अंग्रेजी वर्ष सन् २०२० बिदा भएर नयाँ वर्ष सन् २०२१ लागेको छ । सन् २०२० विश्वभरका लागि कष्टकर र पीडादायी भएर बित्यो । सन् २०१९ को अन्त्यतिर चीनको वुहानबाट सुरु भएको कोरोना महामारीले नेपालसहित विश्वभरको जनजीवन अस्तव्यस्त बनायो । कोरोना महामारीले लाखौंको ज्यान लियो ।

अहिलेसम्म कोरोनाका कारण १८ लाख १३ हजार भन्दा बढीको ज्यान गएको छ भने ८३ करोडभन्दा बढी मानिस सङ्क्रमित भएका छन् । कोरोनाका कारण धेरैले रोजगारी गुमाए । ६ महिनाभन्दा बढी समय घरभित्रै थुनिनुपर्यो । समग्रमा सन् २०२० कोरोना कहरले बित्यो ।

यस्तै नेपालमा सत्तारुढ दलभित्रको किचलो, भारत र पाकिस्तानमा सलह आतंक, अमेरिकामा चुनाव तथा अन्तरिक्ष खोज अनुसन्धानका कारण पनि सन् २०२० चर्चामा रह्यो ।

विश्वभर कोरोना कहर

सन् २०२० मा संसार नै कोरोना भाइरसको चपेटामा पर्यो । लाखौं मानिसले ज्यान गुमाए, धेरै मानिसहरु अझै पनि भाइरस सङ्क्रमणविरुद्ध संघर्ष गरिरहेका छन् । कोरोना प्रकोपका कारण विश्वभर नै ठूलो आर्थिक मन्दी भयो । वर्षभरि कोरोना सङ्क्रमण, यसको रोकथाम, नियन्त्रण र खोप विकासमात्रै चर्चामा रह्यो र वर्षको अन्तिमतिर खोप निर्माणमा पनि सफलता मिलेको छ ।

अमेरिका, बेलायत, युरोपेली संघ, रुसलगायतका देशमा खोप लगाउने काम सुरु भैसकेको छ । अरु देशले पनि प्रक्रिया सुरु गरिसकेका छन् । नेपाललगायतका विकासोन्मुख देशमा पनि सहुलियत दरमा खोप पठाउने तयारी भैरहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । 

तर बेलायतमा कोरोना भाइरसको नयाँ प्रजाति देखिएर विश्वका अरु देशमा पनि पुगेपछि फेरि चिन्ता बढाएको छ । खोपको आशासँगै नयाँ प्रजातिको कोरोना त्रासकाबीच सन् २०२१ सुरु भएको छ ।

अमेरिकामा चुनाव

सन् २०२० को अन्त्यतिर अमेरिकामा भएको चुनाव विश्वभरका लागि चर्चाको विषय बन्यो । नोभेम्बरमा भएको राष्ट्रपतीय चुनावमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पराजित गरे । नयाँ वर्ष २०२१ सँगै बाइडेनले सत्ता सम्हाल्दैछन् ।

अमेरिकाको राष्ट्रपतीय चुनावसँगै विश्वमा एउटा महत्त्वपूर्ण रेकर्ड कायम भएको छ । अश्वेत एवं एसियन मुलकी महिला पहिलोपटक अमेरिकाको उपराष्ट्रपति पदमा निर्वाचित भएकी छिन् । डेमोक्रेटिक पार्टीकी कमला ह्यारिस अमेरिकी इतिहासमा पहिलो महिला उपराष्ट्रपति बनेकी हुन् । 

यसैबीच अमेरिकाले तालिवानसँग सम्झौता गर्दै अफगानिस्तानबाट आफ्नो अमेरिकी सैनिक फिर्ता बोलायो । तालिवान विद्रोही र अमेरिकाबीच अफगानिस्तानमा १८ वर्षभन्दा बढी समय युद्ध चलेकोमा अहिले कम भएको छ । 

