स्वास्थ्यमन्त्री भानुभक्त ढकालले मेडिकल सामग्री खरिद प्रकरणमा आफ्नो संलग्नता पुष्टि भए जस्तोसुकै कारबाही भोग्न तयार रहेको बताएका छन्। उनले शुक्रबार सार्वजनिक लेखा समितिमा स्पष्टोक्ति दिँदै यसमा आफ्नो संलग्नता स्वास्थ्य सेवा विभागको खरिद फाइल मन्त्रिपरिषद्सम्म पुर्‍याउनेमात्र रहेको पनि बताएका छन्।

सार्वजनिक लेखा समितिले ओम्नी कम्पनीले जिम्मा पाएको मेडिकल सामग्री खरिद प्रकरणको थप छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ। मन्त्री ढकाल र सांसदहरुको छलफलपछि समितिले अख्तियारलाई निर्देशन दिएको हो।

महिनौँको आलटालपछि शुक्रबार बल्ल लेखा समितिमा उपस्थित भएका मन्त्री ढकालले मन्त्रिपरिषद् र उच्चस्तरीय समितिको निर्णयमा कोरोनाबिरुद्धको स्वास्थ्य सामग्री खरिद प्रक्रिया अघि बढाइएको बताए। स्वास्थ्य सामग्री खरिदको सम्पूर्ण जिम्मा स्वास्थ्य सेवा विभागले लिए पनि स्वास्थ्य मन्त्रीका सल्लाहकारका रुपमा खेम कार्की र मन्त्रीका रुपमा आफू खरिद निर्णयको बैठकमा उपस्थित भएको ढकालले जानकारी दिए।

यो विषयमा भएको अनियमितताबारे स्वास्थ्य मन्त्रालयले के कारबाही अघि बढायो भन्ने प्रश्नको जवाफमा मन्त्री ढकालले यो विषयबारे अख्तियार र सर्वोच्च अदालतमा पनि मुद्दा परेकाले आफूले केही गरिरहनु नपरेको बताए। ‘हामीले यसबारे कुनै त्यस्तो कारबाही प्रक्रिया वा कुनै अनुसन्धान गरेका छैनौँ,’ उनले भने।

कोरोना महामारीको सुरुवाती चरणमा विश्वभरि नै स्वास्थ्य सामग्रीको अभाव भएको र नेपालमा पनि स्वास्थ्य सामग्रीको हाहाकार भएकाले तत्कालै सामान मगाउनुपरेको स्पष्टोक्ति पनि मन्त्री ढकालले दिए।