पटना–मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन फुटाएर डिजल चोरी भएको छ । बाराको अमलेखगन्जस्थित नेपाल आयल निगमको डिपोमा पटनाबाट सिवान र मोतिहारी हुँदै पेट्रोलियम पाइपलाइनमार्फत डिजल आपूर्ति हुँदै आएको छ ।

भारतीय अखबार नवभारत टाइम्सका अनुसार बिहारको सिवान जिल्लाको डुमरा गाउँ नजिकै पाइपलाइन फुटाएर चोरी भएको हो । बिहारमा पेट्रोलियम पाइपलाइन फुटाएर चोरी भएको यो पहिलो घटना भएको पनि नवभारत टाइम्सले उल्लेख गरेको छ । जिल्ला प्रशासन कार्यालय सिवानका अधिकारीहरुले करोडौं रुपैयाँ बराबरको डिजल चोरी भएको आशंका गरेका छन् ।

खेतमा डिजल बगेपछि चोरीको पोल खुल्यो’

पाइपलाइनको सुरक्षामा खटिएका सुरक्षाकर्मीले खेतमा डिजल बगेको देखेपछि भारतीय आयल निगमका अधिकारीहरुलाई खबर गरेका थिए ।मेन पाइपमा प्वाल बनाएर सानो पाइपबाट डिजल चोरी गरिएको नवभारत टाइम्सले उल्लेख गरेको छ । त्यस्तै दैनिक सयौं लिटर डिजल चोरी भएको हुन सक्ने पनि आशंका गरिएको छ ।

करिब चार फीट तलको फाइपलाइनमा सानो पाइप जोडेर डिजल चोरी गरिएको हो ।महत्वाकांक्षी परियोजनाका रुपमा लिइएको मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको गत वर्ष भदौ २४ गते नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा उद्‍घाटन गरेका थिए । यो दक्षिण एसियाकै पहिलो क्रसबोर्डर पेट्रोलियम पाइपलाइन हो ।