चन्द्रमा यात्रा र महिला अन्तरिक्षयात्री

वैज्ञानिक खोज र अनुसन्धानको हिसाबले सन् २०२० महत्त्वपूर्ण रह्यो । अमेरिकाको एपोलो र रुसको लुना मिसनपछि चीन चन्द्रमामा पुग्ने विश्वको तेस्रो देश बन्यो । नोभेम्बरमा उडेको  यान चन्द्रमाको सतहबाट माटोको २ किलो नमुना लिएर डिसेम्बरमा फर्कियो । यो यान रोबोटिक्स थियो ।

यस्तै अन्तरिक्षमा ११ महिना बिताएर नासाकी एस्ट्रोनट क्रिस्टिना कोच फेब्रुअरीमा फर्किइन् । उनले मंगल मिसन, गुरुत्वकर्षण, स्पेस रेडिएसन र यसले महिलाको शरीरमा पार्ने असरसम्बन्धी महत्वपूर्ण तथ्य संकलन गरिन् । नासाकाअनुसार यसभन्दा पहिले पेगी विटसनले २८८ दिन अन्तरिक्षमा बिताएकी थिइन् ।

महिला अन्तरिक्षयात्रीले अन्तरिक्षमा यति लामो समय बिताएको यो विश्वमै पहिलो मिसन होे । यस्तै अमेरिकाको निजी अन्तरिक्ष कम्पनी स्पेसएक्सको ड्रयागन क्याप्सुल अगस्ट २ मा १९ घण्टापछि समुद्री सतहमा अवतरण गर्यो । ४५ वर्षपछि अमेरिकाको अन्तरिक्षयान पहिलोपटक समुद्री सतहमा अवतरण भएको थियो । 

सलह आतंक र भारतमा किसान आन्दोलन

सन् २०२० को मध्यतिर भारत र पाकिस्तानमा सलह किराले आतंक फैलायो । सलहको झुण्डले लाखौं हेक्टरको क्षेत्रफलमा लगाइएको बाली नष्ट गयो । सलहको केही झुण्ड नेपाल पनि आइपुगेको थियो । सलहले क्षति व्यहोरेका भारतका किसान सरकारको नयाँ कानुनका कारण थप पीडित बने । भारत सरकारले किसानको हितमा कानुन ल्याएको भने पनि किसानले यसको चर्को विरोध गरे । 

अरु केही घटना

वर्षको अन्त्यमा युरोपेली संघबाट बेलायत बाहिरिएको छ । पछिल्लो तीन वर्षदेखि युरोपेली संघबाट बाहिरिने प्रक्रिया अन्योलमा परेको थियो । युरोपेली संघबाट बाहिरिएपछि अहिले व्यापार, सुरक्षा, यातायातलगायतका क्षेत्रमा बेलायतले नयाँ सम्बन्धका लागि सम्झौता गर्ने प्रक्रिया चलिरहेको छ ।

यस्तै इराकको राजधानी बग्दादमा अमेरिकी हवाई हमलामा इरानी उच्च सैन्य कमान्डर कासिम सुलेमानीको हत्याले विश्वभरि नै तरङ्ग फैलायो । जनवरी ३ मा भएको यो घटनाको चर्चा सेलाउन नपाउँदै इरानको सेनाले युक्रेनी विमानलाई खसालिदियो । विमानमा रहेका सबैको मृत्यु भएको थियो । 

यस्तै लेबनानको राजधानी बेरुतमा भएको शक्तिशाली विस्फोटमा परि झण्डै ८० जनाको मृत्यु भयो । यस्तै अष्ट्रेलियामा लागेको डढेलोले धेरै जीव जन्तुले ज्यान गुमाए । आगलागी नियन्त्रण गर्न हम्मे हम्मे पर्यो । आगलागीको असर अन्य देशहरुमा पनि पर्यो । 

अफगानिस्तानबाट अमेरिकी सैनिक फिर्ता    

अमेरिकाले तालिवानसँग सम्झौता गर्दै अफगानिस्तानबाट आफ्नो अमेरिकी सैनिक फिर्ता बोलायो । सन् २०१६ मा राष्ट्रपति निर्वाचित भएपछि डोनाल्ड ट्रम्पले अफगानिस्तानमा अमेरिकी सेना नराख्ने घोषणा गर्नु भएको थियो । त्यो घोषणा उहाँको कार्यकालको अन्त्यतिर मात्रै लागुभयो । तालिवान विद्रोही र अमेरिकाबीच अफगानिस्तानमा १८ बर्षभन्दा बढी समय युद्ध चलेकोमा अहिले कम भएको ठानिएको छ । तर शान्ति प्रक्रिया भने अझै पनि तार्किक निश्कर्षमा पुगेको छैन ।

