मार्क्सवादी सांस्कृतिक मोर्चाले राजनीतिक प्रतिगमनका विरुद्ध प्रतिरोध सांस्कृतिक अभियान सुरु गरेको छ । यस मोर्चाले माइतीघरबाट वैज्ञानिक समाजवादी क्रान्तिको उद्घोषसहित उक्त अभियान सुरु गरेको हो ।

‘राजनीतिक प्रतिगमका विरुद्ध अग्रगमनमा पक्षमा प्रतिरोध सांस्कृतिक अभियान’ नाम दिइएको उक्त अभियानमा लेखक, कवि, कलाकारको उल्लेख्य उपस्थिति रहेको थियो ।

प्रधानमन्त्री केपी ओलीले प्रतिनिधि सभा भङ्ग गरी मध्यावधि निर्वाचनको घोषणा गरेपछि कवि, कलाकार र नागरिक समाज प्रतिगमनका विरुद्धमा सङ्घर्षमा छन् । यही मेलोमा भर्खरै गठन भएको ‘मार्क्सवादी सांस्कृतिक मोर्चा’ पनि सडकमा निस्किएको हो ।

विरोध कार्यक्रममा विमल निभा, भूपाल राई, जगदीशचन्द्र भण्डारी, विष्णु भण्डारी, शकुन्तला जोशी, बलराम तिमिल्सिना, मित्रलाल पंज्ञानी, वसन्त वोगटी, कृष्णहरि भट्ट, महावीर विश्वकर्मा, राजु स्याङ्तान, गौरी दाहाल, सुनिता बुढाथोकी लगायतले कविता वाचन गरेका थिए ।

कार्यक्रमका एक मात्र वक्ता वरिष्ठ सौन्दर्य चिन्तक निनु चापागाईंले मन्तव्य राखेका थिए । उनले ‘संघीयता विरोधी, समानुपातिक प्रतिनिधित्व र गणतन्त्र विरोधी देशी विदेशी शक्तिहरूको साँठगाठको परिणाम आजको प्रतिगमन’ भएको बताए ।

संयोजक इस्मालीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमको सञ्चालन कवि विष्णु भण्डारीले गरेका थिए । इस्मालीले मोर्चाको प्रेस वक्तव्य वाचन गरेका थिए ।