थाको प्राप्तिका दिशामा हामी अग्रसर रहने छौँ । साथै नेपाल कम्युनिस्ट पार्टी स्थापना गर्दादेखिको समाजवाद स्थापनाको महान् लक्ष्य पूरा गर्ने दिशामा अघि बढ्न हामी दृढ रूपले प्रतिबद्ध रहने छौँ ।
उपर्युक्त वैचारिक र सैद्धान्तिक मान्यताको आलोकमा नेपाल कम्युनिस्ट पार्टी शान्तिपूर्ण प्रतिस्पर्धामार्फत श्रेष्ठता हासिल गर्ने, संविधानको सर्वाेच्चता, विधिको शासन, स्वतन्त्र न्यायपालिका, मानवअधिकार एवम् मौलिक हकको प्रत्याभूति, शक्ति पृथकीकरणको सिद्धान्त, बहुलतायुक्त खुला समाज, बहुदलीय प्रतिस्पर्धायुक्त आवधिक निर्वाचन, जननिर्वाचित प्रतिनिधिद्वारा सरकार सञ्चालन, प्रतिपक्षको संवैधानिक व्यवस्थालगायत आधुनिक लोकतन्त्रका विश्वव्यापी मूल्यमान्यतामा प्रतिबद्ध छ ।
त्यस्तै, संयुक्त राष्ट्र सङ्घको वडापत्र पञ्चशीलको सिद्धान्त र असलग्नताका मान्यतामा आधारित स्वतन्त्र परराष्ट्र नीति तथा राष्ट्रियहितको संरक्षण र संवद्र्धनमा पार्टी कटिबद्ध छ । यो पार्टी पारस्परिक समानता, सम्मान र हितको आधारमा अन्तर्राष्ट्रिय समुदाय तथा छिमेकीलगायत विश्वका सबै देशहरूसँग सुमधुर सम्बन्ध कायम गर्ने मान्यतामा अटल छ ।”
माथि उल्लेखित घोषणापत्रको अंशबाट थाहा हुन्छ कि दुई पार्टी मिली बनेको नयाँ पार्टीको वैचारिक मान्यता “समाजवादउन्मुख जनताको जनवाद” राखिएको थियो । एमालेले भन्दै आएको बहुदलीय जनवाद र माओवादी–केन्द्रको एक्काइसौँ शताब्दीको जनवादलाई परिमार्जित र विकसित गरी “समाजवादउन्मुख जनताको जनवाद” तय गरिएको छ । “समाजवादउन्मुख जनताको जनवाद” को विस्तृत व्याख्या यसबिचमा कसैले पनि गरेन । घोषणापत्रमा भनिएजस्तै “शान्तिपूर्ण प्रतिष्पर्धामार्फत श्रेष्ठता हासिल गर्ने, संविधानको सर्वोच्चता, विधिको शासन, स्वतन्त्र न्यायपालिका, मानवअधिकार एवम् मौलिक हकको प्रत्याभूति, शक्ति पृथकीकरणको सिद्धान्त, बहुलतायुक्त खुला समाज, आवधिक निर्वाचन, जननिर्वाचित प्रतिनिधिद्वारा सरकार सञ्चालन, प्रतिपक्षको संवैधानिक व्यवस्था” लाई “समाजवादउन्मुख जनताको जनवाद” को आलोकमा प्रतिबद्ध रहने भनिएको छ । ती सबै नेकपा (एमाले) को पाँचौँ महाधिवेशन (२०४९) बाट पारित बहुदलीय जनवादमा उल्लेखित कार्यक्रम र मदन भण्डारीले प्रस्तुत गरेको बुहदलीय जनवादका विशेषता हुन् ।
त्यसरी हेर्दा बहुदलीय जनवादका विशेषतालाई बाहिरबाट “समाजवादउन्मुख जनताको जनवाद” खोल भिराएर विकसित र परिमार्जित सैद्धान्तिक, वैचारिक मान्यता भनी प्रस्तुत गरिएको थियो । बहुदलीय जनवाद, एक्काइसौँ शताब्दीको जनवाद र “समाजवादउन्मुख जनताका जनवाद” जेसुकै सैद्धान्तिक–वैचारिक जामा लगाइदिए पनि यो कुनै नयाँ परिमार्जित र विकसित सिद्धान्त, विचार हैन । ती उल्लेखित तीन वटै “विचार” वा “सिद्धान्त” वा “कार्यक्रम” अरु केही नभएर विश्व कम्युनिस्ट आन्दोलनको इतिहासमा दोस्रो अन्तर्राष्ट्रिय कालको दक्षिणपन्थी अवसरवादी चिन्तनधारा “बर्नस्टिनवाद” को नेपाली संस्करण मात्र हो । एक पटक बर्नस्टिनद्वारा लिखित रचना “समाजवादका समस्याहरू” पढ्ने हो भने माथि उल्लेखित “बहुदलीय जनवाद”, “समाजवादउन्मुख जनताको जनवाद” सहित “एक्काइसौँ शताब्दीको जनवाद” कुनै माक्र्सवादी–लेनिनवादी सिद्धान्त, विचार, कार्यक्रम नभएर बर्नस्टिनकै विचारको निरन्तरता हो भन्ने कुरा स्पष्ट हुने छ ।