ठूला दुःखद घटना    

यस बर्षका ठूला घटनामध्ये इराकको राजधानी बग्दादमा अमेरिकी हवाई हमलामा इरानी उच्च सैन्य कमान्डर कासिम सुलेमानीको हत्याले विश्वभरी नै तरङ्ग फैलायो । जनवरी ३ मा भएको यो घटनाको चर्चा सेलाउन नपाउँदै इरानको सेनाले युक्रेनी विमानलाई खसालिदियो । इरानको सेनाले पछि ‘मानवीय त्रुटिका कारण’ विमान खसालिएको स्वीकारोक्ति गरेको छ । दुर्घटनामा विमानमा सवार सबैको मृत्यु भएको थियो । खासगरी इरान र यूक्रेनसहित विभिन्न देशका गरी १७६ नागरिकले उक्त दुर्घटनामा ज्यान गुमाएका थिए । लेबनानको राजधानी बेरुतमा भएको शक्तिशाली विस्फोटनमा परी झण्डै ८० जनाको मृत्यु भयो । अष्ट्रेलियामा लागेको डढेलोले धेरै जीव जन्तुले ज्यान गुमाए । आगलागी नियन्त्रण गर्न हम्मे हम्मे प¥यो । आगलागीको असर अन्य देशहरुमा पनि प¥यो । विश्वचर्चित घटनामध्ये अमेरिकामा एक जना अफ्रिकी–अमेरिकीको प्रहरीले हत्या गरेपछि रङ्गभेद आन्दोलनले अमेरिका तरङ्गित भयो ।

किमको मृत्युको हल्ला    

बेला बेलामा अमेरिकालाई चुनौती दिने र आणविक हतियार रहेको शक्तिशाली मुलुक मानिने उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनको मृत्युको हल्लाले पनि यस बर्ष धेरैको ध्यान खिच्यो । दक्षिण कोरिया र केही पश्चिमा सञ्चार माध्यमहरूले किम २० दिनसम्म सम्पर्कविहिन हुँदा उहाँको मृत्यु नै भएको समाचार सम्प्रेषण गरेका थिए । उहाँको निधन भएको समाचारप्रति विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुखहरुले समेत चासो र चिन्ता व्यक्त गरेका थिए । सर्वत्र चासो र चिन्ता भइरहेकै बेला झण्डै २० दिनपछि उहाँ प्योङयाङ नजिकै रहेको एउटा कृषि मल उद्योग निर्माण सम्पन्न भएको उपलक्ष्यमा आयोजित समारोहबाट सार्वजनिक हुनुभएको थियो । उहाँको मृत्युको चर्चा यसअघि पनि पटक पटक हुनेगरेकोमा यस पटक पनि झुटो सावित भएको छ ।

अल विदा म्यारोडोना    

फुटबलका सर्वमान्य महान खेलाडी डिएगो म्यारोडोनालाई यसै बर्ष गुमाउनु प¥यो । उहाँले सन् १९८६ को विश्वकपको उपाधि अर्जेन्टिनालाई दिलाउनुभएको थियो । सन् २००० मा फिफाले मतदान गराउदा अर्र्जेिन्टनाका फुटबल हस्ती म्यारोडोना शताब्दीको सर्वोत्कृष्ट खेलाडीका रूपमा चयन हुनुभएको थियो । खेल जगत्मा कतिपयले उहाँलाई फुटबलमयी खेलाडी र भगवान्समेतको संज्ञा दिने गरेका छन् । म्यारोडोनाको ६० वर्षको उमेरमा निधन हुँदा विश्वका लाखौँ खेलप्रेमी स्तब्ध भएका थिए । उहाँको निधन भएपछि अर्जेन्टिनाले तीन दिने राष्ट्रिय शोक घोषणा गरेको थियो ।

