प्रधानमन्‍त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले जनमुक्ति सेनाको समस्यालाई राजनीतिक रूपमा समाधान गर्ने बताएका छन् ।

शनिबार बालुवाटारमा आयोजित पूर्वजनमुक्ति सेनाका कमाण्डरहरूसँगको भेटघाट कार्यक्रममा बोल्दै प्रधानमन्‍त्री ओलीले भने- ‘जनमुक्ति सेनाको त्याग र बलिदान बुझेका छौं । यसलाई समाधान गर्ने छौं ।’
 
“जनयुद्धको अवधिमा तपाईहरूको योगदान, त्याग, बलिदान र क्रान्तिको सपनाप्रति उच्च सम्मान छ । नेतृत्वले तपाईहरूको भावनाको दुरूपयोग गर्‍यो । यो तथ्य बुझेर तपाईहरू जुन निष्कर्षमा आइपुग्‍नु भएको छ । यो निष्कर्ष सही छ । हामी सही समाधान दिने छौं,” प्रधानमन्‍त्री ओलीले भने । “नेतृत्वले सही निर्णय र निर्देशन गर्न सकेन भने योद्धा र कार्यकर्ताहरूको बाटो कठिन र पीडादायी हुन्छ । त्यसैले तपाईहरू ढ्क्क हुनुहोस । नेतृत्वबाट विगतमा जस्तो धोका पाउनु हुने छैन,” प्रधानमन्‍त्री ओलीले बताए । 

भेटघाट कार्यक्रममा पूर्वजनमुक्ति सेना नेपालका अध्यक्ष टुकबहादुर थापा, बहिर्गमित पूर्वजनमुक्ति सेनाका अध्यक्ष लेनिन् बिष्ट, पूर्वमाओबादी नेता लिलाबहादुर थापालगायतको सहभागिता रहेको थियो ।