घोषणापत्रमा लेखिएको यो भनाइ दोहोराएर हेरौँ– “संयुक्त राष्ट्र सङ्घको वडापत्र, पञ्चशीलको सिद्धान्त, असंलग्नताका मान्यतामा आधारित स्वतन्त्र परराष्ट्र नीति तथा राष्ट्रियहितको संरक्षण र संवद्र्धनमा पार्टी कटिबद्ध छ । यो पार्टी पारस्परिक सम्मान र हितका आधारमा अन्तर्राष्ट्रिय समुदाय तथा छिमेकीलगायत विश्वको सबै देशसँग सुमधुर सम्बन्ध कायम गर्ने मान्यतामा अटल छ ।” उनीहरूले घोषणापत्रमा कहिँ कतै साम्राज्यवाद, विस्तारवाद, प्रभुत्ववादको शोषणको विरोध गरेका छैनन् । सबैसित “सुमधुर सम्बन्ध” कायम गर्ने घोषणापत्रमा उल्लेख गरेर हामी कम्युनिस्ट मूल्यमान्यतामा छैनौँ, साम्राज्यवादीहरूको आशिर्वाद हामीलाई चाहिन्छ भन्ने सन्देश दिन खोजेका छन् ।
घोषणापत्रमा लेखिएको थियो– “हाम्रो मार्गदर्शक सिद्धान्त माक्र्सवाद–लेनिनवाद हुने छ ।” उनीहरूले यो लेख्नका लागि मात्र लेखेका हुन् । माक्र्सवादी–लेनिनवादी सिद्धान्तका मूल्यमान्यता सबै त्याग्दासमेत पनि उनीहरूले आफ्नो मार्गदर्शक सिद्धान्त “माक्र्सवाद–लेनिनवाद” भन्न छाडेका छैनन् । यदि यो “माक्र्सवाद–लेनिनवाद” शब्द फालेर प्रतिक्रियावादी सत्तामा आसिन हुने कुराको ग्यारेन्टी हुन्छ भने त्यो शब्द पनि त्याग्न उनीहरू तयार हुने छन् । माक्र्सवाद–लेनिनवाद उनीहरूका लागि “टे«डमार्क” मात्र हो । ठुलो पार्टी बनाएर प्रतिक्रियावादी सत्तामा पहुँच कायम गर्न कसरी सजिलो हुन्छ भन्ने कुरालाई ध्यान दिएर मात्र उनीहरूले आफ्नो मार्गदर्शक सिद्धान्त तय गर्दै आएका छन्; जस्तो कि तत्कालीन मालेले २०३५ सालमा पार्टी गठन गर्दा मार्गदर्शक सिद्धान्त “माक्र्सवाद–लेनिनवाद–माओ विचारधारा” राखेका थिए । २०४६ को चौथो महाधिवेशनमा “माओ विचारधारा” राख्ने हो भने रसियाली धारका कम्युनिस्ट घटकलाई समेट्न सकिन्न भनेर “माओ विचारधारा” हटाएर “माक्र्सवाद–लेनिनवाद” मात्र राखेका थिए । तत्कालीन प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष मनमोहन अधिकारीले एउटा विदेशी पत्रिकालाई अन्तर्वार्ता दिँदा “माक्र्सवाद–लेनिनवाद” टे«डमार्क मात्र हो भनेका थिए । तत्कालीन एमालेभित्र “माक्र्सवाद–लेनिनवाद” भन्न छाड्ने वा पार्टी नाम परिवर्तन गर्नेबारे छलफल चल्दै आएको थियो । रघुजी पन्तले पाँचौँ महाधिवेशनमै सामाजिक प्रजातन्त्रको वकालत गरेका थिए । एमाले नेता प्रदीप नेपालले तत्कालीन एमाले कम्युनिस्ट नभएर एउटा सामाजिक प्रजातन्त्रवादी मात्र हो भन्दै आएको कुरा त सबैका सामु जगजाहेर नै छ ।
