सर्वोच्च अदालतले स्वतन्त्र मधेसको पक्षमा अभियान चलाइरहेका सिके राउतलाई थुनामुक्त गर्न आदेश दिएको छ।

जिल्ला अदालत रौतहटले राउतलाई थुनामा राखेर अनुसन्धान गर्न दिएको आदेशविरूद्ध राउतले दिएको मुद्दाको सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र  पुरूषोत्तम भण्डारीको इजलासले उनलाई थुनामुक्त गरेर अनुसन्धान गर्न आदेश दिएको हो।

‘निजबाट अपराधसँग सम्बन्धित दसी प्रमाण केही फेला परेको देखिदैँन। निवेदक प्रतिवादीले प्रत्यक्ष रूपमा यस्तो कार्य गरी अभियोग दाबी बमोजिमको कसुर गरेको भन्ने पनि देखिएको छैन,’ फैसलामा भनिएको छ,‘बुझ्दै जाँदा मिसिल संलग्न प्रमाणहरूबाट ठहरे बमोजिम हुने नै हुँदा निवेदक सिके राउतलाई  तारेखमा राखी मुद्दामा पुर्पक्ष गर्न दिनू।’

राज्य विप्लवको अभियोगमा प्रहरीले सिके राउतलाई गत असोज २१ गते पक्राउ गरेको थियो। जिल्ला अदालत रौतहटले मंसिर २० मा राउतलाई थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको थियो।

उक्त आदेशविरूद्ध राउतले उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासमा पुनरावेदन दिएका थिए। पुनरावेदनले पनि जिल्ला अदालतको आदेश सदर गरिदिएको थियो। त्यसपछि उनी सर्वोच्च पुगेका थिए।