अधिकांश मानिसहरुलाई वर्ष २०२० जिवनकै सबैभन्दा नराम्रो समयका रुपमा याद रहनेछ । तर कोरोना महामारीले ल्याएको विश्वव्यापी संकटकाबीच यस वर्षका केही दुर्लभ खबरहरु हाम्रो हौसला बढाउने किसिमका पनि छन् । 
खोप

अहिलेका लागि सबैभन्दा खुसीको कुरा भनेकै कोरोना विरुद्ध प्रभावकारी खोप निर्माण गर्न सक्नु हो । भाइरस द्रुत गतिमा फैलिएसँगै विश्वव्यापी रुपमा यसको खोप बनाउने दौड पनि सुरु भएको थियो र इतिहासमा पहिलोपटक नयाँ भाइरसको खोप यति छोटो समयमा निर्माण गर्नुलाई मानवजगत्कै ठूलो सफलता मानिएको छ । खोपसँगै यसका विभिन्न उपचार विधिहरु पनि विकसित भइसकेका छन् भने खोप लगाउने काम अहिले धेरै मुलुकहरुमा जारी छ । यस्तोमा अब हामीले बिस्तारै पहिलेको अवस्थामा फर्किन सक्ने आशा बलियो बन्दै गएको छ । 

लकडाउनले दिलाएको सफा हावा 

२०२० मा अधिकतम मान्छेहरुले तुलनात्मक रुपमा अरु वर्ष भन्दा सफा हावामा सास फेरेका छन् । महामारी विरुद्ध लड्न जारी गरिएको लकडाउन र आर्थिक गतिविधि पनि ठप्प हुँदा यसले धेरै देशहरुमा वायु प्रदुषण कम गराएको छ । फेब्रुअरीमा नासाको स्याटलाइटबाट प्राप्त तस्बिरहरु हेर्दा कोरोनाको एपिसेन्टर वुहानमा मात्र सवारीसाधनबाट उत्पन्न हुने नाइट्रोजन डाअक्साइड ग्यासमा ठूलो गिरावट आएको देखिएको थियो । त्यस्तै संयुक्त राष्ट्र संघको वातावरण कार्यक्रमले सार्वजानिक गरेको वार्षिक रिपोर्टमा पनि औद्योगिक क्रियाकलाप, हवाइ उडान र सवारी साधनको प्रयोग कम हुनुले २०२० मा ७ प्रतिशत कार्बन उत्सर्जन कम गराएको पाइएको छ । 

साइकलको उदय 

स्वास्थ्यका लागि पनि राम्रो, पृथ्वीका लागि पनि राम्रो मानिने साइकल २०२० मा धेरै प्रचलनमा आयो । विशेषगरी फ्रान्स लगायत युरोपेली मुलुकहरुमा यस वर्ष साइकलको प्रयोग अत्याधिक बढेको छ । सार्वजानिक सवारी सिमित गराइएपछि मानिसहरु साइकलमा अफिस जान थालेका हुन् । केही ठुला फ्रेन्च शहरमा त साइकल प्रयोग गर्नेको सङ्ख्या यस वर्ष २०० प्रतिशतले वृद्धि भएको पाइएको छ । त्यस्तै महामारीको अवधिभर नेदरल्यान्डमा साइकलको कारोबार अचानक आकाशिन पुगेको हो जसलाई सुरुवातमा ट्वाइलेट पेपरको विक्रीसँग तुलना गरिएको छ । उता बेल्जियममा पनि साइकलको प्रयोग ६९ प्रतिशतले बढेको गुगल म्याप्सको तथ्याङ्कले देखाउँछ । लन्डनमा पनि साइकलिङ यति प्रचलित भयो कि मेयर सिद्धिक खानले राजधानीमा अब साइकल हिँड्ने बाटोको सङ्ख्या चार गुणाले बढाउने वचन दिएका छन् । 