माओवादीहरूले युद्धकालमा आफ्नो पथप्रदर्शक सिद्धान्त “माक्र्सवाद–लेनिनवाद–माओवाद” मा “प्रचण्डपथ” थपेका थिए । “वामपन्थीहरू” सितको सिलगुडी बैठकमा प्रचण्डले “प्रचण्डपथ” फाल्न आफू तयार भएको बताएका थिए र पछि २०७५ मा माओवादी र प्रकाश नेतृत्वको एकताकेन्द्र–मसालसित पार्टीएकता हुँदा “प्रचण्डपथ” फालेर माक्र्सवाद, लेनिनवाद, माओवाद÷विचारधारा राखेका थिए । २०६५ मा एमाले र माओवादी–केन्द्रबिच पार्टीएकता हुँदा पूर्व माओवादी पक्षले “माओवाद÷विचारधारा” फालेर “माक्र्सवाद–लेनिनवाद” मात्र राख्न तयार भएका थिए ।
माथि बताइएजस्तै पूर्वएमाले र पूर्व माओवादी पक्षले पथप्रदर्शक सिद्धान्तको सम्बन्धमा अपनाएको अवसरवादी रवैयाबाट यो कुरा स्पष्ट हुन्छ कि उनीहरूले पथप्रदर्शक सिद्धान्तमा जुन बारम्बार हेरफेर गर्दै आएका छन्, त्यो उनीहरूको आस्था र सिद्धान्तलाई उनीहरूले प्रतिक्रियावादी सत्तामा पुग्ने एउटा भ¥याङको रूपमा मात्र प्रयोग गरेका छन् । पूर्वएमालेको आठौँ महाधिवेशन र नवौँ महाधिवेशनको मञ्चमा माक्र्स, एङ्गेल्स र लेनिनको फोटो नराखेर केवल पुष्पलाल, मनमोहन र मदन भण्डारीको मात्र फोटो राखेका थिए । कार्यकर्ताले दुई वटै महाधिवेशनमा ती तीन जना अन्तर्राष्ट्रिय नेताहरूको फोटो किन राखिएन भनेर हल्ला गरेपछि बिर्सिएछ भनेर फोटो ल्याएर राखेका थिए । कुनै बेला अमेरिकी राजदूत माइकल मेलनम्स्की एमालेको बल्खु कार्यालयमा आउँदा “माक्र्स, एङ्गेल्स, लेनिन” लगायतका फोटाहरू कपडाले ढाकेर लुकाउने एमालेले अन्तर्राष्ट्रिय कम्युनिस्ट नेताहरूको फोटो महाधिवेशनको मञ्चमा नराख्नु कुनै अनौठो कुरा हैन ।
एकता घोषणापत्रमा लेखिएको थियो– “जनवादी केन्द्रीयताको सङ्गठनात्मक सिद्धान्त र सामूहिक नेतृत्व एवम् व्यक्तिगत उत्तरदायित्वको आधारमा पार्टीको निर्माण र सञ्चालन हुने छ । यो पार्टी जनाधारित कार्यकर्ता पार्टी हुने छ । यस पार्टीमा आन्तरिक लोकतन्त्र र अनुशासनको सन्तुलन रहने छ । अन्तरिम विधानमा व्यवस्थित सङ्गठनात्मक प्रणालीको अनुशरण गर्दै एकता महाधिवेशन सम्पन्न गर्ने छौँ । पार्टी कमिटी र सबै सङ्गठन सोहीअनुरूप परिचालित र क्रियाशील हुने छन् ।” “जनवादी केन्द्रीयता”, “सामूहिक नेतृत्व, व्यक्तिगत उत्तरदायित्व”, “आन्तरिक लोकतन्त्र र अनुशासन” को आधारमा सुरुदेखि नै पार्टी परिचालन गर्ने कार्य भएन । षड्यन्त्र, तिकड्मबाजी, गुटबन्दीको आधारमा पार्टी परिचालन गर्ने काम भयो । सुरुमा ओली र प्रचण्ड मिलेर माधव नेपाल पक्षलाई एक्लाउने, अचेट्ने, पेल्ने, काम गरियो । ओली र प्रचण्डका बिचमा सत्तास्वार्थको नमिलेपछि फेरि प्रचण्ड, माधव नेपाल, झलनाथ पक्षको एकता कायम भयो र ओली विरुद्ध गठबन्धन गरे । ओली पार्टी र संसदीय दल जताततै अल्पमतमा पर्ने भएपछि सरकारबाट समेत हट्नुपर्ने स्थिति आयो र उनले गत पौष ५ गते संसद विघटन गरेर ओलीको संसद विघटन गर्ने कदमसँगै पार्टी विभाजित भयो । माथि भनिएझँै पार्टी सङ्गठनात्मक सिद्धान्त र अनुशासनअनुसार चलेको भए यसरी विभाजन हुनुपर्ने थिएन ।
