८ मार्च अर्थात् अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विश्वभरिका शोषित–पीडित मिहिनेतकश महिलाहरूले मनाउने दिवस हो । यस दिनलाई हक–अधिकार प्राप्तिको दिनको रूपमा मनाउने गरिन्छ । यस दिनलाई ‘महिला दिवस’ वा ‘नारी दिवस’ भनेर पनि मनाउने चलन छ । कम्युनस्टि विचारप्रति आस्थावान महिलाहरूले सम्पूर्ण शोषित–पीडित, मजदुर महिलाको दिवसको रूपमा मनाउँदै आएको इतिहास छ ।
१९०७ मा जर्मनीको स्टुटगार्डमा समाजवादी महिलाहरूको पहिलो सम्मेलन भएको थियो । त्यो दिन ८ आठ थियो । त्यस सम्मेलनले महिलाहरूको राजनैतिक अधिकार मताधिकारको नारा पास गरेको थियो । त्यही दिनलाई १९१० मा डेनमार्कको कोपनहेगनमा सम्पन्न समाजवादी महिलाहरूको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन भएको थियो । त्यहाँ क्लारा जेटकिनले ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा मनाउने प्रस्ताव राखेकी थिइन्, जुन कुरा सर्वसम्मत रूपमा स्वीकार गरिएको थियो । त्यसपछि बर्षेनि अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउन थालिएको हो । आजसम्म आइपुग्दा यसले १०८ वर्ष पार गर्दैछ । अहिले हामी १०९ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउने तरखरमा छौँ ।
८ मार्चका विषयमा सबभन्दा पहिला हामी कम्युनिस्ट विचारधाराको निर्माणसम्म पुग्नु पर्ने हुन्छ । जब विश्वमा महान् विचारक कार्ल माक्र्स र फ्रेडरिक एङ्गेल्सले १८४८ मा कम्युनिस्ट घोषणा पत्रको प्रकाशन गरे, त्यसपछि त्यस घोषणा पत्रमा व्यक्त गरिएको दर्शनले विश्वभरि शोषण, दमनको विरुद्धमा सङ्घर्ष गर्नु पर्ने विश्वास भरिदियो । त्यसले महिलाहरूमा पनि जागरण जगाइदियो । धनी र गरिबका बीचको खाडल पुर्नका लागि मिहिनेतकश वर्गले मुट्ठीभर शोषकका विरुद्धमा आवाज उठाउनु पर्ने र सङ्घर्ष गर्नु पर्ने दर्शन दियो। आफ्नो सत्ता आफ्नो हातमा स्थापित गर्नु पर्ने कुराको ज्ञान भरिदियो । त्यसपछि महिलाहरू पनि सङ्गठित हुन थाले । अधिकार प्राप्त गर्न सङ्घर्ष गर्न थाले । प्रतिक्रियावादी राज्यसत्ताको विरुद्ध धावा बोल्न थाले । १८७१ मा फ्रान्समा सम्पन्न सर्वहारा वर्गको क्रान्तिमा महिलाहरू वीरतापूर्वक लडेका थिए । सत्ता सञ्चालनको ज्ञानको अभावमा प्रतिक्रान्ति भयो । ७२ दिनमा सर्वहारा वर्गको सत्ता ढलेको थियो । मार्च ८, १८८९ मा पेरिसमा भएको अन्तर्राष्ट्रिय श्रमिकहरूको सम्मेलनमा सर्वप्रथम क्लास जेट्किनले महिलाको हक, अधिकार र समानताका लागि गर्नु पर्ने कामहरूका विषयमा प्रकाश पारेकी थिइन् ।