अफ्रिकी महादेशमा पोलियोमुक्त

पूरै विश्वको ध्यान कोरोना भाइरसले निम्त्याएको संकटतर्फ रहेका बेलामा अफ्रिकाले वर्षौँदेखि जारी पोलियो विरुद्धको लडाइँ चुपचाप जितेको छ । अगस्ट २५ मा विश्व स्वास्थ्य संगठनले अफ्रिकालाई आधिकारिक रुपमा पोलियोमुक्त भएको घोषणा गरेको हो । यसबारे डब्लूएचओका डिरेक्टर–जेनेरल डाक्टर टेड्रोसले भनेका छन्, “अफ्रिकाबाट पोलियो हटाउनु भनेको हाम्रो समयकै सबैभन्दा ठूलो सार्वजानिक स्वास्थ्य उपलब्धि हो र यो सबैका निम्ति शक्तिशाली प्रेरणा बन्नेछ । ” अफ्रिकामा वार्षिक ७५ हजार भन्दा धेरै बालबालिका पोलियो भाइरसका कारण प्यारलाइज्ड हुने गरेका थिए । 

लोपोन्मुख प्रजातिहरुका लागि खुसीको खबर 

यस वर्ष लोप हुने जोखिममा रहेका केही दुर्लभ जीवजन्तुहरु सम्बन्धी उत्साहपूर्ण खबरहरु प्राप्त भएका छन् । कोरोना महामारी जङ्गली जीवजन्तुसँग मान्छेको बढ्दो सम्पर्कको नतिजा भएको बताइएपछि चीनमा परम्परागत् औषधि मानेर उपभोग गर्ने गरिएका जङ्गली जीवजन्तुहरुको व्यापारमा रोक लगाइएको छ । त्यस्तै प्रकृति संरक्षण सम्बन्धी अन्तर्राष्ट्रिय युनियनले यस वर्ष अति जोखिममा रहेका अफ्रिकी गैँडाको प्रजातिको सङ्ख्यामा ठूलो सुधार आएको जानकारी दिएको छ । यता अष्ट्रेलिया अनि फ्रान्समा लोप भइसकेको ठहर गरिएका जीवहरु पहिलोपटक फेला परेका हुन् । कम्बोडियामा चाहिँ हात्ती चढ्नमाथि प्रतिबन्ध लगाइएको छ भने इजिप्टले उँट सवारी निषेध गरेको हो । 

सन् २०२०: राजनीतिक तनावको वर्ष

कोरोना विषाणु संक्रमणले संसारलाई तनावमा पारेको सन् २०२० नेपालीका निम्ति पनि अछुतो रहेन। अझ यो वर्ष कोरोनाले भन्दा बढी राजनीतिक कारणले तनावको वर्ष रह्यो। गत वर्ष यतिबेला चीनको वुहानमा नयाँ भाइरस देखिएको अन्तर्राष्ट्रिय समाचारलाई नेपाली सन्दर्भमा पस्किँदै गर्दा सरकारको ध्यान भने राजनीतिलाई आफूअनुकूल तुल्याउने गतिविधिमा केन्द्रित थियो। यस्तो संक्रमणको अन्तर्राष्ट्रिय चर्चा भइरहेका बेला चीनकै छेउमा उभिएको नेपालको सरकारले कुनै तयारी गर्नुपर्ने आवश्यकता महसुस गर्न सकेन।  

अहिलेको कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओली देशमा त्यतिबेला इतिहासकै सबैभन्दा बलियो सरकार चलाउँदै थिए। बिपी कोइराला, गिरिजाप्रसाद कोइरालापछि शक्तिशाली सरकारको प्रधानमन्त्री हुने मौका पाएका ओलीले गत वर्ष पनि भाषण गरिरहेका थिए– सरकारले काम गर्न खोज्दा अवरोध भयो। त्योभन्दा पनि बढ्ता दलभित्रै आफू कसरी बलियो हुने र सरकारमा कसरी टिकिरहने भन्नेतिर उनको ध्यान केन्द्रित थियो। यो एक वर्षको सोच र कामको परिणामस्वरूप नयाँ वर्ष सन् २०२१ को पूर्वसन्ध्यामा ओलीले नेतृत्व गरेको दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजित अवस्थामा छ।  

अहिलेको अन्योलपूर्ण समयमा यो दललाई ओली समूह र दाहाल–नेपाल समूहका रूपमा चित्रण गरिँदैछ। यसको भविष्यको फैसला बहादुर भवनले गर्ने नै छ।  