घोषणापत्रमा लेखिएको छ– “यो पार्टी सबै प्रकारका प्रतिक्रियावाद, अवसरवाद र सङ्कीर्णताका विरुद्ध तथा सामाजिक सद्भाव एवम् राष्ट्रिय एकताका पक्षमा रहेको छ । राजनीतिक स्थायित्व, दिगो शान्ति, सुशासन र समृद्धिको मार्गमा अग्रसर रहँदै राष्ट्रिय सुरक्षा, राष्ट्रिय एकता र देशभक्तिमा आधारित उन्नत सभ्यतायुक्त समृद्ध समाज निर्माण गर्ने हाम्रो उद्देश्य रहेको छ । उपलब्ध साधन र स्रोतहरूको अधिकतम उपयोग, राष्ट्रिय पुँजीको निर्माण र परिचालन तथा “समृद्ध नेपाल, सुखी नेपाली” को लक्ष्य हासिल गर्ने दुई पार्टीको एकीकरणबाट बलियो आधार सृजना हुने छ । यसअनुरूप सरकारको प्रभावकारी सञ्चालन गरिने छ । यही लक्ष्य, उद्देश्य र मान्यतानुरूप पार्टीपङ्क्ति एकताबद्ध, सङ्गठित र परिचालन हुने छ ।”
घोषणापत्रमा जेका निम्ति पार्टीएकता भनिएको थियो, ती काम पार्टीएकताबाट हुन सकेनन् । “राजनीतिक स्थायित्व” दिने भनिएकोमा झण्डै दुईतिहाइ बहुमतप्राप्त पार्टीको सरकारले तीन वर्ष पनि काम गर्न नसकेर संसद विघटनको कदम चाल्नसमेत तयार हुनुले “राजनैतिक स्थायित्व” लाई कति धेरै मजाको विषय बनाइयो ? सुशासनको कुरा गरियो तर निर्मला पन्त, भागरथी हत्या प्रकरणजस्ता कैयौँ हत्या प्रकरण यही अवधिमा भए । “राष्ट्रिय पुँजीको निर्माण र परिचालन” गर्ने भनिएको थियो । “राष्ट्रिय पुँजीको निर्माण र परिचालन” सम्बन्धी ठोस योजना केही देखिएन, बरु विदेशी पुँजीपतिको सम्मेलनकै आयोजना गरियो ।
राष्ट्रिय पुँजीको विकास हैन, दलाल पुँजीपतिको सेवामा लागेको देखियो । जेका निम्ति पार्टी परिचालन गर्ने भनिएको थियो, त्यसनिम्ति पार्टी परिचालन नगरेर गुटगत र व्यक्तिगत स्वार्थमा कार्यकर्ता परिचालन गर्ने कार्य भयो ।
पार्टीएकता गर्दा दुई वटा अध्यक्ष बनाएकोमा धेरै मानिसहरू आश्चर्यचकित भएका थिए । पार्टीएकताका दिन ओलीले मानिसहरूको त्यो आश्चर्यप्रति जवाफ दिँदै भनेका थिए– “को यो टेम्पो चलाउने हो ? जेट विमान चलाउने हो, दुई वटा पाइलट त हुन्छन् नै जेटमा ।” तर जब ओली र दाहालको विवाद बढ्दै पार्टी फुटमा परिणत भयो, त्यसपछि ओलीले दाहालप्रति अनेकौँ ब्यङ्ग्य र अपमानका भाषा बोले– “उनको हैसियत उपाध्यक्षसरह हो । दुःख मान्लान् भनेर अध्यक्ष भनिदिएको मात्र हो । खास अध्यक्ष म नै हुँ नि ।”
अझ ब्यङ्ग्य थप्दै भने– “एउटा बच्चाले गुडिया खेलाउँदै थियो । एकक्षण अर्काे बच्चाले मलाई ल्याऊ न भन्यो । त्यो बच्चाले अर्काे बच्चालाई गुडिया खेलाउन दियो । अलिबेरपछि त मेरै हो, दिन्न भन्छ । अहिले प्रचण्ड त्यसै गर्छन् । एक क्षण कार्यकारी भनिदिएको मात्र पो त ! खास कार्यकारी त म नै हो नि ।” यस्तै पदीय स्वार्थका झगडामा अल्मलियो, केही महिना नेकपा विभाजनको खेल ।