मार्च ८, १८९७ मा अमेरिकी औद्योगिक शहर न्यूयोर्कमा महिलाहरूले अन्यायपूर्ण ज्यालाको विरोध गर्दै कामको घण्टा काम गर्ने माग गरेका थिए । समान कामको समान ज्याला, शिशु स्याहार केन्द्रको स्थापना र मताधिकारको माग गर्दै प्रदर्शन गरेका थिए । महिलाहरूको उक्त जुलुशमाथि प्रहरीले व्यापक धरपकड र दमन गरेको थियो । १९०८ को ८ मार्चकै दिन अमेरिकाको शिकागो शहरमा महिलाहरूले ठुलो प्रदर्शन गरेका थिए । ८ मार्च महिलाहरूले वीरतापूर्वक लडेको दिन थियो । आफ्नो हक–अधिकार र समानताका लागि लडेको दिन थियो। ८ मार्च मनाउने कुरा सर्वप्रथम विश्वभरिका समाजवादी महिलाहरूले गरेका थिए । रूसमा ८ मार्चलाई १९१३देखि मनाउन थालिएको थियो । जब रूसमा समाजवादी क्रान्ति सम्पन्न भयो, त्यसपछि त्यहाँको कम्युनिस्ट सरकारले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको दिन विदा दिने गरेको थियो । जब विश्वमा पहिलो विश्वयुद्ध हुने स्थिति आयो, त्यतिबेला रूसका समाजवादी महिलाहरूले साम्राज्यवादी युद्धको अन्त्य र शान्तिको स्थापनाको माग गर्दै सङ्घर्ष गरेका थिए । रूसमा त्यतिबेला खाद्यान्नको अभाव भएको थियो । जनता भोकमरीले छट्पटाइरहेका थिए । त्यस अवस्थामा महिलाहरूले जनताले रोटी खान पाउनु पर्ने माग गर्दै आन्दोलन गरेका थिए । जार सरकारको निरङ्कुशताको विरोधमा र जार शासनको अन्त्यको माग गर्दै सङ्घर्षमा होमिएका थिए । १९२२देखि चीनमा ८ मार्च मनाउन थालिएको थियो । १९४९ मा चीनमा नयाँ जनवादी क्रान्ति सम्पन्न भइसकेपछि सार्वजनिक विदा दिएर मनाउन थालिएको थियो । संयुक्त राष्ट्र सङ्घले ८ मार्च १९७५देखि मनाउन थालेको हो । संयुक्त राष्ट्र सङ्घले १९७५लाई अन्तर्राष्ट्रिय महिला वर्ष घोषणा गरेको थियो । १९७७ मा संयुक्त राष्ट्र सङ्घको महासभाले महिला अधिकार वर्ष र विश्व शान्तिको घोषणा गर्दै उसका सदस्य राष्ट्रहरू सबैले मनाउने निर्णय गरेको थियो । नेपालको सन्दर्भमा कुरा गर्दा वि.सं. २०१७ सालदेखि महिलाहरूले मनाउन थालेको इतिहास भेटिन्छ । पञ्चायती व्यवस्थाको सुरुवातसँगै राजनीतिमा लागेको प्रतिबन्धको कारणले होला वि.सं. २०३७ सालमा गएपछि मात्र महिलाहरूले यसलाई मनाउने गरेको भन्ने उल्लेख पाइन्छ । ८ मार्चलाई महिलाहरूले कहिले खुला र कहिले भूमिगत रूपमा मनाउँदै आएका छन् । महिलाहरूले राजनैतिक अधिकार, लोकतन्त्र र गणतन्त्र प्राप्तिका लागि आवाज उठाउने आन्दोलनको रूपमा ८ मार्चलाई मनाउँदै आएका थिए । जब देशमा सत्ताले जनअधिकारको हनन् गर्छ, निरङ्कुशताको हावी हुन्छ, त्यसबेला पनि नेपाली महिलाहरू ८ मार्चको सन्दर्भमा आफ्नो अधिकार प्राप्तिका लागि आवाज बुलन्द गर्दै आएका थिए । २०५८ असोज १८ गते राजा ज्ञानेन्द्रले जननिर्वाचित