यो विषम परिस्थितिमा ओलीले आफूलाई शक्तिशाली प्रधानमन्त्रीबाट प्रतिनिधिसभा विघटनपछि कामचलाउमा झारेका छन्। उनले गरेको असंवैधानिक विघटनविरुद्ध सडकमा आन्दोलन सुरु भइसकेको छ। उनले नयाँ वर्षको पूर्वसन्ध्याअघि बुधबार बबरमहलस्थित पार्टी प्यालेसमा सुदूरपश्चिम प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै भने, ‘दाहाल–नेपालले काम गर्नै दिएनन्।’ अर्थात् राजनीति अब पार्टी कार्यालयबाट पार्टी प्यालेसमा ओर्लिएको छ। केही दिनअघि सोही पार्टी प्यालेसमा पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहको यस्तै भेला भएको थियो। प्रकारान्तरले ओली त्यही ठाउँमा आएर आफ्नो राजनीतिको पुनर्पुष्टि गर्नुपर्ने अवस्थामा आइपुगेका छन्।  

दुई वर्षअघि पनि उनी काम गर्न नपाएको बताउँदै थिए, गत वर्ष पनि त्यसै भन्दै थिए र अहिले पनि त्यही गुनासो गरिरहेका छन्। एक वर्षमा ६ लाख २५ हजार ६ सय मिनेट हुन्छन्। काम गर्न नसक्ने र ढंग नपुग्ने सरकारका निम्ति समय चाल नपाएरै जान्छ। भनिन्छ, दिन बितेको थाहा हुँदैन, वर्ष बितेको मात्र थाहा हुन्छ। ओली सरकारका निम्ति एक वर्ष यसरी बित्यो, त्यसले आम नागरिकको जीवनमा रहेका तनाव घटाउने कुनै कामै गरेन। मुलुकमा नागरिक जीवनप्रति जिम्मेवार सरकार हुन्थ्यो भने अहिलेको जस्तो अवस्था आउने नै थिएन।

कोरोना महामारीमा परेका नागरिकले सरकारका अस्थिर नीतिको निरन्तर सामना गर्नुपर्‍यो। २०७४ मंसिर १० र २१ मा प्रतिनिधिसभाको निर्वाचन गर्दा ७ अर्ब ८० करोड रूपैयाँ खर्च भएको थियो। पाँच वर्षसम्म प्रतिनिधिसभा चल्न पाएको भए अरू दुई वर्षपछि मात्र फेरि निर्वाचनका निम्ति मुलुकले खर्च जुटाउनुपर्ने थियो। तर प्रधानमन्त्रीको एकै सनकमा कोरोनाले थलिएको मुलुकले करिब १५ अर्ब रूपैयाँ जोरजाम गर्नुपर्ने अवस्था आएको छ।  

कोरोना महामारीमा परेका नागरिकको निःशुल्क उपचार गराउन आनाकानी गरेका कारण अहिले त्यसको परीक्षणसमेत हुन छाडेको छ। अदातलको आदेशपछि मात्र सरकारले निःशुल्क उपचार गराउने भनेको छ। अहिले आएर परीक्षणको दायरा कम गरेका कारण बिरामीको यथार्थ स्थिति अनुभव गर्न सकिएको छैन। आम नागरिकको स्वास्थ्य हितमा खर्च गर्न आनाकानी गर्ने सरकारले अनाहकमा निर्वाचन थोपरेर तनावमा पारेको छ।  

गत वर्ष यही बेला सुरु भएको कोरोना महामारीको असर विश्वव्यापी रूपमा फैलने क्रममा नेपाल आइपुग्न तीन महिनाजति लाग्यो। काम गर्ने सरकारका निम्ति तीन महिना अवधि कम्ती थिएन। यसबीच अन्तर्राष्ट्रिय क्षेत्रमा भइरहेका विकासक्रम र त्यसबाट जोगिन भइरहेका कामबारे सरकारले आवश्यक समीक्षा गर्दै तयारी गर्न सक्ने थियो। २०७६ चैत ११ (मार्च २४) मा मुलुकमा बन्दाबन्दी सुरु हुँदा कोरोना संक्रमणका एकजना बिरामी फेला परेका थिए। वास्तवमा त्यो बन्दाबन्दी कोरोना संक्रमणभन्दा बढ्ता प्रधानमन्त्री ओलीको राजनीति प्रेरित रहेको तथ्य ढिलो गरी मुलुकले बुझ्न पायो। त्यो बन्दाबन्दी १ सय २० दिनसम्म चल्यो। तर कोरोना संक्रमण नियन्त्रणतर्फ मुलुकको ध्यान कम र दलभित्रको किचलोमा बढ्ता गयो।  