एमाले र माओवादी–केन्द्र कम्युनिस्ट थिएनन् तर कम्युनिस्टकै नाममा उनीहरूले जनतासित भोट मागेका थिए । दिगो शान्ति, स्थायित्व, विकास, सुशासन दिन्छु भनेर जनताको त्यति धेरै मत लिएर सरकारसमेत बनाएका थिए । यो फुट–विभाजन, अशान्ति वा सरकारको अदलीबदलीको घटनाले जनताको मतमाथि कुठाराघात गर्ने काम भयो । कम्युनिस्टको खोल भिरेकाले राष्ट्र–अन्तर्राष्ट्रमा यिनीहरूले कम्युनिस्टको बद्नाम गर्नेसम्म बद्नाम गरे । उनीहरूले जुन मत पाएका थिए र उनीहरूको जुन कार्यकर्ता र जनमत थियो, यदि त्यसलाई देशनिर्माणमा लगाउन सकेको भए, यही बुर्जुआ व्यवस्थाभित्र पनि कैयौँ प्रगतिशील कामहरू गर्न सम्भव हुन्थ्यो । तर के गर्नु ? उनीहरू सत्तास्वार्थको लडाइँमा लागे । भ्रष्टाचारी, दुईनम्बरी, सत्ताको दुरूपयोग गरेर गुटगत र व्यक्तिगत स्वार्थमा लागे । हामीले पार्टी विवादका बेलामा देश र जनताको विषय वा कम्युनिस्ट मूल्यमान्यताको बारेमा विवाद भएको निकै कम सुन्यौँ । अधिकांश विवाद सुन्यौँ त केवल पदप्रतिष्ठा, स्वार्थका लेना–देनाका झगडा । यसले उनीहरूको साह्रै गिरेको सांस्कृतिक स्तर पनि छर्लङ्ग भएको छ ।
वामदेव गौतमले भने झैँ के ती दुई विभाजित समूहको एकता होला ? आगामी निर्वाचनमा ती दुवै हार्ने छन् वा खाल्डामा खस्ने छन् । त्यति बेला हात दिएर माथि तान्ने मान्छे चाहिन्छ । त्यसैले मैले एकता अभियान चलाएको छु भनेर गौतमले भनेका छन् । जता स्वार्थ बढी लिन पाइन्छ, त्यतै लाग्न शक्ति निर्माण गर्न खोजेका हुन् वा साँच्चै एकता अभियानमा लागेका हुन् ? गौतमको अवस्था पनि समयले स्पष्ट पार्ने नै छ । कतै यो विभाजन राष्ट्रघाती सम्झौता एमसिसीलाई संसदबाट सजिलै पारित गर्न भएको त हैन ? जे होस्, यो विभाजनले विभिन्न विदेशी शक्तिकेन्दहरूलाई खेल्ने अवसर दिएको छ । नेकपाभित्रका राष्ट्रवादी र वामपन्थी सोच राख्ने व्यक्तिहरूलाई सच्चा कम्युनिस्ट आन्दोलनको पक्षमा प्रयोग गर्ने कोसिस गर्नुपर्दछ ।
ओलीको कदमलाई सर्वाेच्चले सदर वा बदर जे गरे पनि पाँच वर्षसम्मका लागि “स्थायित्व र दिगो शान्ति” दिने जनताका बिचमा गरेको बाचा तोडिएको छ । एमाले र माओवादी–केन्द्रको एकता कम्युनिस्टहरूको एकता थिएन, त्यो त दक्षिणपन्थीहरूको एकता थियो । अहिले जुन विभाजन भएको छ, त्यो पनि कम्युनिस्ट सिद्धान्त, राजनीतिको संरक्षण र विकासका लागि भएको विभाजन हैन । दक्षिणपन्थी अवसरवादीहरूको बद्नामी र पतनको सिलसिला हो ।
पार्टीएकताको घोषणापत्रमा जेजति सिद्धान्त र राजनीतिको कुरा गरिएको थियो, त्यो त देखाउने कुरा मात्र थियो । खास उद्देश्य भनेको प्रतिक्रियावादी सत्तामा बहुमत प्राप्त गरेर सत्तास्वार्थ लिने थियो । जेका लागि पार्टीएकता गरिएको थियो, हो, त्यही कुरा नमिलेपछि पार्टीफुट भएको हो, कम्युनिस्टहरू असफल भएका होइनन्, दक्षिणपन्थी अवसरवादीहरू असफल भएका हुन् भन्ने कुरा सच्चा कम्यनिस्टहरूले जनतामा स्पष्ट गर्दै जानुपर्दछ ।-रक्त प्रवाह बाट