सरकारको विघटन गरी आफ्नो निगाहको प्रधानमन्त्री नियुक्त गरेका थिए । त्यतिबेला देश प्रतिगमनमा गएको भनेर राजनैतिक पार्टीहरू सडक सङ्घर्षमा होमिएका थिए । संसदको पुनस्र्थापनाको माग गर्दै आन्दोलनमा लागेका थिए । खासगरी महिलाहरूले ८ मार्चलाई संसदको पुनस्र्थापना र जनाधिकारको माग गर्दै मनाएका थिए । हामी पनि त्यसलाई सफल पार्न लागिपरेका थियौँ । देशमा राज्य तथा माओवादीको द्वन्द्वको बेलामा दुवैतर्फका बन्दुकको विरोधमा, शान्ति स्थापनाको लागि माग गर्दै महिलाहरूले ८ मार्च मनाएका थिए । २०६२–६३ को समयमा लोकतान्त्रिक गणतन्त्रको स्थापना र निरङ्कुशताको अन्त्य गर्नु पर्ने भन्दै यस चाडलाई मनाइएको थियो । जब देशमा गणतन्त्र आयो, प्रतिनिधि सभाको पुनः स्थापना भयो, जनआन्दोलनको उपलिब्धको रक्षा गर्नु पर्ने, स्थायित्व हुनु पर्ने, संविधान निर्माण र संविधानमा महिला अधिकारको सुनिश्चितताको माग गर्दै ८ मार्चलाई मनाउँदै आएका छौँ । अहिले देशमा संविधानको निर्माण, गणतन्त्रको स्थापना धर्म निरपेक्षताको स्थापना भएको छ । संविधान कार्यान्वयनको चरणमा अगाडि बढेको छ । संविधानले महिलाको अधिकार महिलाभन्दा केही व्यवस्थापन गरेको छ । महिलाले राजनैतिक अधिकार प्राप्त गरेका छन् । केही मात्रामा भए पनि महिलाले राजनैतिक तहमा प्रतिनिधि बन्न सकेका छ्रन् । तर पनि महिलाको समस्याहरूको समाधान अझै हुन सकेको छैन । महिलाका समस्याहरू सामाजिक, आर्थिक, राजनैतिक रूपले कायमै छन् । महिलाहरूले परम्परागत रूपमा विभिन्न खालका प्रथा परम्पराको शिकार भइरहेका छन् । आजको समयसम्म आउँदा पनि महिलाहरू छाउगोठमा मर्नु पर्ने बाध्यता छ । अन्धविश्वासको शिकार भइरहेका छन । दाइजो ल्याउन नसक्दा मर्नु परेका, कुटपिट सहनु परेको मानसिक तथा शारीरिक हिंसा सहनु परेको घटनाहरू घटिरहेका छन् । समाजमा बोक्सी भनेर हिंसा गर्ने, मृत्युसम्म गराउने जस्ता घटनाहरू घटिरहेका छन् । महिला हिंसामा कुनै कमी आउन सकेका छैनन् । यौन हिंसा, हत्या बलात्कार जस्ता घटनाहरू घटिरहेका छन् । अपराधी पत्ता लाग्न सकेका छैनन् । अपराधीलाई राज्यले नै लुकाउन लागि परेको जस्तै गरेका छन् । यसको ज्वलन्त उदाहरण कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या र अपराधी पत्ता लगाउन नसकेको घटना हो । आर्थिक रूपले पनि महिलाहरूको सशक्तीकरण हुन सकिरहेका छैनन् । रोजगार अभावमा विदेशिन बाध्य छन् । त्यहाँ उनीहरूले भोग्नु पर्ने विभिन्न शोषण, आर्थिक, शारीरिक यौन शोषणको अन्त्य हुन सकेको छैन । अझ विदेशी जेलमा नेपाली महिलाहरू सुत्केरी अवस्थामा रहेको र बच्चाको बाबु पहिचान नहुँदा नेपाल फर्काउन नपाएको भन्ने जस्ता समाचार आइरहेका छन् । यसले महिलाले वैदेशिक रोजगारीका सिलसिलामा जाँदा गरिब महिलाले कति पीडा भोग्नु परेको छ भन्ने देखाउँछ ।
