अन्तर्राष्ट्रिय समाचार

प्योङयाङ – अमेरिका प्रजग कोरिया वार्ताका लागि भियतनाम भ्रमणमा रहेका उत्तर कोरियाली नेता किम जोङ–उन मंगलबार बिहान रेलबाट स्वदेश फर्कनु भएको कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसीएनए) ले जानकारी दिएको छ ।

नेता किमलाई प्योङयाङ रेलवे स्टेशनमा कोरियाली वर्कर्स पार्टीका वरिष्ट अधिकारी, सरकारका उच्च अधिकारीहरु र सशस्त्र फौजका वरिष्ट अधिकारीहरुले स्वागत गरेका थिए ।

फार्इल फोटो

किमले भियतनाम भ्रमणका क्रममा राजधानी हनोइमा गत फेब्रुअरी २७ र २८ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गरेका थिए । ट्रम्पसँगको भेटवार्तापछि किमले भियतनामको दुई दिने सद्भावपूर्ण भ्रमण गरेका थिए ।

राष्ट्रपति ट्रम्पसँगको भेटवार्तामा उत्तर कोरियाको आणविक निःशस्त्रीकरण, उत्तर कोरियामाथि लागेको प्रतिबन्ध फुकाउने लगायतका विषयमा घनीभूत छलफल भएको केसीएनएले जनाएको छ । तर दुई नेताबीच कुनै लिखित सम्झौता भने भएन । यसअघि सन् २०१८ जुन महिनामा ट्रम्प र किमबीच सिङ्गापुरमा पहिलो शिखर सम्मेलन भएको थियो ।

यद्यपी दुवै पक्षले कोरियाली प्रायःद्वीपमा जारी शान्ति प्रक्रिया जारी रहोस् भन्ने इच्छा जनाएका छन् । किमको भियतनाम भ्रमणको क्रममा भियतनामका राष्ट्रपति एनगुएन फु ट्रोङ र प्रधानमन्त्री एनगुएन जुआन फुकसँग भेटवार्ता भएको थियो त्यसका साथै किमले भियतनामको दोङदाङ सीमा क्षेत्रमा रहेको  भियतनामका क्रान्तिकारी नेता हो चि मिन्हको समाधिस्थलमा पुगी मिन्ह प्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो । सम्मानस्वरुप रातो रिबनबाट बनाइएको विशेष प्रकारको बुट्टा भरिएको वस्तु र विभिन्न रङ्गका फूलहरू चढाएर उहाँले श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो । किमले करिब ४८ मिनेटजति शिर निहुराएर मिन्हप्रति सम्मान प्रकट गर्नुभएको थियो । त्यस अवसरमा भियतनामको सेनाले विशेष सम्मान अर्पण गरेको थियो ।   एजेन्सीहरुको सहयोगमा