बन्दाबन्दीकै बीच मे महिना (२०७७ वैशाख २०) मा प्रधानमन्त्री ओलीले दल विभाजनको उद्देश्य र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता गर्नुपर्ने अवस्था आयो। प्रधानमन्त्रीले ती अध्यादेश दलभित्रको आन्तरिक विवादका कारण फिर्ता लिनुपरे पनि यथार्थमा न सरकार न दलको ध्यान कोरोना संक्रमणतिर थियो। यही विवादका क्रममा असारदेखि सुरु भएको नेकपा स्थायी कमिटीको बैठक भदौ २६ (सेम्टेम्बर ११) मा टुंगियो। यति लामो बैठकमा कहिल्यै कोरोना विषाणु नियन्त्रणबारे दलभित्र छलफल भएन। पूर्ण र आंशिक गरी पटकपटकको बन्दाबन्दी, उद्योग–व्यवसायमा आएको गतिरोध र स्वास्थ्य पूर्वाधारको अभावमा नागरिक निरन्तर समस्यामा रहँदासमेत आन्तरिक सत्ता संघर्षमा सरकारले बिताएको समयले यथार्थमै आम नागरिकमा वितृष्णाको स्थिति सिर्जना गरेको हो।

प्रधानमन्त्री ओलीले बेलाबेलामा भारतीय समकक्षी नरेन्द्र मोदीले टेलिभिजनमा देखा परेर सम्बोधन गरेकै छेको पारेर यहाँ पनि सम्बोधन गर्ने गरेको देखिन्थ्यो। कुनै भरपर्दो योजना नहुँदा र केवल ‘हाँच्छ्युसाँच्छ्यु’ गर्ने र बेसारपानी खाएर कोरोना भगाउने सुझावले मात्र आम नागरिकलाई आश्वस्त पार्न सकेन। अहिले आएर कोरोना विषाणु अर्को स्वरूप परिवर्तन भई फैलिँदा बेलायतदेखि युरोपसम्म पुनः बन्दाबन्दी गर्नुपर्ने अवस्था सिर्जना भएको छ। यो बेला हाम्रो मुलुक कोरोना नियन्त्रण भइसकेको जस्तो गरी खुला भइसकेको छ। स्वास्थ्य मापदण्ड पालना नगरी जनजीवन अगाडि बढिसकेको छ। यो अवस्थामा मुलुक भने प्रतिनिधिसभा विघटनको मुद्दा सडकदेखि अदालतसम्म पुगेको छ।  

यस्तो विषम परिस्थितिमा आम नागरिकलाई यसले थप पीडित तुल्याएको छ। प्रधानमन्त्रीको कुन झोंकमा परेर फेरि मुलुक अन्योलमा पर्ला भन्ने डर भइरहेको छ। ओलीले आफ्नो राजनीतिक अभीष्ट पूर्तिका लागि कोरोनाकै नाममा बन्दाबन्दी गर्नेदेखि संकटकाल लगाउनेसम्मका हर्कत हुन सक्छन्। कोरोनाबाट मुलुक ढिलोचाँडो बाहिर निस्केला तर राजनीतिको तनाव आम नागरिकका निम्ति लामो समयसम्म हुने देखिँदैछ। शान्ति र स्थिरताको जुन सपना आम नागरिकले देखेका थिए, त्यो सन् २०२० मा झन् धुमिल हुन पुगेको छ।

-गुणराज लुइटेल ,जिवन भन्डारी ,उज्यालाे अनलाइन ,बाह्रखरी अनलाइन बाट