राजनैतिक रूपले पनि महिलाहरू सशक्त प्रकारले आउन सकिरहेका छैनन् । सङ्ख्याको अनुपातमा प्रतिनिधित्व हुन सकेको छैन, प्रतिनिधित्व भएका पनि नातावाद, आर्थिक चलखेलमा भएका छन्, जो त्याग, तपस्या गरेका, व्यक्तिगत लाभहानी नहेरी निरन्तर क्रियाशील भएका महिलाहरूको कुनै मूल्याङ्कन हुन सकेको छैन । महिलाहरूको निर्णय निकै जाँचमा पर्ने गरेका छन् । जस्तै गाउँपालिकाको तथा नगरपालिकाका न्यायपालिकामा महिलाको निर्णयमा पुरुषहरूकै हस्तक्षेप रहेको भन्ने जस्ता कुराहरू आइरहेका छन् । महिला प्रतिनिधित्वको कुरा जति जोडदार उठे पनि कार्यान्वयन समान छैन, संविधानले नै ५० प्रतिशतभन्दा माथिको सङ्ख्यामा रहेका महिलाको प्रतिनिधित्वको व्यवस्था ३३ प्रतिशत मात्रै तोकेको छ । यसरी महिलाहरूले अधिकार प्राप्तिको आन्दोलनमा सक्ने जति योगदान गरेका छन् । तर पनि अधिकारको उपभोग गर्न पाइरहेका छैनन् । गरिब, दुःखी, शोषित, पीडित महिलाहरू त झनै अनेक खाले शोषणमा परेका छन् । अधिकारको उपभोगको कुरा टाढाको विषय बनेको छ ।
देशको यस्तो अवस्थामा हामी १०९ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउँदै छौँ । अहिले सङ्घ, प्रदेश र स्थानीय तहको निर्वाचन भएको छ । मुलुकमा बहुमतको सरकार बनेको छ । बहुमतको सरकारको जनताको चाहना पुरा भएको छ तर पनि यो सरकार स्थायी हुन सकिरहेको छैन ।
सरकार सञ्चालकको आफ्नै गतिविधि सन्तोषकजनक देखिदैन । जनताको दुःख, कष्टको सहारा बन्नु पर्नेभन्दा पनि सरकारले जनताको कर खाएर बस्ने मात्र जस्तो देखिंदैछ । सरकार गठन भएको १ वर्ष पुग्दासम्म पनि देशमा आर्थिक विकासको कुनै लक्षण देखिदैन । उल्टो मौका प्राप्त भएको बेलामा अरबौँ अरबको भ्रष्टाचार भएको छ । जस्तै– नेपाल वायु सेवा निगमको जहाज खरिद प्रकरणमा भएको भ्रष्टाचारलाई लिन सकिन्छ । त्यो मात्रै हैन जहाँ पनि जे काममा पनि घुस र भ्रष्टाचार बढेको छ । सर्वसाधारणको काम दलाली, घुस र भ्रष्टाचार बिना असम्भव भएका छन् । बिल बनाएर ठगी गर्नेहरूको बिगबिगी छ । निजीकरण र व्यापारीकरणले जनता मारमा परेका छन् । शैक्षिक बिलले अभिभावकका दिनदिनै टाउको दुख्छ । धनीहरू घनी बन्दै गएका छन् । गरिबको दैनिकी कष्टकर बनिरहेको छ । औषधि उपचार महङ्गो हुँदैछ । पर्याप्त रकम हुने बाँच्ने र अरू मर्नु पर्ने अवस्थाको अन्त भएको छैन । तमाम विकृति, विसङ्गति कायमै छ । हाम्रो देशमा मात्रै नभएर संसारभरि गरिबहरू बढिरहेका छन् । विश्वमा विश्वव्यापीकरण र उदारीकरणले धनी देशहरू धनाढ्य बन्दै जाने र गरिब देशहरूमाथि बर्बर दमन गर्ने गरेका छन् । गरिब देशका प्रकृतिको अत्यधिक दोहन, साधनस्रोतको लुट चलिरहेको छ । पूँजीपतिहरूको लुटले प्राकृतिक साधनस्रोत सकिदैछ, यसले पछाडिका पुस्ताहरू सबै कुराको अभावमा जिउनु पर्ने अवस्था आउँदैछ ।
