वासिंटन: अमेरिकामा नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले उच्च सुरक्षा व्यवस्था बीच यही जनवरी २० मा सपथ ग्रहण लिँदैछन् ।

राष्ट्रपतिको सपथ ग्रहण समारोहमा ठूलो संख्यामा सैनिक परिचालन गरिने बताइएको छ । अमेरिकी मिडियाका अनुसार सपथ ग्रहण समारोहमा नेश्नल गार्डका १० हजार सैनिक र थप ५ हजार सैनिक परिचालन गर्न सकिने बताइएको छ ।

गत जनवरी ६ मा संसद भवनमा डोनल्ड ट्रम्पका समर्थकहरुले संसद भवनभित्रै छिरेर हिंसा मच्चाएपछि सुरक्षा व्यवस्था कडा पारिने भएको हो । बुधबार राष्ट्रपतिले समपथ ग्रहण गर्ने बेला राजधानी वासिंटन डिसीमा भने संकटकाल लगाइने पनि बताइएको छ ।

सपथ ग्रहणको अन्य विधि अमेरिकी परम्परागत चलन अनुरुप नै बाइडेनले प्रधानन्यायाधीशबाट सपथ ग्रहण लिनेछन् । साथै त्यस क्रममा सेनाले परम्परागत धुन बजाएर सलामी दिँदै बाइडेनको कार्यकालको स्वागत गर्नेछ ।

यस्तै नवनिर्वाचित उपराष्ट्रपति कमला ह्यारिसले पनि सपथ लिनेछिन् । उनले भने सर्वोच्च अदालतकी न्यायाधीश सोनिया सोटोमेयरबाट सपथ लिनेछिन् ।

राष्ट्रपतिको सपथ ग्रहण समारोहमा अमेरिकी विश्वप्रसिद्ध कलाकारहरुले राष्ट्रिय गान सहित प्रस्तुती दिने कार्यक्रम छ । जेनिफर लोपेज, लेडी गागा लगायत कलाकारहरुले समारोहमा प्रस्तुती दिनेछन् ।

तर अघिल्ला सपथ ग्रहण समारोहभन्दा यस पटक भिन्न हुने देखिएको छ । राष्ट्रपति डोनल्ड ट्रम्पले सपथ ग्रहण समारोहमा आफू उपस्थित नहुने घोषणा गरिसकेका छन् । ट्रम्पको यस्तो घोषणाले बाइडेनको सपथ ग्रहण अघिल्ला समारोह भन्दा छुट्टै किसिमको हुनेछ । ट्रम्पका समर्थकहरुले भर्चुअल कार्यक्रम गरी उनका लागि छुट्टै सपथ ग्रहण समारोह आयोजना गर्ने बताइरहेका छन् ।