नेकपाको अध्यक्ष पुष्पकमल दाहाल-वरिष्ठ नेता माधव नेपाल पक्षको केन्द्रीय समिति बैठकले दुईतिहाईले केन्द्रीय अध्यक्षबाट केपी शर्मा ओलीलाई हटाएको घोषणा गरेको छ । बबरमहलमा जारी बैठकमा नेता भीम रावलले राखेको ओलीलाई अध्यक्षबाट हटाउने प्रस्ताव पारित भएको हो ।

बैठकमा ३१५ जना केन्द्रीय सदस्य उपस्थित रहेको यो पक्षका नेताहरुले बताएका छन् ।

उनलाई राष्ट्र हितविपरीत काम गरेको, पार्टी हितविपरीत काम गरेको, अध्यादेश, संसद विघटन र पार्टी निर्णय पटकपटक उलंघन गरेको र संविधानमाथि हमला गरी स्वेच्छाचारी भएको आरोप प्रस्तावमा लगाइएको छ ।

बैठकले पार्टीको अध्यक्षमा माधव नेपालको नाम पारित गरेको छ । बैठकमा वरिष्ठ नेता झलनाथ खनालले स्थायी कमिटीको निर्णयअनुसार नेता नेपालको नाम अध्यक्षका रुपमा प्रस्ताव गरेका थिए । आजै बसेको समूहको स्थायी कमिटीको बैठकले नेपाललाई केपी ओलीको स्थानमा अध्यक्ष बनाउने प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको थियो । केन्द्रीय कमिटीको बैठकले केपी ओलीलाई कारबाही गरी अध्यक्षबाट हटाउने निर्णय गरेलगत्तै नेपाललाई अध्यक्ष बनाउने प्रस्ताव पारित गरेको हो ।

बैठकमा केन्द्रीय सदस्य प्रभु शाहले मात्रै दुईजना अध्यक्ष बनाउने प्रस्तावको विरोध गरेका थिए । उनले पार्टीमा दुई अध्यक्ष हुँदा नाटकजस्तो भएको भन्दै एउटै अध्यक्षको नेतृत्वमा जनतामा आशाको संचार गर्नुपर्ने बताएका थिए । पुष्पकमल दाहाल र माधव नेपालले आलोपालोमा पार्टी चलाउने सहमति भएको यो पक्षका नेताहरुले बताएका छन् ।

पार्टीका नेता कृष्णबहादुर महरालाई स्थायी कमिटी सदस्य बनाउने प्रस्ताव पनि बैठकले पारित गरेको छ ।

मंगलबार नै ओली समूहको केन्द्रीय कमिटी बैठक बालुवाटारमा बसेको थियो । ओली समूहले साविकको केन्द्रीय कमिटी बैठकलाई विस्तार गरेर ११९९ सदस्यीय बनाएको छ । त्यसलाई महाधिवशेन आयोजक कमिटी भनिएको छ ।