विश्वका धनी देशहरूले आफ्नो स्वार्थ पुरा गर्न गरिब देशहरूमाथि आफ्नो हैकम लादिरहेका छन् । लोकतन्त्रप्राप्ति तथा अधिकार प्राप्तिको आन्दोलनलाई दमन गर्ने वा उचाल्ने गरेका उदाहरणहरू प्रशस्त छ । देशका सरकारहरूलाई आफ्नो कठपुतली बनाउने होडमा छन् । स्थानीय उत्पादनको कुनै महत्व नराखिदिने अवस्था बनाएका छन् । उत्पीडित राष्ट्रहरूमाथि हरेक हिसाबको शोषण कायम छ । अल्पसङ्ख्यकहरूमाथि बहुसङ्ख्यकको उत्पीडन बढिरहेको छ । विश्वव्यापी रूपमा महिलाहरू एकै खालका शोषणमा परेका छन् । आप्रवासी महिलाहरूले अत्यन्तै कष्टकर जीवन बिताउनु परिरहेको छ । शरणार्थीको सङ्ख्या बढिरहेको छ । समाजवादी आन्दोलनमा पूँजीवादी संशोधनवादी तथा संसदवादीहरू हावी हुँदैछन् । आफूलाई कम्युनिस्ट विचारधारा बोक्ने पार्टीहरू भनेकाहरू पनि शान्तिपूर्ण सहअस्तित्वको गुलियोमा भुलिरहेका छन् । सर्वहारा वर्गको अधिनायकत्वको कुरा बिर्सिरहेका छन् । विश्वमा हेर्दा एक किसिमले विचारधारात्मक सङ्कट उत्पन्न भइरहेको छ । पूँजीवादी विचारको एकछत्र राज चलिरहेको छ । कुनै पनि विषयमा स्पष्ट सैद्धान्तिक नीति नहुँदा अलमल बढिरहेको छ । विश्व यसरी गइरहँदा ८ मार्च विश्वभरि मनाउँदै छौँ । ८ मार्चको मनाइरहँदा हामीले विश्वको यस अवस्थालाई भुल्नु हुँदैन । मजदुर मिहिनेतकश महिलाहरू पूँजीपतिको चरम शोषणमा परिरहेका छन् । शारीरिक मानसिक तथा आर्थिक हिसाबले शोषणमा परिरहेका छन् । व्यक्तिगत सम्पत्ति, व्यक्तिवादले मान्छेमा सामूहिक काम र उद्देश्यलाई बिर्साइदिएको छ । हरेक कुरा व्यक्तिगत स्वार्थमा बदलिएको छ । त्यसको मार महिलाले भोगिरहेका छन् । जस्तो बच्चा जन्माउने काम त महिला एक्लैले हुँदैन, पुरुषको सहभागिता रहन्छ तर हुर्काउने जिम्मेवारी महिला एक्लै पुरा गर्नु पर्छ । यसको मार त पूँजीवादी मुलुकका महिलाहरूले अझै बढी भोगेका छन् । आफ्नो आवश्यकताको लागि अनेक आर्थिक व्यवस्थापनको लागि महिला पुरुष सँगै बस्यो,पछि सम्बन्ध बिग्रन्छ, पुरुष छोडेर हिंड्छन्, महिलाले मात्रै सबै जिम्मा उठाउनु पर्छ । बच्चा भएमा बच्चाको सबै जिम्मा आमाको मात्रै बन्छ । त्यस्तो समस्या नेपालमा पनि शहरी ठाउँमा आएको जानकारहरू बताउँछन् । बालबच्चाको लालनपालनको जिम्मामा कुनै प्रकारको सामाजिक सुरक्षाको व्यवस्था राज्यले गर्न सकेको छैन । यसले महिला मात्र पीडित बन्नु परेको छ ।
विश्वमा शिशुस्याहार केन्द्रको स्थापना हुनु पर्छ भनेर ठुला ठुला आन्दोलन उठेको सयौँ वर्ष बितिसकेको छ । तर पनि नेपालमा शिशु स्याहार केन्द्रहरू स्थापना हुन सकेका छैनन् । यसले आमा मात्रै बच्चाको स्याहार सुसार गर्नको लागि हुर्काउन, बढाउनको लागि लाग्नु पर्ने अवस्था छ । बालबच्चा भएका महिलाहरू उनैलाई हुर्काउनका लागि जीवन खर्चिनु पर्ने बाध्यता छ ।
महिलाहरूले अत्यन्तै कष्टसाथ बालबच्चाको जीवन हुर्काइरहेका छन् । महिलाको उर्जाशील समय त्यही सक्नु पर्ने बाध्यता छ । संविधानले सम्पत्तिमा समान अधिकारको कुरा गरे पनि व्यावहारिक कार्यान्वयन हुन सकिरहेको छैन । महिलाले पैत्रिक सम्पत्तिमा समान अधिकार पाउन सकेका छैनन् । सम्बन्ध विच्छेदको समयमा पनि निःशुल्क कानुनी उपचार पाउन सकेका छैनन् । जोसँग पैसा छ उनीहरू मात्रै मुद्दा लड्छन् । जोसँग केही पनि छैन उनीहरूले न्याय पाउन सक्दैनन् । महिलाका यस्ता समस्याहरू रहिरहेका अवस्थामा हामी सबै महिलाहरू एकजुट हुनु पर्नेछ । वर्गीय रूपमा पुरुषहरूको साथ र सहयोग लिएर अगाडि बढ्नु पर्नेछ । तर महिलाहरू सामूहिक समस्या समाधानको लागिभन्दा पनि विचार धारात्मक रूपमा सुधारावादमा लिप्त छन् । विचारधारात्मक रूपमा प्रष्ट हुन सकिरहेका छैनन् । यसले आन्दोलनमा ‘फुटाऊ र राज गर’ भन्ने भनाइलाई बल पुगिरहेको छ । पूँजीपतिहरूको राज चलिरहेको छ ।
१०९ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइरहँदा सम्पूर्ण महिलाहरूले बुझ्नु पर्ने विषय अहिले पनि महिलाका समस्याहरू समाधान भएका छैनन् । आन्दोलनलाई सशक्त पार्न सकिएको छैन, महिलाहरू १५–१८ घण्टा नियमित काममा खट्नु पर्ने बाध्यता छ । यस अवस्थामा महिला मुक्ति सम्भव छैन । त्यसकारण महिलाहरू अझ सशक्त, जुझारु सचेत हुनु पर्नेछ । यस पालीको अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको नारा पनि त्यही रहेको छ– त्जष्लप भत्रगब,ि दगष्मि कmबचत ष्ललयखबतष्खभ ायच अजबलनभ अर्थात्, समान सोच राखौँ, स्मार्ट बनौँ र परिवर्तनका लागि जागरण ल्याऔँ । हामी सबै परिवर्तनका लागि लागि परौँ । सम्पूर्ण शोषित, पीडित, मिहिनेतकश वर्गको मुक्तिका लागि जागौँ । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सबैमा हार्दिक शुभकामना ¤
सन्दर्भ सूची
– तेस्रो सहश्र्राब्दी (तजभ तजष्चम mष्भििललष्गm वर्ष १ अङ्क ९, फागुन २०५८)
– महिला मुक्ति आन्दोलन–प्रकाशक अखिल नेपाल महिला सङ्घ केन्द्रीय कार्यालय, बुटवल २०५८
– नेपाली महिला र जनआन्दोलन, सावित्री श्रेष्ठ–अक्षलोक प्रकाशन, २०६३